यही जेठ २७ गते सुनसरी उद्योग वाणिज्य संघ धरानको निर्वाचन हुदैछ । चुनावको लागि अहिले उम्मेद्वारहरु मतदातासँग भोट माग्न ब्यस्त छन् । यो निर्वाचनमा धरानको पुष्प र रुद्राक्ष व्यवसायमा परिचित प्रेमप्रसाद पराजुली पनि वाणिज्यतर्फको सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन् । उनी पुष्प व्यवसायी संघ सुनसरीका जिल्ला सदस्य पनि छन् । आसन्न निर्वाचनको सन्दर्भमा उम्मेदवार पराजुलीसँग कपुरीन्यूजले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

प्रश्न :  निर्वाचनको तयारी कस्तो भइरहेको छ ?
उत्तर :  एकदम राम्रो भइरहेको छ । आफ्ना कुरा राख्ने, मतदातासँग भइरहेको छ । भेटघाटमा ब्यस्त छुँ ।

प्रश्न : तपाईले उम्मेदवारी दिनुको कारण के हो ?
उत्तर :  सामाजिक काम पहिले देखि नै गरिरहेकै छुँ । तर मेरो क्षेत्र व्यापार हो । यो क्षेत्रको बारेमा म चिन्तित छुँ । व्यापार, व्यवसाय प्रर्वद्धनमा भुमिका खेल्नको लागि उम्मेदवारी दिएको हुँ । राम्रो काम गर्नलाई प्लेटफर्म चाहिन्छ, त्यसको लागि जान खोजेको छुँ ।
उद्योग वाणिज्य संघले सुनसरी जिल्लालाई कुन क्षेत्र, व्यापारमा फोकस गर्ने हो भनेर अब प्रष्ट गरेर जानुपर्छ । यो जिल्लाको इटहरी, धरान, चतराजस्ता ठाउँलाई के कुरामा फोकस गर्ने ? अब त्यो ठाउँको पहिचान बनाइदिनुपर्छ । जस्तो कि, भारतको जयपुरलाई पत्थर नगरी भनेर चिनिन्छ, मुरादावादलाई पित्तल नगरी भनेर चिनिन्छ । त्यस्तै यहाँको शहरहरुलाई योजना बनाएर पहिचान बनाउनुपर्छ । जानिन्छ भने आफुले गर्ने, नत्र विज्ञहरुको सल्लाह लिने काम गर्नुपर्छ । हित गर्छु भनेर मात्र भएन, योजना चाहिन्छ ।

प्रश्न  : धरानको व्यापार खस्कदै छ, त्यसलाई कसरी रोक्ने ?
उत्तर :  अन्य सरकारी निकायसँगै व्यापार पनि धरानबाट विस्थापित भयो । के गर्दा होलसेलहरुलाई स्थापित हुन्छ, ? त्यो गर्नुपर्छ । यहीँ व्यापार, व्यावसाय चल्ने वातावरण बनाउनुपर्छ । त्यसको लागि नगरपालिकाले स्किम दिनुपर्छ । अन्तको रेटमा यहाँ पाउने वातावरण बनाउनुपर्छ । ठुला उद्योग स्थापना गर्दा के सहुलियत वा राहत दिने हो ? स्थानीयय सरकारले नीति बनाउनुपर्छ, र आफ्नो नागरिकलाई रोजगारी दिने अवस्था सृर्जना गर्नुपर्छ । त्यसलाई मलजल गर्ने काम सहयोगीको भुमिकाको काम उद्योग वाणिज्य संघले खेल्नुपर्छ । अदक्ष जनशक्तिलाई तालिम दिएर दक्ष बनाउनुपर्छ । सरकारी संयन्त्र छन्, तालिम दिने त्यसलाई प्रभावकारी बनाउनुपर्छ । धरानको व्यापार, व्यवसाय उकास्नलाई यहाँका दलहरु, उद्योगी, व्यवसायी,नागरिक समाज सबै मिल्नुपर्छ, संघले पहल गर्नुपर्छ ।

प्रश्न :  धरान बजार महंगो भयो भन्छन्, साँच्चै हो ?
उत्तर : महंगो भएकै हो, घरभाडा जोडिएको छ । घरभाडाले समस्या भएको गुनासो छ । भाडा कति लिने भन्ने मापदण्ड बनाउनुपर्छ, र कति बर्षमा कति बढ्ने भन्ने पनि तोकिनुपर्छ । राम्रो चल्न थालेपछि घरवालाले कोठा छोडि दे भन्छ, र व्यापारी समस्यामा पर्छ । बल्ल बल्ल लगानी टिक्न खोजिरहेको हुन्छ, २, ४ पैसा कमाउने बेला छोड्नुपर्ने अवस्था बन्छ । मजदुरीको समस्या छ । लोड अनलोड ढुवानीमा एकदमै समस्या छ । त्यो समस्या समाधान हुनुपर्छ । र, अर्को कुरा वास्तविक मुल्यबारे उपभोक्तालाई पनि थाह छैन । यहाँ सस्तोमा पाउने सामानबारे थाहै छैन, र जोगवनी जाने गर्छन् । तर, भाडा खर्च, समय हिसाब गर्दा त्यहाँ महंगो पर्छ । त्योबारेमा जनचेतना जगाउनुपर्छ ।
बेला बेला व्यापार प्रर्वद्धनको मेला हुनुपर्छ, तर खिचडी जस्तो होइन । कुनै एउटा उत्पादनको गर्नुपर्छ । नियमित हुनुपर्छ । जुत्ता मात्र, फुल मात्र, खाद्यान्न मात्रको गर्ने गर्नुपर्छ । धरानको उत्पादन के बन्न सक्छ ? त्यो बनाउनुपर्छ । प्राथमिकता एउटा, दुईटालाई दिनुपर्छ, गर्नैपर्छ । उद्योगी, व्यापारीहरुले मात्र हुदैन, सबै दल, नागरिक समाज, सरकार सबैको साथ चाहिन्छ । हामी कर तिछौं, सरकारले व्यवस्थापन गर्नुपर्छ ।

प्रश्न :  उद्योग वाणिज्य संघ सबैको हुन सकेको छ ?
उत्तर :  नगरपालिकामा ९ हजारको हाराहारीमा दर्ता छन् । तर, संघमा सदस्य संख्या यसपाली भने २ हजार पनि पुगेन । यसले गर्दा संघ मेरो हो, म त्यहाँ दर्ता हुनुपर्छ भन्ने सबै व्यापारी, व्यवसायमा भावना छैन भन्ने देखिन्छ । अब संघले सबै व्यापारी, व्यवसायीहरुमा संघ मेरा हो, म त्यहाँ जानुपर्छ, सदस्य हुनुपर्छ भन्ने परिपाटी हुनुपर्छ, अनुभूति दिलाउनुपर्छ । सबै व्यापारी, व्यवसायीलाई अपनत्व दिलाउनुपर्छ ।

प्रश्न  :  उवा संघमा गएपछि तपाईको भुमिका के रहन्छ ?
उत्तर :  म गएपछि पहिलो भुमिका के हुन्छ भने त्यहाँको गतिविधि सबै साधारण सदस्यहरुले थाह पाउने बनाउनुपर्छ । हरेक साधारण सदस्यले यो थाह पाउनुपर्छ कि संघले के निर्णय गर्यो ? मेरो पक्षमा के भयो भन्ने थाह पाउनुपर्छ । मिडियाको जमाना छ, फोन छ, इमेल छ । हामीसँग कर्मचारी छ । मात्र व्यवस्थापन गर्नुपर्छ । हामीले सम्पर्क व्यक्ति तोक्न सक्छौं । व्यापारीको गुनासो, समस्या बुझ्ने काम र व्यवस्थितरुपमा अभिलेख गर्ने काम गर्नुपर्छ ।

प्रश्न :  चुनावमा उठेपछि उम्मेदवारले धेरै खर्च गर्नुपर्छ भनिन्छ, त्यस्तो हो ?
उत्तर :  चुनावमा खर्च खुब गर्छ भन्ने हल्ला नि हुदो रहेछ । अरुले के गर्छन्, थाहा भएन । तर, साथीभाई बीच चिया गफ हुन्छ । त्यसैलाई खर्च हो भन्ने हो भने केही छैन । मेरो खर्चको कुरा गर्नुहुन्छ भने उम्मेदवारी दर्ता गर्दा, आफ्नो पर्चा छाप्न चै केही खर्च भयो । त्यो बाहेक भएको छैन ।
प्रश्न  : अत्यमा, मतदाताहरुलाई केही भन्नु छ ?
उत्तर :  तपाई मतदाताहरुले दिने मतलाई व्यापार, व्यवसायको प्रर्वद्धन गर्न, विकास गर्नमा सही सदुपयोग गर्नेछु ता कि मैले दिएको मत खेर गयो भन्न दिने छैन ।