धरान : नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजको दोस्रो प्रदेश १ भेला सुनसरीको रामधुनी स्थित रास तालमा शुक्रवार देखि सुरु भएको छ ।

प्रदेश नं. १ का विभिन्न जिल्लाका आदिवासी जनजाति पत्रकारहरूको सहभागिता रहेको सो भेलाको उद्घाटन नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले गरेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै विभिन्न पत्रकारहरूको सङ्गठनका नेतृत्वहरुले अव आदिवासी जनजाति पत्रकार मैत्री नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घलाई बनाउनुपर्नेमा जोड दिएका थिए ।

आदिवासी जनजाति पत्रकारहरूको बृहत्तर विकास सँगै समावेशी महासङ्घ हुनुपर्ने अधिकांश बोल्ने जनजाति पत्रकार अगुवा बत्ताहरूले बताए ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, वरिष्ठ उपाध्यक्ष गजुरधन राई, सचिव कमान देवान, बरिष्ठ पत्रकार सन्जयसन्तोषी राई, स्थानिय विभिन्न संघसंस्थाका पदाधिकारीहरु,नेपाल पत्रकार महासङ्घ प्रदेश १ का महासचिव विवेक गौतम, प्रेस युनियनका लिलावल्भ घिमिरे, प्रेस सङ्गठनबाट लीलाराज भट्टराई लगायतले भेलाको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भेलाको उद्घाटन समारोहमा दुई जना पत्रकारलाई सम्मान तथा पुरस्कृत पनि गरिएको थियो । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय याम प्रधान स्मृति पत्रकारिता पुरस्कार बाट गोपाल देवान र विष्णु माया लालबहादुर राई स्मृति पत्रकारिता पुरस्कारबाट सुप्रीया राईलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

भेला शनिवार सम्म चल्ने र शुक्रवार साँझनै बन्द सत्र सुरु भएको छ । भेलाले आदिवासी जनजाति पत्रकार र आदिवासी जनजातिका मुद्दाको बारेमा विभिन्न निर्णयहरू गर्दै भेला सम्पन्न हुने बताइएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज सुनसरी जिल्ला शाखाको व्यवस्थापन, फोनिज प्रदेश १ को आयोजनामा भेला भइरहेको हो ।

FONIJ-1