इटहरी : सामान्य ह्विलचियरमार्फत मेची काली यात्रामा निस्किएका मेरुदण्ड पक्षाघात भएका सिन्धुपाल्चोकका राम बहादुर तामाङलाई इटहरीमा स्वागत गरिएको छ ।

इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरीले स्वागत गरेका हुन् । अपाङ्गता भएका व्यक्तिहरूले स्वतन्त्र,स्वाभिमानी र स्वावलम्बी जीवन जिउन पाउनुपर्ने अधिकारको बारेमा चेतना फैलाउन राम बहादुर तामाङ ह्विलचियर मार्फत मेची काली यात्रामा निस्किएका हुन् ।

उनले सामान्य ह्विलचियरमार्फत लामो यात्राको विश्व रेकर्ड राख्न समेत आफूले यो यात्रा सुरु गरेको बताए । तामाङले यसअघि नमोवुद्ध देखि लुम्बिनी सम्म ३६६ किलोमिटर र लुम्बिनी देखि वोधगया सम्म ५५३ किलोमिटर ह्विलचियर यात्रा गरिसकेका छन् ।

उनलाई मान बहादुर तामाङले साइकल मार्फत साथ दिएका छन् । इटहरीका नगरप्रमुख चौधरीले उहाहरुको अभियान सफलताको कामना गरेका छन् । उनीहरूले काँकडभिट्टा वाट गत शनिवार यात्रा सुरु गरेका हुन् ।