धरान : किरात राई समुदायको संस्कार,संस्कृति तथा पहिचान संरक्षणमा किरात राई यायोक्खाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको निष्कर्षसहित किरात राई यायोक्खा धरान उपमहानगर समितिको ७ औँ नगर सभा शनिवार सम्पन्न भएको छ।
धरान–१० स्थित यायोक्खा भवनमा सम्पन्न नगर सभामा संस्थाकी सचिव गीता राईले धरान नगर समितिको वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गरेकी थिइन् भने कोषाध्यक्ष विमल राईले वार्षिक आर्थिक प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए।
आर्थिक प्रतिवेदनअनुसार संस्थाको कुल आय ५ लाख ७७ हजार ३०१ रुपैयाँ ६ पैसा, खर्च ३ लाख ४७ हजार ३०५ रुपैयाँ रहेको छ भने २ लाख २९ हजार ९९६ रुपैयाँ ६२ पैसा बचत रहेको  छ।
नगर सभाका प्रमुख अतिथि किरात राई यायोक्खाका उपाध्यक्ष मान भगत राईले किरात राई समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्नामा यायोक्खाले खेलेको भूमिकाको प्रशंसा गर्दै समयमै नगर सभा सम्पन्न गरेकोमा धरान नगर समितिलाई धन्यवाद व्यक्त गरे।
उनले केन्द्र समितिको अधिवेशनका कारण कार्यसमितिको अवधि लम्बिन सक्ने अवस्थाका बिच पनि सङ्गठनात्मक अनुशासन कायम गर्दै नगर सभा सम्पन्न गरी संस्थाको सकारात्मक बाटोमा डोर्‍याएको बताए।
कार्यक्रममा किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा करिब ३ करोड रुपैयाँ लागतमा एसी सहितको भवन निर्माण गर्ने तयारी रहेको जानकारी दिए। उनले पछिल्लो समय स्थानीय तथा प्रदेश सरकारले यायोक्खालाई सहयोग गर्न थालेको उल्लेख गरे।
नगर सभाको अध्यक्षता संस्थाकी अध्यक्ष लीला राईले गरेकी थिइन्। नगर सभाको अवसरमा संस्थालाई विभिन्न तरिकाले सहयोग पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको आयोजकले जनाएको छ।