चतरा : कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनले अर्थतन्त्रको सम्पूर्ण हिस्सा मै प्रत्यक्ष प्रभाव पारेको छ । सबै क्षेत्रमा देखिएको प्रभावबाट कृषि क्षेत्रपनि अछुतो छैन । लकडाउनको प्रत्यक्ष असर दूधबाट दैनिक आम्दानीमा निर्भर साना किसानहरूमा परेको छ   ।

सहर बजारमा दैनिक ज्यालादारी गर्ने श्रमिकको चिन्ता जतिकै गाउँबाट सहरी क्षेत्रमा दूध बेच्ने दूध व्यवसायीहरू यति बेला बेरोजगार छन् । दूधबाट हुने उनीहरूको दैनिक आम्दानी खोसिएको छ । ठुला डेरीवालाहरू लकडाउनमा जेनतेन चलिरहेका छन् तर, साइकल, मोटरसाइकल, टेमीमा ल्याएर दूधको व्यावसाय गर्नेहरूलाई रोक लगाइएकाले उनीहरूको व्यवसाय ठप्प जस्तै छ ।

यसबाट एउटा दुइटा गाई, भैसीं पालन गरेर २/४ लिटर दूधको आम्दानी गर्ने किसानहरू पीडित भएका छन् ।

धरान, इटहरीमा यसरी दूध आपूर्ति गर्नेहरू वराहक्षेत्र नगरपालिकाको कालाबन्जर, रामझोडा, सिमरवन, विशाल चोक, धनपुरी, पिडारी, सालबनी, प्रकाशपुर, देविघाट, ठिकझोरा, जब्दीका करिब २ हजार किसान परिवार पीडित भएका हुन् ।

साना साना किसानबाट मोटरसाइकल र साइकलमा सङ्कलन गरेर उपभोक्ताको घर घर पुयाउने साना दुग्ध व्यवसायीलाई लकडाउनमा स्थानीय प्रशासनले कडाइ गरेपछि किसानहरू प्रभावित भएको मिलन चौकका साना दुग्ध व्यवसायी मनोज विष्टले बताए ।

'धरानमा व्यवसाय बन्द छ, धरानवासी बाहिर ननिस्की घरमै बसेकाले दूध खपत पनि खासै हुँदैन ’ बिष्टले भने 'हामीलाई दूध विक्री गर्न समस्या परेकाले हामी आफै मार्कामा परेका छौ, यसै कारण किसान र साना व्यवसायीलाई सरकार राहतले राहत दिनुपर्ने अवस्था आएको छ ।’

स्थानीय प्रशासनले पनि कढाइ गरेकोले दूध धरान लैजाने काम रोकिएको उनले बताए । दूध धरान पुर्‍याउने काम बन्द भएका कारण किसानले उत्पादन गरेको दूध सङ्कलन गर्न पनि बन्द छ।

एक दुई वटा गाई, भैँसी पाल्ने किसानहरूवाट उत्पादन भएका दूध सङ्कलन गरी धरान र इटहरीका उपभोक्ता लाई घर घर सम्म पुर्‍याउने काम अहिले बन्द छ । उनीहरू लाई गाउँ बाट सहरी क्षेत्र जान रोक लगाइएको छ । धरानमा प्रायः विदेशमा बस्ने मानिसहरूको सम्पर्क रहने, सहरी क्षेत्रमा मानिसको भिडभाड ज्यादा हुने भएकाले व्यवसायीहरूलाई  प्रशासनले धरानमा आउजाउ गर्न रोक लगाएको हो ।

दूधवालाहरूको धेरै मानिसहरू प्रत्यक्ष भेट हुने,र 'सेप्टी' समेत नहुने भएकाले बराहक्षेत्र वडा ५ को कार्यालयले वडामा रहेका व्यसायीहरुलाइ माइकिङ गरेरै स्थिति सामान्य नहुन्जेल सम्म दूध नगर्नु भनी सूचना जारी गरेको छ ।

प्रशासनले पनि बराहक्षेत्रका साना दूध व्यवसायीहरू लाई धरान दूध बिक्री गर्नका लागि जान नहुने भनी कढाइ गरेको छ । बराहक्षेत्रमा दुग्ध सहकारीहरूले स्थापना गरेको बिक्री केन्द्रमा बिक्री वितरण गर्ने किसानहरू लाई भने खासै समस्या छैन ।

आधिकारिक तथ्याङ्क नभए पनि बिष्ट जस्ता साना दुग्ध व्यवसायीहरु भरौलमा ६० देखि ७० का हाराहारीमा रहेका छन् । ६-७ जना बाहेक व्यसायीहरुले इटहरी र अन्य व्यवसायीले दूध सङ्कलन गरी धरानका उपभोक्ता र पसलमा पुराउने गरेका छन् ।

उनीहरूले कम्तीमा एक दिनमा एक जनाले मोटरसाइकल, साइकलको माध्यमबाट ६० लिटर देखि माथि १ सय लिटर सम्म बिक्री गर्न लैजाने गरेका छन् । सहरसँग सडक सञ्जाल जोडिए पछि सुरु भएको यस्तो दूध व्यवसायको यात्रालाई देशमा माओवादी द्वन्द्व, सङ्कटकाल, मधेस आन्दोलन, नेपाल बन्द, नाकाबन्दी हुँदा खासै प्रभाव पारेको थिएन ।

अर्का व्यवसायी गोविन्द विष्टले भने ‘तर कोरोना भाइरसको रोकथामका लागि भएको लकडाउनले भने हाम्रो व्यवसाय लाई ठप्प नै बनाएको छ ।’

कोरोनाको महामारीको त्रासमा रहेका किसानहरूले उत्पादन गर्दै आएको दूध बिक्री हुन छाडे पछि उनीहरूमा आर्थिक दबाब बढेको छ । दैनिक सात, आठ लिटर दूध उत्पादन गर्ने घरमा पाँच सय रुपैया कमाइ गरेर घर खर्च गर्ने दैनिकी ठप्प भएको हो ।

गाई भैँसी लाई पोषक दाना खरिद गरेर किसानहरुलाई परिवारमा दैनिक व्यवहार चलाउन समस्या सुरु भएको छ ।