ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स ठगाीमा युवतीको प्रयोग शीर्षकको समाचार छापिएको छ । अन्तर्राष्ट्रिय नेटवर्क बनाएर अनलाईन सपिङका नाममा ठगी गर्ने गिरोहका मुख्य नाइके मोरङ सुन्दरहरैचाँ नगरपालिका ३ का विशाल अर्याल भनिने ३६ वर्षीय निरञ्जनप्रसाद आचार्यले युवतीलाई ब्ल्याकमेलिङ गर्ने र त्रास देखाएर ठगी धन्दामा लगाउने गरेको खुलेको छ । काम गर्न आउने युवतीको नग्न तस्बिर आचार्यले राख्ने र उनले भनेअनुसार काम नगरे सार्वजनिक गर्ने धम्की दिदै अनलाइन सपिङको नाममा ठगी धन्दामा लगाउने गरेको खुलेको हो । ठगी गर्ने मुख्य गिरोहका आचार्यसहित ८ जनालाई मोरङ प्रहरीले पक्राउ गरी अदालतमा अभियोग दर्ता गरिएको छ । आचार्यसहित आठजना विरुद्ध मोरङ अदालतमा आपराधिक समूह स्थापना, सञ्चालन गरी ठगी, बैङ्किङ कसूर र सरकारी दस्तखत कीर्ते मुद्दा दर्ता गरिएको हो । अहिले उनीहरुको बयान मोरङ अदालतमा भइरहेको छ । प्रहरीको अभियोगनुसार ठगीका मुख्य नाइके आचार्यले ३० हजार तलब दिने सहमतिमा खोटाङ जन्तेढुंगा गाउँपालिकाकी २१ वर्षीया युवतीलाई सेल्स एण्ड मार्केटिङमा काममा लगाएका थिए उनको काम थियो विभिन्न बैंकहरुको खातामा आएको पैसा उठाएर आचार्यलाई दिनुपर्ने थियो । तिनदिनको तालिमपछि आचार्यले ती युवतीलाई काममा लगाएका थिए । अनलाईन सपिङको नाममा ठगी आरोपमा पक्राउ परेका ठगी गर्ने गिरोहका मुख्य नाइके मोरङ सुन्दरहरैचाँ नगरपालिका ३ का विशाल भनिने ३६ वर्षीय निरञ्जनप्रसाद आचार्यसहित ९ जना विरुद्ध अदालतमा मुद्दा दर्ता गरे पछि बयान सुरु भएको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा भाडामा उपकरण प्रयोग गर्न किसानहरु आर्कर्षित शीर्षकको समाचार छापिएको छ । उदयपुरको बेलका नगरपालिकाका कृषकहरुले सहज र शुलभ मूल्यमा कृषि उपकरणहरु पाउने भएका छन् । कृषि तर्फ युवा पुस्तालाई पनि आर्कषित गर्न बेलका नगरपालिकाले भाडामा उपकरणहरु दिन सकिने अवधारणा अनुसार कस्टम हायरिङ सेन्टर संचालनमा ल्याएको छ । कृषिलाई आधुनिकिकरण सँगै यान्त्रीकरणलाई प्रवद्र्धन गर्न बेलका नगरपालिकाले करिब २० करोडको लगानीमा सेन्टरको स्थापना गरेको छ । सेन्टरबाट खेतीमा सहयोग पुर्याउने ठूला ठूला उपकरणहरु शुलभ मूल्यमा भाडामै प्रयोग गर्न पाउँछन् । कृषिमा यान्त्रीकरण गर्न अपरिहार्य भएको महसुस गर्दै बेलकाले वार्षिक निती तथा कार्यक्रममै सेन्टर संचालनलाई समावेश गरेको छ । यान्त्रिक उपकरणहरुको प्रयोगलाई प्रभावकारी बनाउन जमिनको व्यवस्थापन गर्दै कृषकलाई अभिमुखिकरण गरि कार्यक्रम अघि बढाइएको बेलका नगरपालिकाका इन्जिनियर बुद्धि तिम्सिना बताउँछन् । उनका अनुसार बेलाका नगरपालिकासँग अहिले कष्टम हायरिङ सेन्टर संचालनका लागि २० करोड रुपैयाँ बराबरको कृषि उपकरणहरु मौज्दातमा छन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा प्रदेश सरकारले ७० वटा एम्बुलेन्स खरिद गर्ने शीर्षकको समाचार छापिएको छ । प्रदेश सरकारले ७० वटा एम्बुलेन्स खरिदको तयारी अघि बढाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रत्येक जिल्लामा स्थापना हुने मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रका लागि एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाएको हो । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमै एम्बुलेन्स खरिद र वितरणका लागि प्रक्रिया अघि बढाएको थियो । तर प्रक्रिया पूरा गर्न नसकेका कारण चालु आर्थिक वर्षको बजेटमा समेटेर अघि बढाएको हो । चालु आर्थिक वर्षको बजेटमा १४ वटै जिल्लामा विपद व्यवस्थापन अन्तर्गत मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र स्थापना गर्ने उल्लेख छ । मन्त्रालयका अनुसार ७० वटा एम्बुलेन्समध्ये तीनवटा ठूलो एम्बुलेन्स र ६७ वटा एकल एम्बुलेन्स खरिदका लागि प्रक्रिया प्रारम्भ गरिएको जनाइएको छ ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा इटहरी अस्पतालमा औषधि अभाव शीर्षकको समाचार छापिएको छ । प्रदेश नं. १ को राजधानी दाबी गर्दै आएको पूर्वको चौरस्ता मानिएको विकासशील उपमहानगरपालिकामा सुविधा सम्पन्न अस्पताल त छैन नै भएको अस्पतालमा पनि औषधि अभाव भएको छ । इटहरी उपमहानगर मेयर द्वारिकलाल चौधरीको सकारात्मक नकरात्मक कार्यले सधै चर्चामा रहने गर्दछन् । नगरबासीको स्वास्थ्यउपचारका लागि पहिलो पहुँच अस्पतालमा औषधी अभावका बारेमा भने उनले त्यस्तो कुनै चर्चामा आउन कदम चालेको देखिन्न । संघियताको कार्यान्वयन भएर स्थानीय तह साधन श्रोत र अधिकार सम्पन्न भएपछि स्वास्थ्य संस्थाहरुको स्वामित्व र व्यवस्थापनको अधिकार स्थानीय तहले पाएको छ । अस्पतालमा सरकारले उपलब्ध गराउने निःशुल्क औषधीहरु न्हुँदा सरकारी अस्पतालमै निर्भर रहेका सर्वसाधारण मारमा परेका छन् ।