विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले बुधवारबाट सुरु हुने प्रदेशसभा बैठकमा दलको नेताको हैसियतमा मुख्यमन्त्री शेरधन राईलाई बोल्न नदिने निर्णय गरेको छ ।

मङ्गलवार होटल एसियाटिकमा बसेको प्रचण्ड-माधव समूहको संसदीय दलको बैठकले दलको नेताको हैसियतमा बोल्न नदिने निर्णय गरेको हो ।

‘बहुमत सदस्यले मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएका कारण दलको नेताको हैसियतमा बोल्न पाउनुहुन्न । प्रचण्ड-माधव समूहका नेता इन्द्रबहादुर आङ्बोले भने ‘बोल्न खोजे हामी प्रतिवाद गर्छौ।’

अविश्वासको प्रस्ताव दर्ता भएपछि बहुमत सदस्यले निर्णय गरेको बताउँदै उनले दलको नेताको हैसियतमा भीम आचार्यले बोल्न पाउनुपर्ने बताए ।

मङ्गलवार बसेको बैठकले मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको प्रस्तावलाई पास गराउन सबै प्रतिपक्षी दलसँग सहकार्यका लागि छलफल अगाडी बढाउने निर्णय गरेको उनले बताए । ‘संसद् विघटन विरुद्ध रहेका दलहरूसँग सहकार्य गरेर अघि बढ्ने निर्णय भएको छ,’ उनले भने ।

निलम्बनमा परेका सदस्यलाई संसदीय गतिविधिमा सहभागी हुन नदिने ओली समूहले बताउँदै आएको छ। आफ्ना सांसदलाई अवरोध गर्न खोजिए सङ्गठित रूपमा प्रतिवाद गर्ने उनले बताए ।