धरान : नोबेल मेडिकल कलेजका डाक्टरलाई कुटपिट गरेको आरोपमा तरुण दल मोरङका कोषाध्यक्ष अनिल रिजाल पक्राउ परेका छन् ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजका नाक, कान घाँटी रोग विशेषज्ञ डा.मिनाक्षी बस्नेतलाई कुटपिट गरेको आरोपमा रिजाल पक्राउ परेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

पीडित बस्नेतले दिएको जाहेरीको आधारमा प्रहरीले रिजाललाई पक्राउ गरेको जनाएको छ । मोरङको सुन्दरहरैचा नगरपालिकाको गछिया घर भएका ४३ वर्षीय रिजाल विराटनगर बस्दै आएका छन् । चिकित्सक बस्नेत बस्ने कोठामा गएर नेता रिजालले कुटपिट गरेको आरोप छ ।

उनीहरू मिल्ने साथी हुन् । सामान्य लेनदेनको विषयमा वादविवाद भई झगडा हुँदा रिजालले डाक्टरलाई कुटपिट गरेको प्रहरीको भनाई छ ।

उनले केही दिन अगाडी डाक्टरलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोप छ । नेता रिजालको कुटाइबाट डाक्टर बस्नेतको शरीरको विभिन्न भागमा चोटपटक लागेको छ । उनको उनको उपचार नोबेल मेडिकल कलेजमा भइरहेको छ ।

पक्राउ परेका रिजाललाई मोरङ प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार ‘अभद्र व्यवहारको’ मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको एसपी खड्काले बताए ।