धरान : तीन वर्षमा सम्पन्न गर्ने गरी धरानको नगर गौरवको योजना ‘स्मार्ट बसपार्क’ निर्माण सुरु भएको छ ।

धरान-८ तीनकुने सुन्दर बस्ती विकास आयोजनाभित्र उक्त बसपार्क बन्ने गरी निर्माणका लागि टेन्डर आह्वान पछि ठेक्का नै लागेर यसै सातादेखि निर्माण कार्य सुरु भएको हो ।

अहिले सम्म साइट क्लियरेन्सको काम सुरु भएको छ। ठेकेदार कम्पनी धरानको ब्राइट बुल निर्माण सेवाले करिब ७ करोड रुपैयाँ लागतमा सडक ढल निर्माण सुरु गरेको छ ।

टर्मिनल भवन सहितको बसपार्क निर्माणका लागि करिब २३ करोड रुपैयाँ लागतमा गीताञ्जली बी कोई जेभीले आफ्नो काम सुरु गरेको छ । २५ करोड रुपैयाँ लागतभित्र रहेर पहिलो फेजमा दुई तले टर्मिनल भवन र सडक–नालाका लागि काम सुरु गरेको छ ।

धरानको बिचमा पर्ने भानुचोकमा रहेको बसपार्कले धान्न नसक्ने भएपछि तीनकुने सुन्दर बस्ती विकास आयोजनाभित्र आधुनिक बसपार्क निर्माण सुरु गर्ने योजना अघि सारिएको हो ।

बसपार्क सहितको बस्ती विकास आयोजना सुरु गर्ने भनेर २०५८ साल चैतमा तीनकुनेमा जर्मन संस्था जीटीजेटको प्राविधिक सहयोगमा काम थालिएको थियो । तर स्थानीय बासिन्दा, जग्गाधनीहरूलाई बुझाउन नसक्दा एकपछि अर्को गर्दै विवाद भएकाले आयोजनाको काम सुरु गर्न करिब दुई दशक ढिलो भएको हो ।

तत्कालीन नगरपालिकाले आयोजनाभित्र पर्ने १ सय ७ जनाको साढे १३ बिघा जग्गालाई एकीकृत गरेर आधुनिक बसपार्क सहित बस्ती विकासको अवधारणा ल्याइएको बेला जग्गाधनीले आफूहरूको बढी जग्गा काटिएको र नगरपालिकाका कर्मचारीले आफ्नो नाममा जग्गा राखेको गुनासो गरेपछि विवादित हुन पुगेको थियो ।

Smart-Buspark1

पछिल्लो समयमा उपप्रमुख मञ्जु भण्डारीले जग्गाधनीसँग पटक पटक वार्ता र छलफल गरेपछि विवाद समाधान भएसँगै स्मार्ट बसपार्क निर्माणले गति लिएको हो ।

धरान उपमहानगरपालिकाका तर्फबाट तीनकुने सुन्दर बस्ती विकास आयोजनाका प्रमुख खगेन्द्रप्रसाद खतिवडाका अनुसार 'टेन्डर प्रक्रियाबाट ठेकेदार छनोट भई बसपार्क निर्माणका लागि गत असारमा नै सम्झौता भइसकेको' आधारमा यसै सातादेखि साइट क्लियरेन्सको काम सुरु भएको छ ।

उनका अनुसार आयोजनाअन्तर्गतको बसपार्क प्रवेश मार्ग सहितको सडक सञ्जालमा रहने ड्रेन (ढल) निर्माणको कार्य सुरु भएको छ । हालसम्म ७० जना जग्गाधनीलाई आयोजनाको भाग कटाएर बाँकी जग्गाको स्वामित्व सहितको धनी पुर्जा उपलब्ध गराइसकेको खतिवडाले बताए ।

बसपार्क सहितको बस्ती विकासको आयोजनाका लागि गत वर्ष प्रदेश सरकारले डीपीआर तयार गर्न एक करोड रुपैयाँ दिएको थियो। डीपीआर तयार गर्दा सुरुमा ७५ करोड लागतको भएपछि उपमहानगरपालिकाको आन्तरिक आयस्रोतले धान्न नसक्ने जनाएको थियो।

त्यसपछि परामर्शदाताले ४३ करोड रुपैयाँको लागत इस्टिमेट निकालेको थियो । उक्त इस्टिमेट पनि धेरै भएपछि डीपीआर नै संशोधन गरेर ३३ करोड रुपैयाँभित्र स्मार्ट बसपार्क तयार हुने गरी ठेक्का आह्वान गरिएको थियो ।

प्रमुख खतिवडाका अनुसार २५ करोड बजेटमध्ये सङ्घीय सरकारले ५० प्रतिशत अर्थात् साढे १२ करोड रुपैयाँ उपलब्ध गराउनेछ। बाँकी ५० प्रतिशत साढे अर्थात् १२ करोड रुपैयाँ उपमहानगरले बसपार्क निर्माणमा ३ वर्षमा व्यहोर्नुपर्ने हुन्छ ।’

उनका अनुसार सङ्घीय सरकारले दिने सशर्त अनुदानको बजेटमा बसपार्क निर्माण योजना प्रस्ताव गरेअनुसार स्वीकृत भइसकेकाले त्यही २५ करोड रुपैयाँभित्र काम सक्नुपर्ने छ ।

Smart-Buspark2Smart-Buspark3