धरान: करिब ४५ किलोमिटर दुरीको विराटनगरस्थित एयरपोर्टबाट राजधानी पुग्नुपर्ने बाध्यता भएका धरानबासीहरुले धरान १७ स्थित डाँडाघोपामा एयरपोर्ट बन्ने सपना देख्न थालेको डेढ दशक बितिसक्यो । तर, न निजी कम्पनीले एयरपोर्ट बनाउन सक्यो, न सरकारीस्तरबाट नै एयरपोर्ट बन्ने योजनाले मुर्तरुप पायो ।

नागरिक उड्यान प्राधिकरणले पटक पटक धरानमा एयरपोर्ट बनाउने भनेर बजेट विनियोजना गरेर सर्वे गर्यो । शुरुमा १८ सिटे क्षमताको ट्विनअटर विमान अवतरण गर्ने एयरपोर्ट भनेर अध्ययन गरिएपनि पछि ४२ सिटे क्षमताको बनाउने भनेर फेरी ड्रोन सर्वे पनि भयो । यसरी सर्वे, डिपिआर र इआइए गर्न करोडौं सरकारी बजेट लगानी भइसकेको प्रस्तावित धरान एयरपोर्ट अहिले भने नबन्ने संकेत देखापरेको छ । यसको मुख्य कारण हो, विद्युत प्राधिकरणले निर्माण गरिरहेको २२० केभी क्षमताको कोशी करिडोर प्रसारण(हाइटेन्सन) लाइन ।

यो प्रसारण लाइन नेपालमा अहिलेसम्मकै सबैभन्दा ठुलो क्षमताको हो । जुन प्रस्तावित एयरपोर्टस्थलदेखि ठिक पश्चिम उत्तर धरान २०, विष्णुपादुका हुदै निर्माण हुनेछ । राष्ट्रिय प्राथमिकतामा परेको यो आयोजना अहिले धमाधम निर्माण भइरहेको छ । यो प्रसारण लाइन विस्तार हुदा माछामारा डाँडास्थित गोर्खा स्मति पार्क, चिण्डे डाँडा केही मास्तिर हुदै निर्माण हुनेछ । जसले धरानको एयरपोर्ट बन्ने सपनालाई चकनाचुर बनाउनेछ । यो हाइटेन्सन लाइनले धरानको एयरपोर्टलाई असर गर्ने भन्दै नेकपाका नेता फोक्वाहाङ सुब्बा(चोत्लुङ)ले फेसबुकमा पोष्ट गरेका थिए । उनले कपुरीन्यूजसँग भने,‘हाइटेन्सनको एलाइटमेन्ट परिर्वतन भएन भने एयरपोर्टलाई असर पुग्छ,त्यसैले त्यसको लागि पहल गर्नुपर्छ ।’

यो हाइटेन्सन लाइनले एयरपोर्टसँगै धरानको पर्यटनमा पनि गम्भीर असर पुग्ने पर्यटनकर्मीहरुको भनाई छ । चिण्डे डाँडाबाट हुने व्यावसायिक प्याराग्लाइडिङ, गोर्खा पार्कमा शुरु गर्ने भनिएको प्रशिक्षण केन्द्रमा पनि असर पुग्ने बुढासुब्बा प्याराग्लाइडिङका सचिव राम राईले बताए । ‘हाइटेन्सन लाइनले जोखिम बढाउछ, अहिले जति खुलारुपमा उडान भइरहेको छ, हाइटेन्सन आएपछि रिस्क बढी हुन्छ,’उनी भन्छन् । धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी पनि हाइटेन्सनले एयरपोर्टसँगै धरानको पर्यटनलाई असर पर्ने भएकोले मन्त्रालय र प्राधिकरणमा डेलिगेशन जाने तयारी गरिरहेको बताउँछिन् । ‘पत्र तयारी गदैछौं, यो बिषयमा उर्जा मन्त्रालय र विद्युत प्राधिकरणमा जान्छौ,’उनले भनिन् ।