धरान : धरानका सम्भवतः प्रत्येक दोस्रो घर कुनै न कुनै रूपमा सहकारी पीडित छन् । सहकारीको बदनामीले धरान राम्रै सञ्चालन भइरहेका सहकारी समस्यामा छन् ।
सहकारी समस्या, सहकारी सम्बन्धी विवाद र पीडितहरूका मुद्दाका सवाल, राजनीतिक प्रतिबद्धताबारे छलफल गर्न बुधवार आयोजित ककस कार्यक्रममा हर्क साम्पाङ र सरिन तामाङ उपस्थित भएनन् ।
नयाँ पार्टी दाबी गर्ने सामाजिक सञ्जालमा भाइरल हुने दुवै उम्मेदवार जनताका समस्यामा प्रत्यक्ष छलफल गर्न भौतिक रूपमा उपस्थित नसकेको रूपमा आयोजकहरूले लिएका छन् ।
आयोजक समितिले दुवै उम्मेदवारलाई औपचारिक रूपमा निमन्त्रणा गरिए पनि अनुपस्थित रहनु राजनीतिक जबाफदेहिताको दृष्टिले गम्भीर विषय भएको प्रतिक्रिया दिएको छ ।
साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्ष सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । उनले नगर प्रमुखको चुनावमा बराह सहकारी पीडितहरूको समस्या समाधान गर्छु भनी कडा भाषण गर्दै हिँडेका थिए ।
प्रमुख भएपछि साम्पाङले बराहका पीडितहरूलाई मलाई सोधेर राखेको थियौ ? भनी गुनासो सुनाउन आएका पीडितहरूलाई उल्टै प्रहरी लगाएर इलाका प्रहरी कार्यालय पठाएका थिए ।
रास्वपाकी उम्मेदवार सरिनका सभापति रबी लामिछाने सहकारी सम्बन्धी कसुरमा अदालतमा विचाराधीन रहेको छ । पट्क पटक धरौटी तिर्दै हिँडेकाले समेत सरिन सहकारीको ककस कार्यक्रममा रविबारे प्रश्न आउन सक्ने भएकाले अनुपस्थित भएको आशङ्का आयोजकले गरेको छ ।
सहकारी समस्या सहकारी सम्बन्धी विवाद र पीडितहरूका मुद्दाका सवाल, राजनीतिक प्रतिबद्धताबारे छलफलका लागि गरिएको ककसमा उनीहरू उपस्थित भएर आफ्ना कुरा राख्न नसक्नु उम्मेदवारद्धयको कमजोरी भएको बताइएको छ ।
कार्यक्रम सुनसरी जिल्ला सहकारी समन्वय समितिको नगर समितिद्वारा आयोजना गरिएको हो । धरान १५ स्थित धरान किचनमा आयोजित ककसमा सहभागी अन्य उम्मेदवारहरूले सहकारी समस्या सम्बन्धित आफ्ना प्रतिबद्धता खुलेर राखेको थिए ।
नेपाली काँग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले सहकारीको विषयमा प्रतिबद्ध रहेको जानकारी दिँदै ७ बुद्धे प्रतिवद्व्ता समेत जनाए । उनले उम्मेदवार तथा जनप्रतिनिधिहरूको सहकारीका मुद्दा केवल चुनावी नारामा सीमित हुनु नहुने र व्यवहारिक प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए ।
नेकपा एमालेका उम्मेदवार टिकाराम लिम्बुले आफू सदैव सहकारीको पक्षमा रहेको बताए । नेकपाका उम्मेदवार मनोज भट्टराईले सहकारी क्षेत्रमा १५–१७ वर्षको अनुभव रहेको बताउँदै उनी ज्योति पुञ्ज सहकारीका संस्थापक अध्यक्ष रहेको बताए । उनले सहकारी सुधारका लागि ७ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै, सहकारी संस्थामा आफ्नै परिवारका सदस्यलाई अध्यक्ष, म्यानेजर र क्यासियर बनाएर चलाउने मोनो पोली एकाधिकार प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए ।
भट्टराईले चुनावको बेला पैसा उठाएर मान्छे परिचालन गर्ने र जितेपछि बेवास्ता गर्ने राजनीतिक प्रवृत्तिको पनि आलोचना गरे।
कार्यक्रममा सुनसरी १ का २६ जना उम्मेदवार मध्ये ८ जना मात्र उपस्थित थिए । उपस्थित उम्मेदवारहरूमा नेपाली काँग्रेसका उम्मेदवार सुजेन्द्र तामाङ, नेकपा एमालेका उम्मेदवार टिका लिम्बु,नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज भट्टराई छन् ।
साथै नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठ, जनता समाजवादी पार्टी सञ्जय राई, राप्रपाबाट उद्धव श्रेष्ठ,उज्यालो पार्टीबाट डम्बर लावती जेन्टल, स्वतन्त्र उम्मेदवार देउमान लिम्बुको उपस्थित थिए ।