धरान : आज दसैँको टीकाको दोस्रो दिन पापाङ्कुशा एकादशी ।

विजया दशमीको दिनमा टिका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्सीवाद ग्रहण गरिरहेका छन् । यसरी  टिकाको ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने गर्दछ ।

दसैँमा टाढाटाढाका आफन्तजनहरू पनि समयमा नै सकेसम्म सबै आफन्तहरू कहाँ पुग्ने गर्दछन् । तर यसपालि कोरोना कहरले गर्दा मानिसहरूले आफ्नो  टाढाटाढाको यात्रालाई स्थगित गरेका छन् ।

नभए अन्य सालहरू जस्तै भए आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान मानिसहरूलाई चटारो नै हुने गर्दथ्यो ।  यसरी टिका लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन सम्म चलिनै रहनेछ ।

पापाङ्कुशा एकादशी :
आज शाश्वत सनातन धर्मावलम्बीहरू एवम् त्यस अन्तर्गतका वैष्णवहरूको महत्त्वपूर्ण दिन पापाङ्कुशा एकादशी ।

पौराणिक महाभारत कालको एक समयमा धर्मराज युधिष्ठिर प्रश्न गर्नुहुन्छ “ हे भगवान् १ आश्विन शुक्ल एकादशीको नाम के हो रु अब तपाईँ कृपा गरेर यसको विधि तथा फल भन्नुहोस् ।“

भगवान् श्रीकृष्ण भन्न लाग्नु भयो हे युधिष्ठिर ! पापहरूको नाश गर्ने यस एकादशीको नाम पापाङ्कुशा एकादशी हो । हे राजन ! यस दिन मनुष्यले विधिपूर्वक भगवान् पद्मनाथको पूजा गर्नु पर्दछ ।

मनुष्यहरूलाई धेरै वर्षसम्म कठोर तपस्याबाट जो फल मिल्दछ, त्यो फल भगवान् गरुडध्वजलाई नमस्कार गर्नाले प्राप्त हुन जान्छ । विष्णु भगवानका नामको कीर्तन मात्रले संसारका सबै तीर्थहरूका पुण्यको फल मिल्दछ । जो मनुष्य  लक्ष्मी पति विष्णुको शरणमा जान्छन्, उनीहरूले कहिल्यै पनि नरकको यात्रा गर्नु पर्दैन ।

हे राजन ! जो मनुष्य वैष्णव भएर शैव एवम् शैव भएर वैष्णवको निन्दा गर्दछन्, उनीहरू अवश्य यस पापले नरकमा प्रवेश गर्दछन् ।

सहस्र अश्वमेध यज्ञहरूबाट जुन फल प्राप्त हुन्छ, त्यसको फल  एकादशीको व्रतको सोह्रौँ भागको बराबर पनि हुँदैन । तीन लोकमा एकादशीको व्रतको तुलनामा अरू कुनै पुण्य छैन । एकादशीको व्रत पश्चात् मात्र मनुष्य पापबाट मुक्तहुनसक्छ ।

आश्विन मासको शुक्ल पक्षको यस पापाङ्कुशा एकादशीको व्रत जो मनुष्यले गर्दछन्, तिनीहरू अन्त समयमा हरि लोक प्राप्त गर्दछन् तथा समस्त पापहरूबाट मुक्त हुन जान्छन् । श्रीकृष्ण भन्नु हुन्छ “हे राजेन्द्र १ यो एकादशी स्वर्ग, मोक्ष, आरोग्यता, सुन्दर स्त्री तथा अन्न र धन दिने एकादशी हो ।

एकादशीको व्रत बराबरको फल अन्य दान पुण्य गर्दा प्राप्त हुँदैन । एकादशी व्रतका सामुन्ने गङ्गा,गया,काशी,कुरुक्षेत्र र पुष्कर पनि पुण्यवान छैनन् । एकादशीको व्रत गर्नाले मनुष्यलाई सजिलै विष्णु पद प्राप्त हुन्छ  भन्ने शास्त्रोक्त वचन रहेको छ ।

त्यसैले यस एकादशीले हाम्रा पापहरूलाई अङ्कुशले तानी छिनाएर फाल्ने भएकाले यसलाई पापाङ्कुशा भनिएको हो ।