धरान : धरान १३ फुस्रे बजारको ऐतिहासिकता झल्काउने मूर्तिहरू शुक्रवार फुस्रे चौकमा राखिएको छ ।

धरान नगरको गौरबको आयोजना अन्तर्गत १५ लाख लागतमा निर्मित ५ वटा मूर्तिहरू शुक्रवार फुस्रे चौकमा राखिएको छ । पुस ७ गते अनावरण गर्ने तयारीका साथ फुस्रे बजारको ऐतिहासिकता झल्काउने खालका पाँचवटा मूर्तिहरू चौकमा राख्ने कार्य भएको १३ नम्वर वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए ।

पाँच मूर्तिहरूमा तत्कालीन फुस्रे बजार झल्काउने खालका छन् । कोशी पहाडी क्षेत्रमा सवारी साधन नपुग्दा धरानको फुस्रे बजार व्यापारिक केन्द्र बनेको थियो ।

त्यो बेला पहाडबाट भारी बोकेर पहाडमा उत्पादन भएका सामाग्री बिक्री गर्न र फुस्रेबाट दैनिक उपभोग्य सामाग्रीहरू लाने गरिन्थ्यो । त्यो बेलाको अवस्थालाई मूर्ति मार्फत झल्काइएको छ ।

बनेका मूर्तिहरूमा भरिया, व्यापारी, साहु र हिमाली झल्को दिने सेर्पा महिला र तराइबासी व्यापारीको मूर्ति बनाइएको छ ।

एक समय चर्चित बनेको फुस्रे बजार धरान धनकुटा सडक जिरोप्वाईन्टबाट लगिएपछि सुनसान बनेको थियो । फुस्रे बजारको साख अनावरण गर्न लागिएका मूर्तिहरूले फर्काउने ऐतिहासिक फुस्रे बजार सौन्दर्यीकरण उपभोक्ता समितिका अध्यक्ष गौतम श्रेष्ठले बताए ।

फुस्रे बजारको गिरेको साख फर्काउन फुस्रे चौकमा सर्दु जलाधारको मोडल धमाधम तयार गरिँदै छ । फुस्रेमा राखिएका मूर्तिहरूको अनावरण गर्ने दिन सम्ममा यो पनि तयारी हुने मूर्तिकार धिरज राईले बताए ।

Fushre-1 Fushre-3 Fushre-2