बाबा सायद एक दशक बित्न
केही महिना मात्र बाकी होला
तपाइले मलाइ ममीको काखमा
अनि कान्छोलाई कोखमा छोडेर
पैसा फल्ने भूगोलमा
सम्भावनाका बिटाहरू
टिप्न गएको  ।
तर अझै पनि
सुकुम्वासी बस्तीको भएको
हाम्रो घरको आँगन भरि
परेड खेल्छन् 
अभाव अनि गरिबी
विजयी सेनाका सिपाही झैँ
अनि घर भित्रै झोक्राई रहन्छौ
भाइ ममी र म
पराजित सिपाही झैँ  ।

बाबा 
हाम्रो सेनापति
तपाइ पनि कतै
हारी रहनु भएको त छैन !
मन भारी भई रहन्छ
सर्दु खोलाको ठुलो ढुङ्गाले थिचे झैँ
गरिबको घरमा त दु:ख पनि
लाइन लागेर आउँदो रहेछ
गस्तीमा हिँडेको सिपाही झैँ
एक दमै अनुशासित भएर
तपाइले प्रत्येक महिना पठाउने
बिस थान हात्तीका वासनाहरू
हाम्रो घरमा मगमगाउने नपाउँदै विलाउछन
बिहानीको घामले
रात्रिको आशु बिहानीमा बिलाए झैँ ।

सायद अभाव अनि
व्यवहारिक कठिनाइको ज्वारभाटाले गर्दा होला
ममी बिरामी भई रहनु हुन्छ
मलाइ थाहा छैन !

बाबा 
ममीको छाती रोगले बढी
पोल्छ कि तपाइको सम्झनाले
अह मलाइ थाहा छैन बाबा
ममीको छाती रोगले बढी
पोल्छ कि तपाइको सम्झनाले
मैले त तपाईँ गए देखि
ममीको मुहारमा
जीवन फुलेको कहिले देखिन ।

बाबा
यदाकदा ममीको अनुहारमा देखिने हाँसो पनि
सर्दु पारि बगरमा फुलेको काश झैँ देख्छु ।

कहिले काहीँ त जीवन
अर्थशास्त्रको नियमले आक्रान्त जस्तो लाग्छ
सीमित साधनले अ सीमित आवश्यकता
व्यवस्थापन गर्न नसक्दा
रमाउने उमेरमा कमाउने प्रयास गर्दै छु
सिमेन्ट अनि बालुवा सँग पैठे जोरी खेल्दै
अह पिर नगर्नु ल बाबा ।

पढाइलाई अल्पविराम लाए पनि
पूर्ण बिराम लाएको छुइन
आखिर सिक्नु न हो रहेछ बाबा
अचेल शिक्षकले भन्दा
भोगाइहरूले बढी सिकाउँछन् ।

कहिले काहीँ अभावले
उमेर नै नपुगी रहर परिमार्जित गर्दो रहेछ
त्यसैले अचेल आफूले होइन
कान्छोले रहर पुरा गरी मुस्कुराउँदा
बढी आनन्दित हुन्छु
तर तर बाबा
अझै पनि मेरो काख
तपाइको जति ठुलो भएको छैन।