दशैं र लिम्बुवानको निशान

  • कार्तिक ९, २०७७
  • ११०२ पटक पढिएको
  • भैरव आङ्ला
alt छथर धनकाुटाको निशान फायल तस्बिर

धरान : पूर्वी नेपालको पहाडी जिल्ला धनकुटा, तेह्रथुम र पाँचथरमा हरेक वर्ष वडा दशैको नवमीका दिन निशान निकाल्ने परम्परा छ ।

यसलाई लिम्बुवानको निशान भन्ने गरिन्छ । पूर्वमा बसोबास गर्ने लिम्बु जातिहरूले हरेक साल वडा दशैको नवमीका दिन आ आफ्नो क्षेत्रमा निशान निकाली मौलो काट्ने चलन चलिआएको छ ।

पूर्वको धनकुटा जिल्ला अन्तर्गत तत्कालीन ताङ्खुवा गाविस हाल छथर जोरपाटी गाउँपालिकामा खजुम पारघरी र चोङ्वाङ लिम्बुहरूसँग हात हतियार सहितको २ वटा निशान, तेह्रथुम तत्कालीन फाक्चामारा गाविस हाल छथर गाउँपालिकाको  वासिकामा खजुम लिम्बुहरूसँगै २ वटा निशान, तेह्रथुम जिल्लाको सुदाप ओख्रेमा खेवा लिम्बुहरू सँग २ वटा पुराना हात हतियार तोप सहितको निशान छ भने पाँचथरका योङहाङ लिम्बुहरू सँग पनि २ वटा निशान छन् ।

यी निशानहरू दशैको नवमीको दिन बाहिर निकाली पूजा आज गरी प्रदर्शन गर्ने गरिन्छ । धनकुटाको ताङ्खुवामा रहेको निशानलाई नवमीको दिन कोतघरवाट निकाली करिब डेढ किलोमिटरको दुरीमा रहेको मौलोडाडा सम्म पुर्‍याएर मौलो काटी पुन कोतघरमा पुर्‍याएर निशान लुकाउने गरिन्छ ।

त्यस्तै उता तेह्रथुमको सुदाप ओख्रेमा रहेको निशान पनि प्रदर्शन गरिन्छ । तेह्रथुम वासिकामा रहेको निशानलाई भने सामान्य पूजा मात्रै गरिन्छ । पाँचथरको याङरुपमा रहेको निशान भने हरेका वर्ष नवमीको दिन नचाईने गरिन्छ । लिम्वूवानमा रहेका यी यस्ता निशानहरू धेरै पुराना भएकोले यसबारेमा पछिल्लो समयमा चासो वढदै गएको छ ।

यसरी लिम्बुहरू सँग पुराना हात हतियार सहितको निशान हुनु भनेको परापुर्वकाल देखि लिम्बुहरू लडाकु भएको प्रमाण हो डा. कमल तिगेलाको दाबी छ । डा. तिगेलाका अनुसार परापुर्वकाल थिवोङ याक्थुङ कालमा पनि लिम्बुहरू लडाकु थिए राज्य भएका थिए भन्ने गतिलो प्रमाण निशान हो ।

नेपाल राज्य एकीकरण हुनुपुर्व सेनको शासनकाल भन्दा अगाडी देखि लिम्बुहरू सँग निशान थियो त्यसैले लडाकु हुन् । कुनै पनि समूह सँग निशान हुनु भनेको सेना हुनुपर्छ अनि मात्रै निशान हुन्छ । बेलायतमा समेत बेलायती सेनामा टनसन छ । त्यसलाई निशान भनिन्छ ।

बेलायती रानीले समेत सोलुट गर्ने गर्दछिन् त्यस्तै लिम्बुवानको पनि पहिले आफ्नो राज्य हुँदा यी निशानहरू लिम्बु राजाहरूले टनसन जस्तै प्रयोग गरेको हुन सक्ने पूर्व ब्रिटिस सेनाका गोर्खा मेजर झप्टमान पारघरी खजुम बताउँछन् । लिम्बु जातिसँग यी यस्ता ऐतिहासिक पुराना हात हतियार सहितको निशान हुनु भनेको यी निशानहरूले लिम्बु र लिम्बुवानको इतिहास वोकेको भूतपूर्व सिडिओ तथा लेखक भगिराज ईङ्नाम बताउँछन् ।

लिम्बुहरूको चाड दसैँ होइन तर किन लिम्बुहरूले दशैको नवमीको दिन नै निशान निकाल्ने गर्दछन् त रु यसबारेमा लिम्बु मुन्धुम विज्ञहरूका अनुसार पहिले नेपाल एकीकरण पछि शाह राजाहरूले लिम्बुहरूलाई अनिवार्य दसैँ मान्न लगाए ।

घर लिपपोत गरी अनिवार्य लिम्बुवानका सुब्बाहरूलाई मार हान्न लगाए । यदि कसैले त्यसो गरेको नपाए शाह राजाले कारबाही गर्ने गर्दथ्यो । त्यसैले गाउँ गाउमा सागोन्दी जाने उर्दी समेत जारी गरेको थियो । यसरी गाउँ गाउमा जाँदा शाह राजाले यसो भन्न लगाएका थिए । जस्तै : 

आदरणीय बाजे वोजु, काका काकी, दाजुभाइ दिदी बहिनी तथा सम्पूर्ण मान्यजनहरूमा ................
आज गाई नखाने राजा, मत नखाने राजा, बडो प्रतापिलो राजा, चन्द्रवंशी गोरखा राजाले नौ दुर्गा नौ भवानी मनाउनु भनेर हुकुम दिएकोले घर घर खोल्मा खोल्मा कमिलाको ताती जस्तै डुङ्गाको भेडी किरो जस्तै घुम्दै यो घरमा पनि आइपुग्यौ । झिनो झर्को नमानीकन एक छिन रमाइलो गरौँ है..........

लय हालेर गीत गाउँदै घर घर जान लगाइयो । यसरी लिम्बुहरूमा दसैँ सुरु भएको मुन्धुम विज्ञहरू बताउँछन् । जाहा जाहा मार काटिएको हुन्थ्यो त्यही पुगेर भुवानी गाउने चलन सुरु भयो ।

यो सँगै लिम्बुहरू सँग भएको निशानलाई पनि विशेष पूजा आज दशैको नवमीमानै गर्न पनि गोरखाका राजा शाहले लगाउनुको साथै  भवानी पनि भन्न लगाएको बताइन्छ । लिम्बुवानमा बसोबास गर्ने सुब्बा र कार्वारीलाई अनिवार्य मार हान्ने र दसैँ मान्ने उर्दी जारी भयो । सुब्बा र कार्वारीले दसैँ माने पछि अन्य रैतीहरूले पनि दसैँ अनिवार्य मान्नुपर्ने नियम बन्यो ।

यदि रैतीहरूले त्यसो गरेनन्  भने सुब्बालाई राजाबाट र रैतीहरूलाई सुब्बाले ठिँगुरो मुङगुरो लगाउने गर्दथे । यसैले गर्दा लिम्बुहरूले दसैँ मान्ने गरेको लिम्बु बुढापाकाहरू बताउँछन् ।

दसैँमा टिका थाप्न सुब्बाकोमा लिम्बु रैती र गैर लिम्बुमा क्षेत्री व्रम्हणमा थरी टिका लगाउन अनिवार्य जानुपर्ने प्रचलन रहेको थियो । सुब्बाकोमा रित नपुराउने धेरैलाई ठिँगुरो लगाइन्थ्यो । लिम्बु जातिको इतिहास वोकेको निशानको बारेमा थप खोज अनुसन्धान गरे यसबाट लिम्बु जातिको धेरै कुरा पाइने डा।कमल तिगेलाको दाबी छ ।

पहिले निशान गोरखा राजा सँग १२ रुपैयाँ तिरेर पनि पाइन्थ्यो । निवेदन दिँदा १० रुपैयाँ , १ रुपैयाँ श्री ३ लाई र १ रुपैयाँ श्री ५ लाई बुझाए पछि निशान पाइन्थ्यो । तर लिम्बुवानमा रहेका यी निशानहरू धेरै वर्ष पहिलेको हो भन्ने वि. सं. १८३९ मा राजा राणाबहादुर शाहले खजुम लिम्बुहरूलाई दिएको लालमोहरले पुष्टि गर्दछ ।

२ सय ३८ वर्ष अघि जारी गरिएको लालमोहर अनुसार लिम्बुहरू सँग धेरै पहिले देखि निशान थियो भन्ने पुष्टि गरेको छ । लिम्बुहरू सँग निशान हुनु भनेको पहिले लिम्बुहरूको राज्य र सेना थियो भन्ने प्रस्ट हुन्छ ।

निशान वोक्न बैना :
छथर जोरपाटीको ताङ्खुवामा लिम्बु युवाहरूमा निशान वोक्दा एक प्रकारको युद्ध जिते जस्तै हुने गर्दछ । गाउँ भरीका लिम्बु कन्य युवाहरूले जिम्मावाल सुब्बाकोमा निशान वोक्ने बैना बुझाउनुपर्दछ । यसरी बैना बुझाउने युवाले मात्रै निशान वोक्न पाउँछ । 

एक वर्षको हिरो :
छथर जोरपाटीको ताङ्खुवाको निशान निकाल्दा मौलो डाँडामा राँगा काटने युवाले पनि राँगा काट्नका लागि एक वर्ष अघि नै बैना गर्नुपर्ने हुन्छ ।

जिम्मावाल सुब्बाकोमा एक बोतल रक्सी र केही रकम राखेर राँगा काटन पाउने बैना मार्नुपर्ने हुन्छ । उनको बैना स्वीकृति भयो भने मात्रै ती युवाले मौलोमा राँगा काट्न पाउँछ ।

राँगा काटदा छिनेन भने काँचो रगत खुवाउनुको साथै कारबाही गरिन्छ । यदि राँगा छिन्यो भने राँगा काटने युवालाई एक वर्षको लागि हिरो घोषित गर्नुको साथै फुल माला लगाएर नजिकै रहेको रोटे पिङमा पिङ खेलाएर सम्मान गरिन्छ ।

यी यस्ता ऐतिहासिकता वोकेका पूर्वी पहाडी जिल्लाको लिम्बुवानमा रहेका निशानहरूको बारेमा अझ धेरै खोज अनुसन्धान गर्नुपर्ने देखिन्छ । यदि समयमै खोज अनुसन्धान गर्न सकिएन भने धेरै ऐतिहासिक प्रमाणहरू हराउने पक्का छ । 

Lalmohar

छथर ताङ्खुवामा रहेको खजुमहरुको निशानको लालमोहर :
 
श्री दुर्गासहाय 
स्वस्ति श्री महाराजाधिराज कस्यरुक्का .................
आगे खजुम रायके आसिक पुर्वक पत्र मिदम यहाकुसल ताहा कुसल चाहिये आगे ञहाको समुचार भलो छ तिमिहरुको कुरा जो छ हाम्रा भारदारबाट विस्तार गर्या सुन्यु हिजो हिन्दुपतिले वक्स्याको नगरानिसान मान मर्यादा ज्या हो सो हामीले पनि वक्स्यौ मोहर देखत चाडो हजुरमा आईपुग खानदानका अर्थकन केही रुपैया वक्सौला तम्रामानिसका हात लाग्यो केही रुपैया तिमिहरु आईपुग्नी वक्सन्छौ काज पनि लाउछौ षातिरजामासे चाडो दरवारसर्वथा आउ ईति सम्वत १८३९ श्रावण वदि ८ रोज ५ सुभम् .................
 

Nishan-3

 

 

 

 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved