इटहरी : नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकरण धमाधम भइरहेको छ । वडा समिति मार्फत नवीकरण प्रक्रिया सकेर नयाँ सदस्यता वितरण सुरु गरिएको हो ।

मङ्सिर २९ गतेसम्म भएको नवीकरणको आधारमा इटहरी उपमहानगरपालिका भित्र ८० प्रतिशत बढी नवीकरण भएको जनाइएको छ । इटहरी नगर सचिव विक्रम घिमिरेका अनुसार काँग्रेसले महाधिवेशनको मिति तय गरेसँगै नवीकरणमा उत्साह देखिएको हो । यसअघि ४४५९ क्रियाशिल सदस्य मध्ये ३५ सय भन्दा बढिले नविकरण गरेको घिमिरेले जानकारी दिए ।

इटहरीमा मतदाता नामावली नभएको, मृतक, पार्टी छाडेर अन्य पार्टीमा समावेश भएका र सम्बन्धित वडामा सदस्यता नभएकाहरूको हकमा भने सदस्यता नवीकरण नगरिएको उनले बताए । क्षेत्रीय समिति मार्फत जिल्ला समितिमा नवीकरणको फारम पुगेको र नयाँ सदस्यताको फारम वडा तहबाट वितरण भइरहेको घिमिरेको भनाइ छ ।

पुरानो सदस्यता नवीकरण पछि नयाँ क्रियाशील सदस्यताको काम धमाधम भइरहेको छ । नयाँ सदस्यतामा क्रम सङ्ख्या उल्लेख नभएको जिल्ला पुनः सदस्यता फारम पठाइएको छ । नयाँ सदस्यलाई खुल्ला गरेको काँग्रेसले युवा पुस्तालाई केन्द्रित गरेर सदस्यता वितरण अगाडी बढाएको हो । ७ गतेसम्म सदस्यता वितरणको क्रम सकिएपछि मात्र १५ औँ महाधिवेशनको प्रक्रिया अगाडी बढ्ने भएको छ ।