आज असार १५/ राष्ट्रिय धान दिबस ।
नेपालभरमा आजको दिन धान दिवस, रोपाइँ जात्रा, दहि-चिउरा खाने दिन आदि विभिन्न नामले मनाइन्छ । असार १ गतेदेखि सुरु भएको रोपाईंको चटारोलाई मनोरञ्जनमा उतार्न आज रोपाहारहरूले खेतको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। आजको दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।
'छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला'
जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
कामको चटारोले थकित भएका किसानहरूलाई दही र चिउराले शक्ति र शीतलता प्रदान गर्दछ। हाम्रो संस्कृतिमा दहीको महत्वपूर्ण स्थान रहेको छ । विभिन्न शुभ कार्यको प्रारम्भमा दहीलाई सगुनको रूपमा ग्रहण गर्ने गरिन्छ। महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा पनि प्रचलित छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा रहेकाहरुले पनि आज दही-च्यूरा आँप, कटहर इत्यादि फलफुल खाई असार १५ मनाउँछन्।
नेपाल कृषि अनुसन्धान परिषद (ईरी) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो। धान दिवस मनाउँदा किसानहरुलाई कृषि क्षेत्रमा लागि रहन आन्तरिक एवम् बाह्य उर्जा मिल्ने विश्वास गरिएको छ ।
कृषि प्रधान देश भएर पनि कृषिमा बढ्दो परनिर्भरतालाई हटाउन नेपालको प्रमुख खाद्यबालीका रुपमा रहेको धानको महत्व र उत्पादनमा बृद्धिका लागि यो दिवसले थप हौसला प्रदान गरेको छ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । त्यसैले नेपालको कुल ग्राहस्थ उत्पादनमा, ३८ देखि ४० प्रतिशत योगदान कृषि क्षेत्रको छ । यसर्थ मुख्य बाली धानको रोपाँईले कृषि कार्यमा अत्यन्तै ठूलो महत्व राख्दछ ।
रोपाँई गर्नका लागी धेरै जनशक्ति अर्थात खेताला र जनको आवश्यक पर्दछ । त्यहि भएर गाउँघरमा पालैपालो पर्म लगाई रोपाँई गर्ने प्रचलन रहेको छ ।
तर युवा जनशक्ति पलायन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, सिमित व्यक्तिका हातमा धेरै जमिन, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजनको अभाव , प्राङ्गारिक तथा रासायनिक मलको सहीरुपमा प्रयोग नहुनु तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परिरहेको छ ।
दिनै जसो २ छाक देखी ३ छाक भात खानै पर्ने नेपालमा प्रतिमहिना दुई अर्बको चामल आयात हुन्छ । यसरी खाद्यान्न उपभोग गर्ने जनशक्ति बढि रहेका छन् । तर नेपालमा भने कूल खेतीयोग्य जमीनमध्ये झण्डै ११ लाख हेक्टर जमीन बाँझो छ ।
सरकारी तथ्याङ्क अनुसार नेपालमा करीब ३१ लाख हेक्टर जमीन खेतीयोग्य भएता पनि नेपालमा धानको उत्पादन सन्तोषजनक छैन । तर पर्याप्त जमीन भएर पनि नेपालले उल्टै अरबौंको चामल आयात गर्नुपरेको छ।
नेपाल संसारकै उच्चस्थानमा धानखेती हुने देश हो । समुद्री सतहदेखि ७० मिटर उचाईमा अवस्थित झापाको केचना देखि २ हजार ७ सय ८० मिटर उचाइको जुम्लाको छुमचौरमा पनि धान खेती गरिन्छ। जुम्लामा उत्पादन हुने मर्सी धान नेपाल भरि नै प्रसिद्ध छ ।
धानको वैज्ञानिक नाम ओरिजा सेटिभा हो । धान विश्वको प्राचीन खाद्यबाली हो । यसको बिउ कसरी विकास भयो भन्नेबारे अझै स्पष्ट तथ्य फेला पर्न सकेको छैन । विश्वको आधा भन्दा बढी ६० प्रतिशत जनसंख्याको मुल खाद्य श्रोत चामलजन्य खाद्यान्न नै हो।