धरान : धरान १३ मा रहेको कृषि उपज बजार स्थलमा भर्खरै देखि सञ्चालनमा आएको शीत गृहको बुधवार विधिवतरुपमा उद्घाटन भएको छ । 

शीत गृहको प्रदेश १ का कृषि राज्य मन्त्री रामबहादुर मगरले एक समारोहका बिच रिबन काटेर उद्घाटन गरेका थिए । शीत गृहको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री मगरले धरान कृषि जन्य बस्तुका लागि एउटा महत्वपुर्ण बजार रहेको भन्दै यो धरानमा निर्माण भएको यो शितगृहले कृर्षकलाई ठुलो राहत दिने बताए । उनले आगामी दिनमा पनि कृषि बजारसँग प्रदेश सरकारले सहकार्य गरेर काम गर्ने पनि बताए । 

यसै गरी कृषि मन्त्रालयका सचिव निरु दाहालले धरानको कृषि उपज बजार स्थलमा विषादी परीक्षण गर्ने ल्याब स्थापना गर्ने बारेमा कुरा उठेको भए पनि यस पटक कोभिडको कारण बजेट अपुग भएको र चाडै यो ल्याब पनि धरानमा बन्ने बताइन् ।

कार्यक्रममा धरानका मेयर तिलक राईले कृषि ग्रामीण सडकले धरान सम्म ग्रामीण क्षेत्रका कृषि उपजहरू सहजै आउन थालेको बताउँदै यो शीत गृहले कृर्षकलाई ठुलो राहत दिने बताए । पछिल्लो समय कृषि उपजकै कारण धरानको साख बढ्दै गइरहेको यसमा महत्वपुर्ण भूमिका धरानमा रहेको कृषि उपज बजार स्थलको कारण पनि भएको मेयर राईले बताए । 

कार्यक्रममा नमुना कृर्षक कृष्ण राई, व्यापारी शैलेन्द्र चौधरी लगायतले आ आफ्नो विचार राखेको थिए भने कार्यक्रमको सभापति परशुराम कटुवालले गरेका थिए भने कार्यक्रमको सञ्चालन कृषि उपज बजार स्थल धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले गरेका थिए । 

सो शितगृह प्रदेश सरकारको ५० लाख र कृषि उपज बजार स्थलको २५ लाख लागतमा निर्माण भएको हो । शीत गृहमा २५ टन क्षमताको ३ वटा च्याम्वर रहेका छन् । विषेशगरी फलफूल, हरियो तरकारी र अरू तरकारी जन्य बस्तुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो ।