नेपालका दैनिक १९ जनाले गर्छन् आत्महत्या विश्वमा आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषहरू बढी

  • भदौ २६, २०७८
  • ३८७ पटक पढिएको
  • गोपाल ढकाल, मनोविद्
alt

विश्वव्यापी रूपमा जटिल समस्या बन्दै गएको आत्महत्याको रोकथाम  तथा यसका बारेमा जनचेतना फैलाउने  उद्देश्यले प्रत्येक वर्ष १० सेप्टेम्बरका दिन विश्व आत्महत्या रोकथाम दिवस मनाउँदै आइएको छ। यस वर्ष  "Creating Hope through Action" अर्थात् "कार्यको माध्यमबाट आशा जगाऊ" भन्ने  नाराका साथ यो दिवस मनाइयो।

कोरोनाको महामारी तथा लामो लकडाउन र निशेधाज्ञाले  मानिसको  शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक स्वास्थ्यका साथै  धार्मिक , सांस्कृतिक, आर्थिक लगायतका सबै पाटोमा असर पुर्‍याएको छ। यसले सबै तह, तप्का, उमेर, वर्ग र समुदायका मानिसहरूलाई प्रभाव पारेको छ। कोरोनाको सङ्कटले मनोसामाजिक समस्या तथा विभिन्न किसिमका  मानसिक स्वास्थ्य समस्याहरू समेत बढेर गएका छन्।  
कोरोना महामारीले आत्महत्या गर्नेको सङ्ख्या बढ्यो १ आत्महत्याको अवस्था भयावह भन्ने खालका  समाचार हिजोआज प्रशस्त  सुन्नमा आउने गर्छन् ।

आत्महत्या  कोरोनाको महामारीले गर्दा मात्र भयावह भएको हो  पहिले यस्तो थिएन भन्ने बुझाई सरासर गलत हो ।  कोरोनाको सङ्कट  पछि आत्महत्याको जोखिम भने  बढेर  गएको छ ।

प्राकृतिक विपत्ति  तथा अन्य असहज र जोखिम पूर्ण अवस्थामा मानसिक स्वास्थ्य समस्या तथा आत्महत्याको दर बढेर जाने जोखिम हुन्छ ।

आत्महत्या ठुलो चुनौती बन्दै

नेपालमा आत्महत्या जनस्वास्थ्यको एउटा ठुलो समस्या र चुनौतीका रूपमा देखा पर्दै आएको छ। तथ्याङ्कले देखाए अनुसार  नेपालमा आत्महत्या गर्नेको दर प्रत्येक वर्ष ८/१० प्रतिशतले वृद्धि हुँदै गइरहेको देखिन्छ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार आ.व/ २०७५ /२०७६ मा ५,७५४ जनाले आत्महत्याबाट ज्यान गुमाएका थिए।  जुन सरदर दैनिक १६ जना पर्न आउँछ ।

आ.व.२०७६/२०७७ मा आत्महत्याबाट ज्यान गुमाउनेहरूको  सङ्ख्या ६२७९ रहेको थियो। जसमा  दैनिक १७ जनाले आत्महत्याबाट आफ्नो  ज्यान गुमाउने गरेको देखिन्छ। 

यस आ.व. २०७७/०७८ मा ७ हजार १४१ जना मानिसहरूले विभिन्न कारणले आत्महत्या गरी ज्यान गुमाएको  नेपाल प्रहरीको तथ्याङ्कमा देखिन्छ जुन  दैनिक औसत  १९ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । यो सङ्ख्या आ.व. ०७६/०७७ भन्दा १४ प्रतिशतले धरै हो।

विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्छ भने प्रत्येक ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गर्दछ। एक आत्महत्या हुँदा पच्चिस व्यक्तिले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् र धेरै व्यक्तिहरूले आत्महत्या गर्न गम्भीर रूपमा सोचेका हुन्छन्। 

प्रत्येक वर्ष विश्वमा  सरदर ८/१० लाख  व्यक्तिले आत्महत्याबाट आफ्नो ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाउँछ । यो सङ्ख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारी लगायतका कारणहरूबाट हुने मृत्यु भन्दा धेरै हो । विश्वमा महिलाको तुलनामा पुरुषहरूले बढी आत्महत्या गर्ने गर्छन् । तर आत्महत्याको प्रयास गर्नेमा भने पुरुष भन्दा महिलाहरू बढी हुन्छन्  ।

आत्महत्याको कारण

आत्महत्या गर्ने सोच र अवस्थामा पुग्नुमा धेरै कारणहरू हुन्छन् । धेरै जस्तो अवस्थामा आत्महत्या वा आत्महत्याको प्रयासलाई मानसिक रोगको एउटा लक्षणको रूपमा लिनुपर्दछ।

आत्महत्या गर्नुमा  ९०-९५ प्रतिशत कारण  मानसिक रोग नै भएको देखिएको छ। यसमा पनि डिप्रेसन नामक मनोरोग मुख्य मानिन्छ  ।  केही  व्यक्तिहरू भने  क्षणिक आवेगमा आएर पनि आत्महत्या गर्ने गर्दछन्।  यसका साथै अत्यधिक जाँड-रक्सी तथा लागूँ पदार्थको सेवन र कडा खालका मानसिक रोग हुँदा पनि व्यक्तिले आत्महत्या गर्न सक्ने जोखिम हुन्छ। आत्महत्या आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, सांस्कृतिक तथा अन्य जोखिमका तत्त्वहरूको संयुक्त प्रभावका कारण हुने गर्दछ ।

आत्महत्याको जोखिम

आत्महत्याको हिसाबले  केही  व्यक्तिहरू उच्च जोखिममा रहेका  हुन सक्छन् । जस्तो  डिप्रेसनमा भएका, कुनै दुखद घटनाले धेरै नै प्रभावित भएका, पटक पटक आत्महत्याको प्रयास गरेका, तनाव पूर्ण  पेसा वा व्यवसायमा लागेका, पारिवारिक झैँ-झगडा वा उल्झनमा फसेका, आर्थिक सङ्कटमा परेका , बेरोजगार  तथा लागू पदार्थको कुलतमा फसेकाहरू आत्महत्याको हिसाबले  जोखिममा परेका व्यक्तिहरू मानिन्छन् ।

मानसिक रोगको चेतनामा कमी

मानसिक रोग जोसुकैलाई लाग्न सक्दछ । मानसिक रोग र आत्महत्या गर्नुलाई हाम्रो समाजले फरक रूपमा लिन्छ। मानसिक रोगलाई पूर्व जन्मको पाप र अपराध ठान्छ । देवी देवता कुल देवता बिग्रेको भन्छ। आत्महत्या गर्नेलाई हाम्रो  समाजले पानी मरुवा, लाछीको उपमा दिन्छ। आत्महत्या गर्नेको अनुहार हेरियो भने अगति परिन्छ भन्ने गरेको पनि सुनिन्छ ।  आत्महत्या गर्नेको परिवारसँग   अरू व्यक्तिहरूको सम्बन्ध तथा आउजाउ कम हुने तथा पानी बाराबारसम्म गर्ने गरेको समेत सुनिन्छ।

आत्महत्या समस्याको समाधान होइन

संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहनेछ ।  यो सुन्दर संसारमा केही समयको लागि टुवाँलो लागेको  मात्र  हो । धैर्य गरियो भने एक दिन त्यो टुवालो अवश्य फाट्नेछ।  
जीवन रहे मात्र  फेरि संसार देख्न पाइन्छ । आफूले गरेका गल्तीहरू सच्याउन सकिन्छ ।  आफ्ना गल्तीहरू प्रायश्चित गर्न सकिन्छ । तर आफू नै नरहेपछि न संसार देख्न पाइन्छ न त आफूले गरेको  भुललाई सुधार्न वा प्रायश्चित गर्ने मौका नै पाइन्छ । आत्महत्या समस्याको समाधान हुँदै होइन ।

आत्महत्यालाई रोकथाम गर्न सकिन्छ

हरपल मरीमरी बाँच्नु भन्दा त एक पलमा मर्न, मन लाग्न सक्छ, त्यही पललाई केही बेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ” । समय र सोच सधैँ एउटै हुँदैन । दुःख र निराशाको पललाई धैर्य गरेर केही बेर पर्खने र सामना गर्ने हो भने त्यो पल  बितेर जान्छ । जीवन नै त्याग्ने आफ्नो  सोचमा पनि परिवर्तन आउँछ।  थोरै  धैर्यता र अरूको सानो साथ र सहयोगले जीवनमा नयाँ  आशा जगाउन सक्छ । कसैको सानो  सहयोग पनि  जीवन परिवर्तनका लागि पर्याप्त हुन सक्छ ।

आत्महत्या सहयोगका लागि चित्कार

आत्महत्याको प्रयास वास्तवमा सहयोगका लागि एक प्रकारको चित्कार  हो । कुनै कुनै अवस्थामा बाहेक  व्यक्तिले एकै पटक आत्महत्या गर्दैन । आत्महत्या गर्नु अगाडि व्यक्तिले  विभिन्न किसिमका लक्षण वा सङ्केतहरू देखाउने गर्दछ ।  असी प्रतिशत व्यक्तिले आत्महत्या गर्नु अगाडि कुनै न कुनै लक्षण देखाउने गरेको देखिन्छ । यस्तो अवस्थामा उसले  घरपरिवार, साथी सङ्गी वा विशेषज्ञको सहयोग पाएमा 
आत्महत्यालाई धेरै हदसम्म रोकथाम गर्न  सकिन्छ ।

'आशाको दियो जगाऊ'

प्रायः सबै मानिस दीर्घ जीवन चाहन्छन् । मर्नदेखि सबैलाई डर लाग्छ। “मर्ने कसैको रहर हुँदैन” तर  किन  कोही व्यक्तिहरू आत्महत्या गरेर आफ्नो जीवन आफै समाप्त पार्न खोज्छन् ?  आत्महत्या गर्ने अवस्थामा पुगेको व्यक्तिले आफ्नो जीवनका सबै ढोकाहरू बन्द भएर देख्छ । उ आफै देखि निराश भएको हुन्छ । उसले मर्नुदेखि बाहेक अरू कुनै पनि विकल्पहरू भेट्दैन । व्यक्ति रको यस्तो निराश मनमा हामीले  कुनै न कुनै कार्य र माध्यमबाट आशाको दियो  जगाउने काम  गर्न सके उसको  जीवन बचाउन सक्छौ ।

'आत्महत्याको समाचारमा संवेदनशील हौ'

आत्महत्या एकदमै संवेदनशील विषय हो। आत्महत्याको समाचारलाई अतिरञ्जित र सनसनी पूर्ण बनाउनु हुँदैन। जसले समाजमा झनै नकारात्मक असर पुर्‍याउँछ। डिप्रेसनमा गएका र आत्महत्याको सोच बनाएकाहरूलाई यसले आत्महत्या गर्ने हौसला बढाउँछ। बालबालिकाहरूले पनि त्यसको नक्कल गर्न सक्छन्। आत्महत्याको खतराको सूचक, जोखिम र सुरक्षाका तत्त्व, स्वहेरचाह आदिको जानकारी भएमा धेरैको जीवन बचाउन सकिन्छ । यसका लागि सबैको सहकार्यको जरुरत पर्दछ।

यहाँहरूमा पनि आत्महत्याको सोच, बिचार आइरहेको छ। आत्महत्या गर्ने योजना बनाई सक्नु भएको छ वा आत्महत्याको प्रयास समेत गरिसक्नु भएको छ भन्ने आजै मनोविज्ञको सहयोग लिनुहोस्। 

(लेखक ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन्)

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved