इटहरी : राष्ट्रियसभामा प्रदेश १ बाट ३ सदस्य निर्वाचित हुने भएका छन्। बुधवार हुने निर्वाचनमा ३ पदका लागि ३ दलका ८ जनाको उम्मेदवारी परेको छ। सत्तारुढ गठबन्धनले साझा उम्मेदवार तय गरे पनि नेकपा एमाले र राप्रपाले एकल उम्मेदवारी दिएका छन् ।

गठबन्धनको तर्फबाट खुल्लामा काँग्रेसका गोपाल बस्नेत, महिलामा एकीकृत समाजवादीकी जयन्ती राई र अल्पसङ्ख्यकतर्फ जनता समाजवादीका हेमराज थुलुङ राईले उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी एमालेबाट खुल्लातर्फ गुरु बराल, महिलामा सुमित्रा भण्डारी र अल्पसङ्ख्यक कोटामा सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाको तर्फबाट खुल्लामा झापाका अमर विष्ट र महिलामा रञ्जु प्याकुरेलले दर्ता गराएका हुन । राप्रपाको प्रदेशसभाका एक सांसद छन् भने स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष गरी चार जनाको १२० मत भार रहेको छ ।

स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेशसभाका सदस्य मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा ३६४ मतदाता छन् । निर्वाचनमा प्रदेशसभाका ९३ सांसद मध्ये एमालेकी गुलेफुन खातुन फरार छिन् । बाँकी १३७ स्थानीय तहतर्फ २७४ मतदाता हुनेमा २ जनाको निधन भएका कारण २७२ जनाले मतदानमा भाग लिने भएका छन्।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मत भार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मत भार १८ हुने कानुनी प्रावधान छ । जसअनुसार ९२ प्रदेशसभा सदस्यहरूको मत भार ४ हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मत भार ४ हजार ८९६ गरी जम्मा मत भार ९ हजार ३१२ रहेको छ । प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको ४ हजार ५२४ मत भार रहेको छ भने गठबन्धनमा आबद्ध दलहरूको कुल मत भार ४ हजार ६६८ देखिएको छ।

हालको मतभारको अङ्कगणित अनुसार गठबन्धनका उमेद्धवारको विजय निश्चित देखिएको छ । एमाले र राप्रपा मिलेको खण्डमा पनि ५ दलीय गठबन्धन बलियो देखिएपछि दुई दलले साझा उम्मेदवार तय गर्न सकेनन् ।
राष्ट्रियसभा निर्वाचनले पुनः एमालेकी फरार सांसद गुलेफुन खातुनलाई चर्चामा ल्याएको छ । सरकारी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा जेल सजाय तोकेपछि फरार रहेकी उनी निर्वाचनमा सहभागी नहुने भएकी छिन् । उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष कैद र १४ हजार ५८३ जरिमानाको फैसला सुनाएको छ।

प्रहरीको फरार सुचीमा रहेकी उनी निर्वाचनमा सहभागी नहुने भएकी छिन् । जसको कारण एमालेको मत भार अझै कम हुने भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार खातुन बारे प्रहरी जानकार रहेकाले निगरानी बढाइएको छ । प्रहरीले आफ्नो जिम्मेवारी पुरा गर्ने भन्दै उनले समय आएपछि उत्तर दिने बताए ।

राष्ट्रियसभा निर्वाचनको लागी बुधवार बिहान ९ बजे देखी ३ बजेसम्मको समय तय भएको छ । जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश तथा निर्वाचन अधिकृत भरत लम्सालका अनुसार समयमै निर्वाचन सक्ने गरी व्यवस्था मिलाइएको छ।

मतदान गर्ने जनप्रतिनिधिहरूले नागरिकता वा राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा निर्वाचित भएको प्रमाणपत्र लिएर आउनुपर्ने उनले बताए । कोरोना विरुद्धको दुवै डोज खोप लगाएको कार्ड र मास्क अनिवार्य गरिएको उनको भनाई छ। उनले कोरोना सङ्क्रमितका लागि छुट्टै मतदानको व्यवस्था गरिएको लम्सालले जानकारी दिए।

मतदानका लागि दुई वटा मतदान केन्द्र निर्धारण गरिएको छ । स्थानीय तहका प्रमुख/उपप्रमुख लागि प्रदेश निर्वाचन कार्यालय परिसर र प्रदेश सांसदहरूका लागि बाली संरक्षण प्रयोगशालामा मतदान केन्द्र तोकिएको हो । मतदान सकिएपछि साँझ ४ बजेसम्ममा मतगणना सुरु हुने लम्सालले बताए।