धरान : प्रतिनिधि सभाको असंवैधानिक विघटनको विरोधमा सोमवार सङ्घीय राजधानी काठमान्डुमा भएको नागरिक अगुवाहरूको शान्तिपूर्ण विरोध प्रदर्शन माथि बर्बरतापूर्ण दमन घोर आपत्तिजनक, निन्दनीय एवं कायरतापूर्ण कदम भन्दै मङ्गलवार धरानमा नागरिक समाजले विरोध प्रदर्शन गरेको छ ।

नागरिक हकका लागि नागरिक अभियान, धरान द्वारा आयोजित नागरिक अगुवाहरूको प्रदर्शनमा सहभागीहरूले नागरिक माथिको दमन बन्द गर, तानाशाही शैली बन्द गर, मौलिक हक सुरक्षा गर लगायत नारा लेखिएका पोस्टर छातीमा टाँसेका थिए ।

धरान-१२ छाताचौकमा भेला भएका नागरिक अगुवाहरूको मौन जुलुस बजारमा प्रदर्शन गर्दै धरान-२ भानुचौकमा पुगेर पाँच मिनेट उभिएर धर्नामा परिणत भएको थियो ।

भानुभक्तको सालिक वरिपरि उभिएर दिएको धर्नाका बिच संयोजक प्रा.डा.राजेन्द्र शर्माले अभियानको विज्ञप्ति जारी गरे । विज्ञप्तिमा भनिएको छ ‘संसद् विघटन गर्ने असंवैधानिक कदम विरुद्ध नागरिकहरूका आवाज सङ्गठित हुन थालेपछि अत्तालिएको सरकार बर्बर दमनमा उत्रिएको छ ।’ नागरिक अगुवाहरूको शान्तिपूर्ण विरोध प्रदर्शन माथि भएको बर्बरतापूर्ण दमन घोर आपत्तिजनक, निन्दनीय एवं कायरतापूर्ण कदम भएको ठहर गर्दै नागरिक अभियान धरान उक्त कदमको घोर भर्त्सना गर्दछ, भनिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली माथि निर्वाचित जनप्रतिनिधि नै तानाशाह बन्ने सपना देख्न थालेको आरोप लगाउँदै विज्ञप्तिमा देशी विदेशी अवाञ्छित शक्तिहरुसंगको साँठगाँठमा संलग्न भएको आशङ्का नेपाली जनमानसले गरिरहेको बेला सरकार दमनमा उत्रनुले त्यो आशङ्कालाई थप बल मिलेको उल्लेख गरिएको छ । भनिएको छ ‘बलिदानी सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक संविधान माथिको दुर्भाग्यवश कुर्सीको मैमत्ता र दम्भले अकल्पनीय बलात्कार गरिएको छ ।’

विज्ञप्तिमा सर्वोच्च अदालतमा विचाराधीन संसद् विघटन सम्बन्धी मुद्दाको न्यायिक तथा संवैधानिक निरूपण नभए सम्म सरकार एवं राजनीतिक दललाई अदालत प्रभावित नगर्न आग्रह गरिएको छ । तथापि शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनु संविधान प्रदत्त मौलिक हक भएकाले नागरिकका मौलिक हक हनन नगर्न विज्ञप्ति मार्फत सरकारलाई सचेत गराइएको छ ।