इटहरी : नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेको नेतृत्वमा स्वतन्त्र सञ्चार सञ्जाल (फ्री मिडिया नेटवर्क) गठन भएको छ । इन्टरनेशनल अलर्टको सहकार्यमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अनवरत प्रभावकारी रूपमा काम गर्ने उद्देश्य सहित स्वतन्त्र फोरम गठन भएको ।
सुनसरीमा २०७२ सालदेखि सुरु भएको मिडिया नेटवर्कको काम प्रभावकारी बनेसँगै पत्रकार महासङ्घमा नयाँ नेतृत्व आएपछि पुनर्गठन गरिएको हो । बिहीबार इटहरीमा एक विशेष कार्यक्रमका बिच विभिन्न संस्थाका प्रतिनिधिहरू सहितको समिति गठन भयो । मानवअधिकारकर्मी, जिल्ला प्रशासन, जनप्रतिनिधि, प्याब्सन, हिसान, उद्योग वाणिज्य सङ्घ लगायतका प्रतिनिधिहरूको उपस्थितिमा भएको भेलाले व्यावसायिक पत्रकारिताको विकासमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।
इन्टरनेशनल अलर्ट एसिया निर्देशक रविना श्रेष्ठ र सिनियर अफिसर प्रतिष्ठा थापाको उपस्थितिमा सम्पन्न भेलाले अध्यक्ष काफ्लेको संयोजकत्वमा १५ सदस्यीय समिति चयन गरेको छ । पदाधिकारी विहीन स्वतन्त्र फोरममा हरि नगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, इटहरी उपमहानगरपालिकाकी उपमेयर सङ्गीता कुमारी चौधरी र नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्षहरू अमर खड्का र जनकऋषी राई सदस्य छन् ।
त्यस्तै अन्य सदस्यहरूमा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको रूपमा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास हमाल, नेपाल बार एसोसिएसन सुनसरीका उपाध्यक्ष बलराम राई, मानवअधिकारकर्मी रमेश भट्टराई, महिला अधिकारकर्मी विनीता दाहाल समेत सदस्यको रूपमा रहेका छन् । अन्य सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय सुनसरी, सुनसरी उद्योग वाणिज्य सङ्घ उपाध्यक्ष राजेश अग्रवाल, नागरिक समाज इटहरीका राजु केसी, हिसान सुनसरी अध्यक्ष सागर भट्टराई, प्याब्सन सुनसरी उपाध्यक्ष गणेश भण्डारी र एनजिओ फेडेरेसन सुनसरीका सचिव राम सुन्दर मेहता छन् ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको पक्षमा काम गर्ने यस फोरमले आगामी बैठक माघ दोस्रो साताको लागी तय गरेको छ । कार्यक्रममा सहभागी सबैले व्यवसायीक पत्रकारिताको विकास र प्रेस स्वतन्त्रताको पक्षमा आपसी सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् ।


































































