दिनभरि कामको थकान
रातमा राम्ररी मेट्न नपाउँदै
बिहानै उठेर
यही काम गर्नेबारे सोच्दछु !
मेरो सामुन्नेका मिसिलको चाङहरू
हत्या, बलात्कार, अपहरण जस्ता
जघन्य जघन्य घटनाहरूले
रातका सबै सपनाहरू ब्युँताउने
निस्पट्ट अँध्यारो-अँध्यारो रातजस्तै
सोच्छु, सोच्दछु र सोचिरहन्छु !
कति हुन्छन् हत्या अनि बलात्कारहरु ?
किन घट्छ यस्ता जघन्य अपराधहरू ?
मानिसको सोच कहिले बदलिन्छ ?
यस्तै यस्तै प्रश्नले निरन्तर निरन्तर
पोलिरहन्छ छातीको कुनाहरू ।

कास मेरो पनि
सपनाहरूले मधुमास मान्न पाए
जून तारा, ग्रहहरू र गोधूलिहरूमा
नतमस्तक भएर रमाउन पाए
दिनभरि, दिलभरि घायल भएको
शिथिल मनहरू
दिवास्वप्न
हरेक घुम्ती अनि मोडहरूमा
चङ्गा उडे जस्तै गरेर
खुल्ला आकाशमा
म पनि त उड्ने थिए होला
तर यहाँ म मजबुर राष्ट्रभक्त सिपाही
कुनै कमजोर मजदुर झैँ
दिन भरी व्यस्त जिन्दगीसँग
तिनै हत्या र बलात्कारको मिसिल
यिनै शङ्कित व्यक्तिको बयान
तिनै पीडितहरूको चित्कार
कानबाट मस्तिष्क हुँदै
अनन्त मनसम्म गएर रोकिन्छ
सोच्छु आखिर के को लागी
आखिर कस्को लागि हुन्छ यो सब !
अँगालोमा रहँदा चमत्कार ठान्नेहरूले
स्वार्थमा जोडिएर बलात्कार भन्दै हिड्छन
यहाँ नारीको शत्रु नारी नै छन्
नारीको चित्रण यसै गरी भएको छ
समाजमा उत्पात मच्चाउने पुरुषहरूले
बसमा यात्रामा निस्किएकी दिदीबहिनी
जङ्गलमा घाँस दाउरा गर्न गएको महिला
स्कुल पढ्नको लागि गएकी छात्रा
दिनानुदिन बलात्कारको सिकार हुन्छन्
आखिर कहिलेसम्म बलात्कृत भई रहने ?
नारी हौ भनेर स्वतन्त्र कहिले हुने ?
यी र यस्तै घटनाको दोषी पुरुषहरू
आखिर बलात्कार गर्नु तिम्रो पुरुषार्थ हो र ?
तिम्रो मर्दाङ्गीमा दम छ भने
जाऊँ लिम्पियाधुरा लिपुलेक र कालापानी
लड देशको सीमा रक्षाको लागि
तर नरपिचास भएर
आफ्नै छोरी, भतिजी, दिदीबहिनीको
स्तन निमोठ्न पुग्छौ !

म न्यायको खातिर
तिनै नावालिका चेलीको चित्कार
मिसिलको हरफ हरफमा उतारेर
दफा-दफमा कोरेर दिन व्यतीत गर्छु
म चाहन्छु हाम्रो न्यायपालिकाबाट
यस्ता नरपिचासलाई मृत्युदण्ड होस
हाम्रो समाजमा पनि नारीहरूले
खुल्ला रूपमा निर्धक्क हिँड्न सकुन्
म त्यही समाजको परिकल्पना गर्दा गर्दै
मध्य रातमा निदाउने कोसिस गर्छु
अनि सपनामा देख्छु
न्यायको खातिर कहिलेसम्म
न्यायालयको ढोका ढकढक पार्नु पर्ने ?
न्यायालयको कर्तव्य हैन र पीडितलाई न्याय दिने ?
यस्तै यस्तै सपनासँगै छर्लङ्ग रात बित्छ
बिहान फेरी उठ्छु दैनिकी उही छ
अनि फेरी सोच्छु
कुनै दिन मेरो समाज पनि
अपराध विहीन होस
हामीले सोचेको संसार
सबैले दाजुभाइ दिदीबहिनी
भातृत्वको भावना बनाएर
मिलीजुली बस्न सकौँ
अनि त पुरा हुनेछ हाम्रो सपना !

प्रेम श्रेष्ठ 'विवश'
खोटाङ, हाल धरान सुनसरी