वराहक्षेत्र : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपालमा हिन्दु राष्ट्र स्थापना गराएरै छाड्ने उद्घोष गरेका छन् । नेपाल हिन्दु राष्ट्र नै हो र यसलाई संविधानमा समेत स्थापित गराउन राष्ट्रिय प्रजातन्त्र पार्टी लागि परेको उनले बताए ।
वराहक्षेत्र नगरपालिका वडा नं १ प्राचीन हरिद्वार चतराधाममा जारी एक महिने बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा शुक्रवार आउनु भएका राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक समेत रहेका शाहीले हिन्दु राष्ट्र स्थापना गराउन चाहने नागरिकले मात्र आफ्नो दललाई भोट लगाउन अनुरोध गरे । उन्नले नेपाललाई हिन्दु राष्ट्रको रूपमा पुनर्स्थापित गराउने महाअभियानमा लागि परेको बताउँदै सबैलाई उक्त अभियानमा जोडिन आग्रह समेत गरे ।
उनलाई बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला समारोह समितिले नागरिक अभिनन्दन समेत गरेको छ । उनलाई नेपाल राष्ट्रका प्रथम जगदगुरु एवम् कुम्भ मेलामा सर्जक वालसन्त मोहन शरण देवाचार्यले नागरिक अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए । शाहीले कोकाह कौशिकीमा धर्म सन्न, महन्तसँगै कुम्भ स्नान समेत गरेका थिए ।
शुक्रवार बिहानै पूर्व मन्त्री नेपाली काँग्रेसका प्रभावशाली नेता बलबहादुर केसी, धनगढी उप-महानगरपालिकाका प्रमुख गोपाल हमाल सहभागी भएका थिए । उनलाई पनि नेपाल राष्ट्रका प्रथम जगदगुरु, कुम्भ मेलाका सर्जक वालसन्त मोहन शरणले सम्मान पत्रले अभिनन्दन गरेका थिए ।
कुम्भ मेलाको उद्घाटन चैत २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए । १८ दिनदेखि जारी कुम्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन, सङ्घीय सरकारकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्की, पूर्व गृह मन्त्री कृष्ण सिटौला, पूर्व शिक्षा मन्त्री अर्जुन नर्सिङ केसी, पूर्व अर्थमन्त्री प्रकाश शरण महत, पूर्व वन मन्त्री शङ्कर भण्डारी, नेपाल र भारतका राजनैतिक दलका नेताहरू, सुरक्षा निकायका प्रमुख, पूर्व प्रधानन्यायाधीश, मन्त्रालयका सचिव, प्रदेश प्रमुख, सङ्घीय सांसद, प्रदेश सरकारका मन्त्री, प्रदेश सांसद, कलाकार लगायत का देश विदेशमा शन्त, महन्तहरूको उपस्थिति रहँदै आएको छ । भोली शनिवार बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको सहभागिता रहने बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला समितिले जानकारी दिएको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
                 
                 
                 
         
        
















 
         
        

















































 
         
         
        