धरान : नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता हरिबोल गजुरेलले नेपाली कम्युनिस्ट पार्टी देशकै सबैभन्दा ठुलो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् ।
सोमबार नेपाली कम्युनिस्ट पार्टी धरान उपमहानगर कमिटीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता गजुरेलले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन वैचारिक र सङ्गठनात्मक एकता अनिवार्य रहेकोमा जोड दिए ।
नेता गजुरेलले अवसरवाद र विभाजनप्रति आलोचना गर्दै स्वार्थका कारण एकताबाट टाढा जाने प्रवृत्तिले आन्दोलनलाई कमजोर बनाउने टिप्पणी गरे। धरानका नेता–कार्यकर्तालाई जनतासँगको सम्बन्ध मजबुत बनाउन आग्रह गर्दै जनभावनासँग जोडिन नसके आन्दोलनको औचित्य नै हराउने उनको भनाइ थियो।
सभालाई सम्बोधन गर्दै गजुरेलले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र भीम रावलजस्ता एमालेका पूर्व शीर्ष नेताहरू हाल एकीकृत नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भइसकेको उल्लेख गरे। उनले एमालेप्रति असन्तुष्ट हजारौँ नेता–कार्यकर्ता आगामी दिनमा नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने विश्वास व्यक्त गरे। उनले विभिन्न वाम धारहरू एकीकृत भएर बनेको पार्टी भएकाले नेपाली कम्युनिस्ट पार्टी जन आधारित र वैकल्पिक शक्तिका रूपमा स्थापित हुँदै गएको बताए ।
नेता गजुरेलले कम्युनिस्ट आन्दोलनमा एकता,अनुशासन र वैचारिक स्पष्टताको आवश्यकता औँल्याउँदै पार्टीभित्रको एकता बलियो बनाउँदै जनतासँगको सम्बन्ध सुदृढ गर्नुपर्नेमा जोड दिए। कार्यक्रममार्फत सङ्गठनलाई थप सक्रिय बनाउने र जनआन्दोलनको भावनालाई अघि बढाउने सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।
गजुरेलले धरान राजनीतिक चेतना,पहिचान र समाजवादी आन्दोलनको ऐतिहासिक आधार भएको सहर भएकाले यहाँ पार्टी सङ्गठन मजबुत बने सम्पूर्ण प्रदेशभर यसको प्रभाव विस्तार हुने धारणा राखे ।
सभामा पार्टी नेता किरण राईले आत्म समीक्षा र अनुशासनसहित एकतालाई अझ धारिलो बनाउनुपर्नेमा जोड दिए। नेता जीवन राईले विगतका कमजोरी सच्याउँदै एकतालाई सुदृढ बनाएर नेपाली कम्युनिस्ट पार्टीले धरानको विकास र समृद्धिमा निर्णायक भूमिका खेल्ने प्रतिबद्धता गरेका थिए।
कार्यक्रममा नेताहरू अर्जुन लामा,उद्धव लिम्बू, रञ्जित राई र रेवती रमण राईले पार्टी एकतालाई मजबुत बनाउनु नै वर्तमानको मुख्य आवश्यकता रहेको धारणा राखे।
एकता सन्देश सभामा नेताहरू मुक्सामहाङ मेन्याङ्बो (मुकेश), मनोज भट्टराई, उमिता बराइली तथा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघालगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजित सभाअघि छाता चोकबाट मोटरसाइकल र्याली सुरु भएको थियो। र्याली छाता चोकबाट पुरानो बजार, माछा भौडी, देशी लाइन र भानु चोक हुँदै पुनः छाता चोकको परिक्रमा गर्दै सभा हलमा पुगेर सभामा परिणत भएको थियो।
सभाको अध्यक्षता नेपाली कम्युनिस्ट पार्टीका संयोजक उद्धव लिम्बूले गरेका थिए ।