धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर विक्रम श्रेष्ठले प्रतिष्ठान सुधारका लागि दृढ प्रतिबद्धता व्यक्त गर्दै धरानका उद्योगी, व्यवसायी तथा बुद्धिजीवीसँग सहकार्य र सहयोगको आह्वान गरेका छन् ।
सोमबार सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजित छलफल कार्यक्रममा उपकुलपति श्रेष्ठले प्रतिष्ठानलाई सुधारको दिशामा अघि बढाउन आर्थिक,भौतिक तथा संस्थागत सहयोग आवश्यक रहेको उल्लेख गरे। प्रतिष्ठान सुधारका लागि भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखिएको भन्दै उनले त्यसका लागि कठोर कदम चाल्ने बताए।
सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा सम्पन्न छलफलमा उपकुलपति श्रेष्ठले प्रतिष्ठानका लागि आवश्यक २८ प्रकारका सामग्री तथा उपकरणको सूची सार्वजनिक गर्दै ती सामग्री खरिद वा आर्थिक सहयोगमार्फत योगदान गर्न आग्रह गरे।
छलफलका क्रममा उपकुलपति श्रेष्ठले आफू धरानकै नागरिक भएकाले धरानवासीसँग सहयोग माग्ने हिम्मत गरेको बताए। उनले भने‘ हिन्दी फिल्मको नायक जस्तो तत्काल प्रतिफल देखिने कामभन्दा पनि प्रतिष्ठानलाई अहिलेको अवस्थाभन्दा उत्कृष्ट बनाउने लक्ष्यका साथ अघि बढिरहेको छु ।’धरानवासी प्रतिष्ठानप्रति चिन्तित र सरोकार राख्ने भएकाले सहयोगको अपेक्षा गरेको छु । उपकुलपति श्रेष्ठले सहयोगी भावना र इच्छाप्रति आभार प्रकट गरे ।
कार्यक्रममा उद्योगी, व्यापारी, व्यवसायी, बुद्धिजीवी तथा प्रतिष्ठानसँग सरोकार राख्ने व्यक्तिहरूको उपस्थिति रहेको थिए। छलफलमा सहभागीहरूले बिपी प्रतिष्ठान धरानको पहिचान र गौरवसँग जोडिएको संस्था भएकाले यसको सुधारमा सामूहिक जिम्मेवारी आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
छलफल कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठले सङ्घको तर्फबाट प्रतिष्ठानको ओपिडीमा रहेका २५ वटा डिजिटल डिस्प्ले मर्मत गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसै गरी धरानका व्यवसायी पवन अग्रवालले २ लाख ५० हजार रुपैयाँ बराबरका सामग्री सहयोग गर्ने घोषणा गरे। व्यवसायी जन सेवक भण्डारीले १ लाख १ हजार रुपैयाँ बराबरका ५ थान ट्रली प्रदान गर्ने प्रतिबद्धता जनाए।
नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठले संस्थाको तर्फबाट १ सय थान ह्विलचियर सहयोग गर्ने घोषणा गरे भने रोटरी क्लब अफ घोपाका तर्फबाट ईश्वर ताम्राकारले २० वटा ह्विलचियर सहयोग गर्ने बताए।
हार्डवेयर व्यवसायी नवीन राज भण्डारीले व्यवसायीहरूको तर्फबाट १ लाख रुपैयाँभन्दा बढी मूल्यका जिन्सी सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाए। व्यवसायी हरि चौधरीले स्टिल फेब्रिकेटरको तर्फबाट १० वटा स्टेन स्टिल बोर्ड उपलब्ध गराउने बताए।
औद्योगिक क्षेत्रका तर्फबाट प्लास्टिकका पाइप सहयोग गर्ने, सिपी बजगाईँले १ वटा ट्रली उपलब्ध गराउने तथा संयुक्त ग्रिल व्यवसायीहरूको तर्फबाट फलामजन्य सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै ग्रिल उद्योगी प्रेमराज राईले बिरामी बस्ने बेन्च उपलब्ध गराउने तथा सुरेन्द्र स्थापितले १० थान म्याट्रेस सहयोग गर्ने प्रतिबद्धता जनाए ।
स्थानीय भवन निर्माण समितिका तर्फबाट हरि कार्कीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए भने सुनिता श्रेष्ठले पनि आवश्यक सहयोग उपलब्ध गराउने वचन दिए।
छलफलमा समाजसेवी मनमोहन श्रेष्ठले नगद २ लाख ५० हजार, समाजसेवी कृष्ण श्रेष्ठले १ लाख १ हजार, सतिश चन्द्र गुप्ताले ५१ हजार तथा कुमार शाहले ५१ हजार रुपैयाँ नगद सहयोग गर्ने प्रतिबद्धता गरेका छन्।छलफलमा वक्ताहरुले समिती बनाएर सहयोग उठाउन आग्रह समेत गरेका थिए ।


































































