धरान : धरान–६ पानवारीमा नेपाल प्रहरीले सञ्चालन गर्दै आएको आसरा सुधार केन्द्रबाट पछिल्लो ६ वर्षको अवधिमा १ हजार ८०७ जना युवा दुर्व्यसन मुक्त भएका छन्।

बिहीबार सम्पन्न केन्द्रको सातौँ वार्षिक उत्सव तथा साधारण सभा कार्यक्रमको उद्घाटन गर्दै नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष नबिना खत्री कार्कीले दुर्व्यसनमा फसेका युवालाई उपचार, परामर्श तथा पुनः स्थापनामार्फत समाजको जिम्मेवार नागरिक बनाउने कार्यमा आसरा सुधार केन्द्रले महत्त्वपूर्ण भूमिका खेलेको बताइन्।

उनले अन्जानमा वा साथीसंगतको प्रभावमा लागु औषधको कुलतमा फस्नु अत्यन्त दुःखद तथा चिन्ताजनक अवस्था भएको उल्लेख गर्दै दुर्व्यसनले व्यक्ति मात्र नभई परिवार, समाज र समग्र राष्ट्रमै गम्भीर नकारात्मक असर पुर्‍याउने बताइन्।दुर्व्यसनीलाई यो कुलतबाट मुक्त गराउन सबै वर्ग, समुदाय तथा सङ्घ–संस्थाको सामूहिक प्रयास अपरिहार्य रहेको सरोकारवालाहरूको भनाइ छ।

२०७५ साल चैत १ गते स्थापना भएको केन्द्रले सुरुआतमा एक जना लागू औषध प्रयोगकर्ताबाट सेवा सुरु गरेको थियो। सार्वजनिक प्रतिवेदनअनुसार हालसम्म कोशी प्रदेशबाट १ हजार ६५५ जना, मधेस प्रदेशबाट १३५ जना, बाग्मती प्रदेशबाट १४ जना, सुदूरपश्चिम प्रदेशबाट २ जना तथा भारतबाट १ जना लागू औषध प्रयोगकर्ता दुर्व्यसन मुक्त भएका छन्। हाल केन्द्रमा ९५ जनाको उपचार तथा परामर्श भइरहेको छ।

उमेर समूहका आधारमा १६–२० वर्षका ३८४ जना, २१–३० वर्षका ८०७ जना, ३१–४० वर्षका ३३५ जना तथा ४१ वर्षभन्दा माथिका २८० जना पुरुष लागू औषध प्रयोगकर्ताले केन्द्रबाट उपचार लिएका छन्। प्रतिवेदनअनुसार गाँजा, चरेस, आइस, ट्याब्लेट, मदिरा, हेरोइनलगायत विभिन्न लागू औषध प्रयोग गर्ने ९२५ जना तथा एउटै प्रकारको लागू औषध प्रयोग गर्ने ४६६ जना दुर्व्यसन मुक्त भएका हुन्।

जानीजानी वा नजानिँजानी लागू औषध प्रयोग सुरु गरेका व्यक्तिहरूमा लाग औषधप्रति वितृष्णा पैदा गराई सुधार गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको जनाइएको छ। केन्द्रमा कोशी प्रदेशका धरान, झापा, मोरङ, हिलेका साथै मधेस प्रदेशका विभिन्न जिल्लाबाट पनि सेवाग्राही आउने गरेका छन्।

वार्षिक उत्सवको अवसरमा केन्द्रका कर्मचारी तथा विभिन्न खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गरेका उपचाररत सदस्यहरूलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो।

आसरा सुधार केन्द्रका कार्यवाहक अध्यक्ष तथा प्रथम उपाध्यक्ष शिला बज्राचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रलाई अझ व्यवस्थित र प्रभावकारी ढङ्गले सेवा विस्तार गर्नेमा जोड दिईन।

उनले केन्द्रमा पानीको समस्या रहेको उल्लेख गर्दै प्रदेश सरकारले डिप बोरिङका लागि बजेट छुट्टाएको जानकारी दिइन्। आगामी दिनमा लागू औषध मुक्त व्यक्ति र समाज निर्माणका लागि उपचार तथा पुनः स्थापना केन्द्रहरूले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताईन।

कार्यक्रममा उपचाररत सदस्यहरूले गायन तथा नृत्य प्रस्तुति समेत दिएका थिए। कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घ, प्रदेश प्रहरी श्रीमती सङ्घका पदाधिकारी, सञ्चालक समिति सदस्य, आजीवन सदस्य, धरान उपमहानगरपालिका उपप्रमुख अईन्द्र विक्रम बेघा, व्यवसायी सरोज श्रेष्ठ,१३ वडा अध्यक्ष नेत्र काफले, ३ वडा अध्यक्ष विद्या शाक्य, १८ वडा अध्यक्ष प्रविन राई,सुरक्षा निकायका पदाधिकारी तथा प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।

aasara