धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भारतको पोंडिचेरी राज्यस्थित श्री बालाजी विद्यापीठ विश्वविद्यालयबीच आपसी शैक्षिक तथा अनुसन्धान सहयोग आदान–प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
मंसिर २५ गते प्रतिष्ठानको उपकुलपति कार्यालयको बैठक कक्षमा आयोजित कार्यक्रममा उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। समझदारीअनुसार दुवै संस्थाबीच शैक्षिक तथा सांस्कृतिक आदान–प्रदान, शिक्षक तथा विद्यार्थी विनिमय, संयुक्त अनुसन्धान परियोजना सञ्चालन, अनुसन्धानको नैतिकता प्रवर्द्धन, चिकित्सा शिक्षामा नविनता तथा निरन्तर चिकित्सा शिक्षा जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछ।
सम्झदारीपत्रमा प्रतिष्ठानका तर्फबाट निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा.डा. संजिव कुमार शर्मा र श्री बालाजी विद्यापीठ विश्वविद्यालयका तर्फबाट रजिस्ट्रार प्रा.डा. श्रीनिवासनले हस्ताक्षर गरेका छन। साक्षीका रूपमा प्रतिष्ठानका डीन प्रा.डा. शिवेन्द्र झा तथा विश्वविद्यालयका निर्देशक प्रा.डा. एम. शिवाशक्तिले हस्ताक्षर गरेका छन।
हस्ताक्षर कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. संजिव कुमार शर्मा, डीन प्रा.डा. शिवेन्द्र झा, सहायक डीन डा. वीम्मी सिंह तथा एनाटोमी विभागका एडिसनल प्रोफेसर डा. सन्दीप साहको उपस्थिति रहेको थियो।
श्री बालाजी विद्यापीठ विश्वविद्यालयका तर्फबाट निर्देशक प्रा.डा. एम. शिवाशक्ति सहभागी थिए भने उपकुलपति प्रा.डा. एन.आर. विश्वासलगायत अन्य पदाधिकारीहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए।
उक्त समझदारीले दुवै शैक्षिक संस्थाको शैक्षिक गुणस्तर अभिवृद्धि तथा अनुसन्धान क्षमतामा थप मजबुती प्रदान गर्ने विश्वास प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।


































































