जनगणना-२०७८ : खस समुदायको सुल्टो बुद्धि, राई समूहको उल्टो बुद्धि !

  • कार्तिक २५, २०७७
  • ३८० पटक पढिएको
  • निनाम कुलुङ ‘मङ्गले’
alt

लगभग एक महिनाअघि सार्वजनिक अनलाइन न्युज पोर्टलमा आएको समाचारअनुसार आगामी १२ औँ राष्ट्रिय जनगणना २०७८ मा खस जातिले जातिको महलमा ‘खस’ र धर्मको महलमा ‘मस्ट’/‘मस्टो’ लेखाउने भन्ने समाचार आएको छ । जुन कुरोलाई धेरै राम्रो मान्नुपर्ने हुन्छ । किनभने, यसले ढिलै भएता पनि ‘खस’जातिमा जातीय रूपमा आएको चेतना मान्न सकिन्छ । त्यसैले त खसहरूले जातिको महलमा ‘खस’ र धर्मको महलमा ‘मस्ट’/‘मस्टो’ लेखाउने भएका छन् । उनीहरूको यो कदम वा भनौँ निर्णयलाई ढिलै भए पनि सही कदम अर्थात् ‘सुल्टो बुद्धि आएको वा भनौँ ‘सुल्टो बाटो !’ हिँडेको मान्न सकिन्छ ।

तर, आगामी १२ औँ राष्ट्रिय जनगणनामा ‘हाम्रा ‘राई !’ जाति भन्ने र भनिने समूहका कामरेडहरु भने खस समुदायभन्दा ठिक ‘उल्टो बाटो हिँड्ने !’ प्रयास गरी रहेका छन् । उनीहरू खस जाति जस्तो ‘सुल्टो बाटो !’ हिँड्नै चाहँदैनन् । यसरी खस जातिभन्दा ठिक ‘उल्टो बाटो हिँड्दा !’ उनीहरूलाई अलिकति पनि लाज र सङ्कोच लागी रहेको छैन, ग्लानि भई रहेको छैन । किनभने ‘हाम्रा ‘राई !’ कामरेडहरु नेपालको भौगोलिक एकीकरणपछि शासकहरूले दिएको ‘राई !’ पदवी वा पगरीलाई नै जातिको महलमा लेख्ने अभियानमा लागेका छन् । अझ यस कार्यमा हाम्रा ‘राई !’ समूहका विद्वान ! भनिने र नामको अगाडि डाक्टर, प्राध्यापक, प्राज्ञ, भाषा विज्ञ, मुन्धुमविद् (हामी कुलुङहरु रीदूम भन्छौँ) भन्ने र भनिने समूहका विद्वान भनिने कामरेडहरु नै नाकको डाँडीमा चेस्मा झुन्ड्याउँदै ‘अन्टसन्ट !’ भाषण दिने, प्रवचन दिने, अन्तर्वार्ता दिने, कथित राई जातिबारे सम्झाउने, बुझाउने भई टोपल्दै छन्, लेखहरू लेख्ने गर्दैछन् । एकजना राईले त नयाँ ‘राई !’ भाषा नै बनाउनुपर्ने भनी लेख लेखेका छन् ।

तर, ती ‘राई !’ समूहका विद्वान ! भनिनेहरूले यदि राई साँच्चै नेपालको एक जाति हो भने, राई को हो ?, अनि एक जाति राईको २८ वटा भाषा हुन्छ भने, त्यसरी ‘म एक जाति राई हुँ, तर, मेरो २८ वटा राई भाषा छ ! भनेर २८ वटा राई भाषामा खररर..., खरर..., खरर... , खर... बोल्न सक्ने कुनै माईकालाल राई !’ भेटेका छन् त ? सो बारे भने केही पनि लेख्दैनन् । त्यस्तै ती ‘राई !’ साथै राईवाला विद्वान ! भनिनेहरूले राई ! जाति वा समुदाय हो कि, जात वा समूह हो ? सो बारे पनि केही लेख्दैनन्, बोल्दैनन् । त्यसो भएपछि उनीहरूले कथित राईको वंश, भूमि, इतिहास, परम्परागत कानुन, जातीय पोसाक, संस्कार, संस्कृति, रहनसहन, मूल्य–मान्यता आदिबारे त झनै के लेखुन् र ? बिचरा राईवाला विद्वानहरु ! धन्य राईवाला केही अनलाइन न्युज पोर्टलहरूले कुनै एक अनलाइनले प्रकाशित गरेको समाचार वा लेखलाई साभार गरीगरी उनीहरूको भनाइ वा लेखलाई जोडदारका साथ प्रचारप्रसार गरी रहेका छन् । कतिपय मान्छेहरूलाई त ‘राई !’ समूहका विद्वान ! भनिनेहरूलाई व्यङ्ग्य गरे जस्तो पनि लाग्ला, उनीहरूलाई हाँसी मजाकमा उडाए जस्तो पनि लाग्दो हो ! तर, ‘राई !’ समूहका विद्वान ! भनिनेहरू लाजै नमानी गर्वका साथ ‘उल्टो बाटो हिँड्दै छन् ।

नेपालको भौगोलिक एकीकरणपछि शासकहरूले सिंंगो किरात भूमिलाई फुटाएर वल्लो किरात, माझ किरात र पल्लो किरात बनाएको थाहा नहोला त ? आफ्नो नामको अगाडि डाक्टर, प्राध्यापक, प्राज्ञ, भाषा विज्ञ, मुन्धुमविद् आदिको फुर्को झुन्ड्याएका र नाकको डाँडीमा चेस्मा झुन्ड्याउँदै ‘अन्टसन्ट !’ भाषण दिने, प्रवचन दिने, अन्तर्वार्ता दिनेहरूलाई ? थाहा नभएको पक्कै होइन होला ? हुन पनि माझ किरातका खम्बुका सन्तानहरूलाई दिइएको पद वा पगरी हो,-‘राई !’ । सो-‘राई !’ पदलाई नै जाति मान्नुपर्ने भनी डङ्का पिट्दै हिँडी रहेका छन्, आफ्नो बुताले भ्याएसम्म प्रचारप्रसार गरी रहेका छन्, त्यो पनि आफ्नो नामको अगाडि डाक्टर, प्राध्यापक, प्राज्ञ, भाषा विज्ञ, मुन्धुमविद् भनिनेहरू ! जबकि इतिहास हेर्दा नेपालको भौगोलिक एकीकरण अघिसम्म किरातीहरु एकै रहेका थिए ।

नेपालको भौगोलिक एकीकरणपछि वल्लो किरातका सुनुवारलाई ‘मुखिया’, माझ किरातका कुलुङ, बान्तवा लगायत खम्बुका सन्तानलाई ‘राई !’, पल्लो किरात (अरुण पूर्व) का याक्खालाई ‘देवान’ अनि लिम्बु र लाप्चालाई ‘सुब्बा’ पदवी/पगरी दिइयो । स्मरणीय के छ भने, हाल आएर सुनुवारहरूले आफ्ना पिता-पुर्खा पाएको ‘मुखिया’ पदलाई जाति लेख्न/मान्न छाडेका छन् । त्यस्तै याक्खा समुदायले पनि आफ्ना पिता-पुर्खा पाएको ‘देवान’ पदलाई जाति लेख्न/मान्न छाडेका छन् । अनि लिम्बु र लाप्चाले पनि आफ्ना पिता-पुर्खा पाएको ‘सुब्बा’ पदलाई जाति लेख्न/मान्न छाडेका छन् । तर, खम्बुका सन्तानहरूले भने अझै पनि आफ्ना पिता-पुर्खा पाएको ‘राई !’ पदलाई जाति लेख्नु/मान्नु पर्ने बाध्यता वा जबरजस्ती गर्ने, किन नि ? बुझी नसक्न छ बा ! अझै पनि ‘जेन्युईन !’ प्रश्न के छ भने, यदि एक जाति ‘राई !’को भाषाचाहिँ २८ वटा हुन्छ ! भने त्यसरी ‘म एक जाति राई हुँ, तर मेरो भाषाचाहिँ २८ वटा छ !’ भनेर २८ वटा भाषामा खर ... खरर ... बोल्न सक्ने कुनै ‘माईकालाल राई !’ छ ?

त्यसो त नेपालमा जनगणनाको इतिहास हेर्दा सर्वप्रथम विसं १९६८ मा पहिलो पटक आधिकारिक रूपमा राष्ट्रिय जनगणना भएको थियो । त्यो वेलाको श्री ३ महाराज अर्थात् राणा सरकारले तत्कालीन नेपालको जातजाति, भासाभासी, धार्मिक समूह, लिङ्ग, क्षेत्र वर्ग आदिको सामाजिक, आर्थिक, स्वरोजगार, व्यापार, शैक्षिक, स्वास्थ्य, भाषिक, धार्मिक, चेतना विकास आदिको अवस्था कस्तो छ ? त्यो हेरेर उनीहरूका लागि विकास बजेट छुटाउने र नीति निर्माण गर्ने ढङ्गले भन्दा पनि आफ्नो ढुकुटीमा कसरी र कति धन सम्पत्ति जम्मा गर्न सकिन्छ ? भन्ने हिसाबले र तत्कालीन भोटसँग युद्ध गर्न परेमा कति जवान ठिटोहरूलाई सिपाहीहरूलाई सेनामा भर्ती गर्न सकिन्छ ? भनेर मात्रै जनगणना गरेको जस्तो देखिन्छ ।

त्यस्तै धन-सम्पत्ति जम्मा गर्ने सन्दर्भमा भन्नु पर्दा त्यो वेलाको राज्यको मुख्य आयस्रोत भनेको भूमि कर, हाटबजार कर, निकासी-पैठारी कर, ठेकी-बेठी, ठिँगुरो-मुङ्ग्रो आदि कर नै थियो । तसर्थ सोही हिसाबले जति सक्दो धेरै भूमि कर, हाटबजार कर, निकासी–पैठारी कर, ठेकी–बेठी, ठिँगुरो-मुङ्ग्रो आदि कर उठाउने हिसाबले स्थानीय स्तरमा धेरैभन्दा धेरै ‘राई’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘गोवा’ ‘चौधराई’, ‘मिझार’, ‘गौरुङ, ‘थरी’, ‘कारबारी’, ‘माथा’, ‘करता’, ‘बहिदार’ आदि नियुक्त गरे । फलतः ‘६० मुरी माटो’को पनि ‘राई’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘गोवा’ ‘चौधराई’, ‘मिझार’, ‘गौरुङ, ‘थरी’, ‘कारबारी’, ‘माथा’, ‘करता’, ‘बहिदार’ आदि नियुक्त भए । ‘६० मुरी माटो’ भन्नाले ‘६० मुरी अन्न फल्ने भूमि/जमीन’को ठेक्का लिन सक्नेहरू पनि ‘राई’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘गोवा’ ‘चौधराई’, ‘मिझार’, ‘गौरुङ, ‘थरी’ आदि भए ।

त्यसैले ऊ वेला गरेको राष्ट्रिय जनगणनामा जातजाति, भासाभासी, धार्मिक समूह, लिङ्ग, क्षेत्र वर्ग आदिको महल नै राखिएको थिएन । वास्तवमा देशको समग्र अवस्था कस्तो छ ? जस्तै सामाजिक, आर्थिक, स्वरोजगार, व्यापार, शैक्षिक, स्वास्थ्य, भाषिक, धार्मिक, चेतना विकास आदिको अवस्था कस्तो छ ? हेर्न र, त्यो हेरेर नीति निर्माण गर्ने हिसाबले जनगणना गर्ने चलन थिएन । तर, पछिल्लो पटक नेपालमा मात्रै नभएर विश्वका प्रायः सबै देशमा आफ्नो देशमा रहेका जातजाति, भासाभासी, धार्मिक समूह, लिङ्ग, क्षेत्र वर्ग आदिको सामाजिक, आर्थिक, स्वरोजगार, व्यापार, शैक्षिक, स्वास्थ्य, भाषिक, धार्मिक, चेतना विकास आदिको अवस्था कस्तो छ ? त्यो हेरेर नै सम्बन्धित जातजाति, भासाभासी, धार्मिक समूह, लिङ्ग, क्षेत्र वर्ग आदिको सामाजिक, आर्थिक, स्वरोजगार, व्यापार, शैक्षिक, स्वास्थ्य, भाषिक, धार्मिक समूह आदिका लागि विकास बजेट छुटाउने, नीति निर्माण गर्ने हेतुले नै जनगणना गर्ने गरिन्छ ।

त्यसरी हेर्दा केन्द्रीय तथ्याङ्क विभागले विसं २०६८ मा गरेको ११ औँ राष्ट्रिय जनगणनाअनुसार नेपालमा १ सय २५ जातजाति र १ सय २३ भासाभासी रहेका छन् । यसरी हेर्दा सो जनगणनामा आएको विविध जातजाति, भासाभासी, धार्मिक समूह/सम्प्रदाय आदि भनेको बुझ्नेहरुका लागि वास्तवमै विविधता भएको ‘साझा फूलबारी’ हो । भलै राज्यले अहिलेसम्म पनि त्यहीअनुसार व्यवहारिक ढङ्गले नीति निर्माण नगर्नु, उनीहरूका लागि बजेट नछुट्याउनु वा छुट्याएको बजेट पनि पहुँच नभएकाहरूले नपाउनु अनेक दुःखका कथाहरू छन् ।

जे होस्, विसं २०६८ को ११ औँ राष्ट्रिय जनगणनामा उल्लेख भएका १ सय २५ जातजाति र १ सय २३ भाषा भाषीमध्ये एक हो -‘कुलुङ जाति ।’ तर, नेपाल सरकारको मातहतमा रहेको र, विकासे ऐन अन्तर्गत गठित ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा भने सरकारले कुलुङ जातिलाई छुट्टै जातिका रूपमा सूचीकृत गरेको छैन । फलतः अझै पनि कुलुङहरुले ‘म ... कुलुङ’ भनेर परिचय दिँदा ए ... ‘कुलुङ भनेको त ‘राई !’ होइन र ? भनी जवाफ दिनेहरू धेरै भेटिन्छन् । हामीले पनि-‘कुलुङ नभएर राई ! भए त कुलुङको सट्टा राई ! नै भनी हाल्थ्यौँ नि !’ भनी जवाफ दिने गरेका छौँ । यस्तो भ्रम पर्नेहरूमा अरू त अरू नै भए, भाषा शास्त्री, समाजसास्त्री, मानव शास्त्री, संस्कृतिविद्/ मुन्धुमविद्, मानवअधिकारवादी भन्नेहरू, आदिवासी जनजाति मूलका नेता हौँ भन्नेहरू नै धेरै छन् ।

अब हामी कुलुङ जातिले आगामी जनगणना २०७८ मा जनगणना गर्न आउने गणकलाई जाति के हो ? भन्ने महलमा ‘कुलुङ’ र थर के हो ? भन्ने महलमा ‘थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होबेर्मी, थोरेप्पा, मोरोखु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, रोतेम्बु, सुर्बा, रेम्निसिङ, सैमालुङ, लाम्लछा, ताम्बुछा, तोर्ङो, पिदिसै, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, येइसा, रिबीत्ती, रुखुपो, कुबीत्ती, ङोपोचो, बिजीदेउ, तोङेर्बु, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, थोप, वारोखु, गोक्तुलु, रिन्हो, छेन्हो, वालाखाम, वादीरी, बार्सी, गदुहो, देमाखु, हिमार, छाम्निहो, निछिती, पायात्ती, मोरोमुल, फोनीबु, मुम्हो आदि लेखाउनु पर्छ । त्यस्तै धर्मको महलमा किरात/रीदूम वा प्रकृति पूजक लेख्न लगाउनु पर्छ भने, भाषाको महलमा यस पटक पुर्खाको भाषा र मातृभाषा भन्ने महल आउँछ । सो महलमा पुर्खाको भाषा पनि ‘कुलुङ’ र मातृभाषा पनि ‘कुलुङ’ नै लेख्न लगाउनु पर्छ ।

गणकले आपूले भनेअनुसार लेख्यो कि लेखेन ? भनी यो महलमा अझ महत्त्व दिएर हामी ‘कुलुङ’हरुले हेर्नुपर्ने हुन्छ । किनभने, ‘कुलुङ भाषा’ नै छुट्यो भने हाम्रो (‘कुलुङ’को) भाषा नै नआउने वा कम आउने सम्भावना हुन्छ ।

[email protected]

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved