धरान : इटहरी-२ निवासी वरिष्ठ मजदुर नेता ओम कोइरालाको निधन भएको छ।

आज बिहान ३ बजेर १७ मिनेटमा विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनलाई उपचारका लागि केही दिन अघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो ।

उपचारका क्रममा आइसियु आवश्यक परेकाले हिजो बेलुका उनलाई विराटनगर लगिएको थियो । त्याग र निष्ठाका प्रतिमूर्ति पुराना कम्युनिस्ट नेता कोइराला लामो समयदेखि मिर्गौला सम्बन्धी रोगबाट पीडित थिए । २०११ साल चैत १५ गते तेहथुमको खाम्लालुङ्गडमा वुवा देवनारायण र आमा कृष्णमायाको ज्येष्ठ सुपुत्रका रूपमा उनको जन्म भएको थियो । उनको श्रीमती ४ भाइ छोरा र २ जना छोरी छन् । उनले शरीर दान गरेकाले आवश्यक प्रक्रिया पूरा गरेर आज दिउसो १ बजे उनकै निवासमा अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम गरिने बताइएको छ ।

कर्मठ र त्यागी नेता कोइरालाले २०३६ सालदेखि २०४६ सालसम्म जननेता मदन भण्डारीको निकट रहेर भूमिगत राजनीति गरे । २०२६ सालमा जनता मावि इटहरीमा अध्ययन गर्दा देखिनै उनी वामपन्थी राजनीतिमा प्रभावित थिए । त्यहाँ उनी स्ववियू सभापति भए । २०३० सालमा महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्दा स्ववियूको साहित्य सचिव र भूमिगत सङ्गठन युवा लिगको सचिव भएर भूमिका निर्वाह गरे । त्यही वेला उनी समेत संस्थापक रहेर रातो झन्डा नामक कम्युनिस्ट पार्टीको स्थापना गरे ।

उनी २०४२ सालमा नेकपा मालेको सुनसरी जिल्ला कमिटीको कार्यवाहक सचिव भए । सुनसरी जिल्लाको कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन उनले प्रभावकारी भूमिका निर्वाह गरे । २०४६ सालमा आन्दोलनको क्रममा उनी पक्राउ समेत परेका थिए । २०३४ सालदेखि महेन्द्र मावि इटहरीमा शिक्षक भई कार्य गरे पनि झापाली नेकपा माले भन्ने आरोप लगाएर उनको शिक्षक पेसा खोसिएको थियो ।

२०४४ सालमा अनेकिसंघ सुनसरीको अध्यक्ष, २०४६ सालमा नेकपा माले अञ्चल सचिवालय सदस्य, २०५० सालमा नेपाल स्वतन्त्र मजदुर युनियनको केन्द्रीय उपाध्यक्ष बनेर मजदुर आन्दोलनलाई उचाइमा पुर्‍याउन अहोरात्र खटेका थिए ।

२०५१ सालमा नेपाल ट्रेड युनियन महासङ्घको केन्द्रीय सदस्य र २०५६ सालमा पूर्वाञ्चल संयोजकको भूमिकामा रहेका थिए । कोइरालाले प्रकाशित अप्रकाशित गरी १४ वटा पुस्तक लेखेका छन् ।

उनलाई ओम कोइराला नागरिक अभिनन्दन समितिले गत असोज २३ गते इटहरीमा भव्य नागरिक अभिनन्दन समेत गरेको थियो । त्यही कार्यक्रममा उनका तीन पुस्तक लोकार्पण गरिएको थियो ।