इटहरी : नेकपा एमालेको केन्द्रीय कमिटीमा कोशी प्रदेशको प्रभावशाली उपस्थिति देखिएको छ । काठमाण्डौमा सम्पन्न ११ महाधिवेशन मार्फत कोशी प्रदेशले अध्यक्षमा केपी शर्मा ओली सहित ४ जना पदाधिकारी पाएको हो । अध्यक्ष ओली भन्दा इतर ईश्वर पोखरेल प्यानलबाट उपमहासचिवमा ताप्लेजुङका योगेश भट्टराई निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की र मोरङका भानुभक्त ढकाल निर्वाचित भएका हुन् । केन्द्रीय सदस्यमा पनि कोशीको उपस्थिति प्रभावशाली देखिएको छ । मोरङ जिल्ला उपसचिवमा पराजित शिल्पा निराला कार्की केन्द्रीय सदस्य बनिन् ।
त्यस्तै विराटनगरका कृष्ण बस्नेत (पर्शुराम) र जीवन घिमिरे समेत विजयी भए भने सुनसरीकी भगवती चौधरी दोस्रो पटक केन्द्रीय सदस्य बनिन् । सङ्खुवासभाका तुलसी न्यौपाने, झापाका दीपक कार्की, मेनुका काफ्ले, चिन्तन पाठक, मिना पोखरेल उप्रेती केन्द्रीय सदस्य निर्वाचित बनेका छन् ।
धरान उपमहानगरपालिकाकी पूर्व उपमेयर मञ्जु भण्डारी समेत दोस्रो पटक केन्द्रीय सदस्य बनिन् । कुनै पनि टिममा नपरेका सुहाङ नेम्वाङ सम्मानजनक मतका साथ विजयी भए । कोशी प्रदेशकै सुनिता बराल, आइन्द्र सुन्दर नेम्वाङ, देवेन्द्र दाहाल, अग्नि प्रसाद खरेल, इन्द्र प्रसाद भण्डारी, अच्युत प्रसाद मैनाली, ऋषीकेश पोखरेल, होम थापा, जगदीश कुसियैत, मानवीर राई, रोमनाथ ओली, क्षितिज थेबे, विशाल भट्टराई र रामबहादुर राना समेत निर्वाचित भएका छन् ।
यता कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी भने पराजित भए । उपाध्यक्षमा मनोनयन दर्ता गराएका पूर्व सचिव तथा एमालेका प्रभावशाली नेता भीम आचार्य केन्द्रीय सदस्यमा समेत विजयी हुन सकेनन् । कुनै पनि टिममा नपरेका भण्डारी र आचार्य पार्टी भित्र पद विहीन भएका छन् । आचार्य पत्नी समेत रहेकी निरादेवी खनाल (आचार्य) समेत पराजित बनिन् । सुनसरीकै तैयव हुसेन मिया समेत पराजित भएका उनले जम्मा ५२५ मत प्राप्त गरे ।
केन्द्रीय सदस्यमा ८२९ मत पाएका भीम आचार्यले उपाध्यक्षमा भने जम्मा २६५ मत पाए । केन्द्रीय सदस्यमै भण्डारीले ६२९ मत प्राप्त गर्दा निरादेवी खनाल (आचार्य) ले ७८७ मत प्राप्त गरिन् । गौतमले भने सम्मानजनक ११७२ पाइन् । गौतमले जस्तै खुल्ला महिनामा उम्मेदवारी दिएका अन्य विजयी केन्द्रीय सदस्यले १७ सय बढी मत पाएका छन् ।
इटहरी उपमहानगरपालिकाकी पूर्व उपमेयर गौतमले ओलीको टिममा पर्ने मेहनत गरे पनि उनको नाम ईश्वर पोखरेलेको प्यानलमा समावेश भयो । पछि ईश्वर पोखरेलको टिममा आफू नरहेको बताउँदै ओलीको पक्षमा भोट मागिन् । ओली टिमका प्रभावशाली नेताहरूले विश्वास नगरेपछि टिमबाट बाहिरिएकी उनी अहिले टिम विहीन भएकी छन् ।
यसअघि महाधिवेशन प्रतिनिधिको निर्वाचनमा समेत सुनसरी क्षेत्र नम्बर २ र ३ मा धाँधली भएको कार्यकर्ताको आरोप छ । एउटै बुथबाट प्राप्त मत केही नेतालाई शतप्रतिशत प्राप्त भएको र सबै मत सदर भएको घटनाले धाँधली भएको पुष्ट हुने कार्यकर्ताहरू दाबी गर्छन् ।