धरान : नेवा देय् दबू धरान उपमहानगर समितिको आयोजनामा नेपाली मौलिक लिपि रञ्जना लिपिको १५ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ।
धरान–१६ स्थित हारती अजिमामा पौष ५ गतेदेखि सञ्चालन भएको कार्यक्रममा ४० भन्दा बढी सहभागी रहेका छन्।
कार्यक्रमको उद्धघाटन गर्दे प्रमुख अतिथि नेवा देय् दबूका केन्द्रीय सल्लाहकार सरला कायस्थले रञ्जना लिपि ऐतिहासिक,सांस्कृतिक र धार्मिक दृष्टिले महत्त्वपूर्ण भएको बताईन ।
अध्यक्ष मनोहर शाक्यले प्रशिक्षणको मुख्य उद्देश्य युवा पुस्तालाई रञ्जना लिपिसँग परिचित गराउँदै यसको संरक्षण र प्रचारप्रसार गर्नु रहेको बताए। शाक्यले भने‘लिपिहरूको प्रयोग अत्यन्तै न्यून हुँदै गएको साथै कतिपयलाई त नेपालका आफ्नै मौलिक लिपि छन् भन्ने जानकारी समेत नरहेको अवस्था छ ।’यही अवस्थालाई मध्यनजर गर्दै युवाहरूलाई रञ्जना लिपिको पुनर्जागरण अभियानमा दवुले भाषा लिपी संरक्षण सक्रियता जनाएको हो ।
उद्घाटन समारोहमा विभिन्न तहका नेवा देय् दबूका प्रतिनिधि र धरान उपमहानगर क्षेत्रमा सक्रिय नेवार सङ्घ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो।
नेपाल लिपि गुथिले देशभर कार्यशाला, मोबाइल एप, युट्युब ट्युटोरियल र ‘क्यालिजात्रा’ कार्यक्रममार्फत रञ्जना लिपिको प्रचार–प्रसार गर्दै आएको छ। लिपिविद् शरद कसाःका अनुसार सार्वजनिक स्थानमा यसको प्रयोगले नेपालको सांस्कृतिक पहिचान झल्काउने र शहरको सौन्दर्य बढाउनेछ।



































































