इटहरी : इटहरी उपमहानगरपालिका-१३ स्थित अरिहन्त अटो कार्गेसन उद्योगबाट निस्कने पिरो धुवा र रसायन युक्त गन्धको कारण ३ सय परिवार पीडित छन् । मानव अधिकार आयोग देखी उपमहानगरपालिकासम्मलाई गुहार्दा समेत आफ्नो समस्या समाधान नभएको भन्दै स्थानीय आक्रोशित बनेको छन् ।

सोही क्रममा केही दिन अगाडी स्थानीयले उद्योग घेराउ गरेर विरोध जनाए । यसै गरी धेरै पटक उद्योग घेराउ तथा उपमहानगरपालिकामा डेलिगेसन जाँदा समेत समस्या समाधान नभएको भन्दै स्थानीय चिन्तित छन् ।
स्थानीयहरू पिरो धुवा र सास फेर्न नसक्ने गरी आउन गन्धको कारण आजित भएका छन् । उता जनस्वास्थ्य विज्ञ नवीन लामिछाने मानव बस्ती आसपास खोलिएको उद्योगले फोहोर मैला व्यवस्थापन गर्न नसक्ने हो भने समस्या बढ्दै जाने बताउँछन् ।

Aarihanta Kargesan

बालबालिका देखी वृद्धवृद्धा सम्मलाई असर गर्ने घातक रसायन उत्सर्जन गर्ने उद्योगको कारण मानव शरीरको मुटु देखी मस्तिष्क सम्म असर गर्ने उनको भनाइ छ । गर्भवती महिलामा यस्ता रसायनको प्रवेश हुँदा पछि जन्मने बच्चा कम वजनको हुने देखी सुस्त मनस्थितिको हुने सम्भावना धेरै हुने उनले बताए ।

श्वासप्रश्वास रोग विशेषज्ञ डाक्टर तीर्थराज मिश्रका अनुसार हावामा बहने घातक रसायनको मुख्य असर श्वासप्रश्वासमै बढी हुन्छ । ‘सुरुमा खोकी लाग्ने, बान्ता हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखा पर्छन् ।,’ उनले भने, ‘पछि दीर्घकालीन दमको समस्या, सुस्त मनस्थिति, फोक्सो, घाटी, तथा मुटुको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।’ श्वासप्रश्वासका धेरै समस्याहरू औषधिको सेवनबाट ठिक गर्न सकिने भए पनि निरन्तर रासायनिक हावाको सम्पर्क बाट जटिल स्वास्थ्य समस्या देखिने उनको भनाइ छ ।

वातावरण विज्ञ काजीराम कार्कीका अनुसार यस्ता घातक रसायनले मानव स्वास्थ्यमा मात्र नभई पर्यावरणमा समेत गम्भीर समस्या सृजना गर्ने बताए । ‘ओजन तहको विनाश गर्ने देखी देखी ससाना जीवजन्तु नाश गर्ने, माटोको उर्वराशक्ति ह्रास गरी अम्लीय पदार्थको वद्धी गर्ने, र सो क्षेत्रमा उत्पादित झार वा घाँस खाएका घरपालुवा जनावरमा पनि समस्या देखिन्छ ।,’ उनले भने, ‘यस विषयमा सम्बन्धित उद्योगले सावधानी अपनाउनु नै उत्तम विकल्प हो ।’

सामान्यतया उद्योग धन्दा सुरु गर्दा विस्तृत वातावरण मूल्याङ्कन प्रतिवेदन तयार पार्नुपर्ने हुन्छ । औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ७ मा वातावरणीय प्रभाव मूल्याङ्कन वा प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने उल्लेख गरिएको छ । वातावरण मूल्याङ्कनका आधारमा मात्र उद्योग सञ्चालन गर्न पाइने उल्लेख छ । स्थानीय सरोकारवाला निकाय सँगको समन्वयमा मात्र ठुला उद्योग सञ्चालन गर्नुपर्न हुन्छ । तर सो उद्योगले प्रतिवेदन तयार नै नपारी आफ्नो उत्पादन र प्रशोधनको काम अगाडी बढाएको छ ।

यस्तो छ कानुनी व्यवस्था

वातावरण संरक्षण ऐन २०७६ को दफा १५ (१) मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै सवारी साधन, यन्त्र, उपकरण, औद्योगिक प्रतिष्ठान, होटेल, रेस्टुरेन्ट वा अन्य स्थान वा मालबस्तु वा कुनै पनि क्रियाकलापबाट हुने प्रदूषण वा जोखिमपूर्ण पदार्थ निष्कासन वा उत्सर्जनबाट हुने असर न्यूनीकरण वा निराकरण गर्नको लागि आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेछ भनी उल्लेख गरिएको छ ।

त्यस्तै उपदफा २ मा ‘कसैले पनि जनजीवन, जनस्वास्थ्य एवं वातावरण उल्लेखनीय प्रतिकुल प्रभाव पार्ने गरी प्रदूषण गर्ने वा उपदफा १ बमोजिम नेपाल सरकारले निर्धारण गरेको मापदण्ड विपरीतको कुनै कार्य गर्न वा गराउन हुँदैन,’ भनिएको छ ।

त्यस्तै वातावरण संरक्षण नियमावली २०७७ को दफा १४ को उपदफा ३ मा कुनै पनि व्यक्ति संस्था वा उद्योगले ऐन वा यस नियमावलीमा तोकिएको सर्त वा मापदण्ड विपरीत फोहोर मैला निष्कासन नगर्ने सूचना वा निर्देशन गर्दा समेत फोहोर मैला निष्कासन गरेको कारणले जनस्वास्थ्य तथा वातावरण प्रतिकुल प्रभाव पर्न गएमा सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहले आफ्नै खर्चमा त्यस्तो फोहोरमैला हटाई सो फोहोर हटाउँदा लागेको खर्चमा पचास प्रतिशत रकम थप गरी त्यस्तो फोहोर मैला निष्कासन गर्ने व्यक्ति, संस्था वा उद्योगसँग प्रचलित कानुन बमोजिम असुल उपर गर्नु पर्नेछ ।

इटहरी उपमहानगरपालिकाको प्रदूषण रोकथाम तथा नियन्त्रण नियमावली २०७५ को दफा ७ मा प्रदूषण गर्ने वा फोहोर मैला निष्कासन गर्ने उपर उजुरी गर्न सक्ने व्यवस्था गरेको छ । जसमा सम्बन्धित उद्योगले प्रदूषण नियन्त्रण नगरेमा प्रभावित व्यक्ति वा संस्थाले उपमहानगरपालिकामा उजुरी दिन सक्ने उल्लेख गरिएको छ ।

तर स्थानीय सृजना अधिकारीका अनुसार धेरै पटक उजुरी दिँदा समेत सुनुवाइ भएको छैन । एक वर्षमा ५ पटक भन्दा पढी उजुरी दिँदा समेत माग सुनुवाइ नभएको उनले बताइन् ।