धरान : चार दिवसीय विद्यालयस्तरीय खेलकुद कार्यक्रमअन्तर्गत धरान–१५ स्थित च्याम्पियन सेकेन्डरी स्कुलमा मङ्गलबार पहिलो दिन मिनि म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ।
खेलकुद कार्यक्रमको उद्घाटन धरान-१५ का वडा अध्यक्ष नरेस कुमार इबारमले रिबन काटी तथा पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए।
मिनि म्याराथुन प्रतियोगिता दुई समूहमा सञ्चालन गरिएको थियो। स्कुलका भाइस प्रिन्सिपल एबिन राईका अनुसार कक्षा ४ देखि ६ सम्मका विद्यार्थीहरूका लागि स्कुल परिसरबाट सुरु भई कोकोनट हाउस, पिण्डेश्वर चोक, मिलन चोक हुँदै पुनः स्कुलसम्म एक किलोमिटर दूरीको दौड आयोजना गरिएको थियो।
त्यसैगरी कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूका लागि स्कुलबाट कोकोनट हाउस, पिण्डेश्वर चोक, बुढासुब्बा चोक, सङ्गम चोक, बगरकोट र मिलन चोक हुँदै स्कुलसम्म २ दशमलव ५ किलोमिटर दूरीको मिनि म्याराथुन सम्पन्न भयो।
जुनियर समूहअन्तर्गत छात्रतर्फ आर्यन बस्नेत प्रथम, अङ्कित खड्का द्वितीय र सोहिम परियार तृतीय भए भने छात्रातर्फ रेशिका पोख्रेल प्रथम, पविता राई द्वितीय र यामकुमारी ठाकुर तृतीय स्थानमा रहिन्।
सिनियर समूहअन्तर्गत छात्रतर्फ प्रताप लिम्बू प्रथम, डेनिस गुरुङ द्वितीय र चन्दन यादव तृतीय भए भने छात्रातर्फ रितिमा मगर प्रथम, सुनिसा लाम्गादे द्वितीय र बिनिशा विक तृतीय भइन्।
विजेता विद्यार्थीहरूलाई स्कुलकी प्रिन्सिपल नाजु सुवेदी, भाइस प्रिन्सिपल एबिन राईलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे।
मिनि म्याराथुनसँगै मङ्गलबार रिले रेस, टग अफ वार, १०० मिटर दौड, स्याक रेस (बोरा दौड) लगायत विभिन्न खेलकुद प्रतियोगिताहरू पनि सम्पन्न भएका छन्।
उद्घाटन समारोहमा वडा अध्यक्ष इबारमले च्याम्पियन सेकेन्डरी स्कुल नामअनुसार हरेक क्षेत्रमा च्याम्पियन बन्दै अघि बढोस् भन्ने शुभकामना व्यक्त गरे। त्यस्तै, स्कुलकी प्रिन्सिपल नाजु सुवेदीले विद्यार्थीहरूको शारीरिक तथा मानसिक तन्दुरुस्ती अभिवृद्धि गर्नुका साथै आपसी सद्भाव, भाइचारा र खेल भावना विकास गर्ने उद्देश्यले खेलकुद कार्यक्रम आयोजना गरिएको बताइन।
चार दिवसीय खेलकुद कार्यक्रमको समापन आगामी शुक्रबार हुने स्कुलले जनाएको छ।



































































