इटहरी : एकल कविता वाचन त्यो पनि समयमै कार्यक्रम हुनु र अन्तिम सम्म हल भरीराउ हुनु आफैमा अनौठो थियो ।
साँझ ५ बजेको लागी निर्धारित गरिएको कार्यक्रम समयमै सुरु भयो । ओली एन्ड एसोसीएटको भवनमा कवि देवान किराँती कविता सुनाउन तयार हुँदै थिए । हल खचाखच भरिन थाल्यो । कुनै कन्सर्टमा जस्तै दर्शकको हुटिङ र ताली कवितामा बिरलै हुने गर्छ । त्यस्तै फरक दृश्य शनिवार साँझ इटहरीमा देखियो ।
चुस्त व्यवस्थापन र अतिथिको उपस्थितिले कार्यक्रम निक्कै शोभायमान देखिन्थ्यो । “नेपाली समय” भनेर ढिला आउनेहरूले आधा मात्र कार्यक्रम देख्न पाए । कथित उभिने ठाउँ समेत नपाएर फर्किए । लामो समय बेलायतमा अध्ययन गरेर फर्किएका उमेश भण्डारीको व्यवस्थापन कला निक्कै रोचक देखियो ।
कार्यक्रमका उद्घोषक विराट अनुपमले मञ्चासीन अतिथिहरूलाई स्वागत सम्मान गर्दै थिए । त्यसै बिचमा अतिथिहरू आउने क्रम जारी थियो । प्रमुख वक्ता सोनु जयन्ती कवि किरातीको बारेमा बोल्न तयार भइसकेका थिए । त्यही बेला अनुपमले भने, “सोनु जयन्ती लिपी र ढिपी बिनाका पात्र हुन् । जो कविता सम्पादन गर्ने क्षमता राख्छन् तर लेख्दैनन् । नाट्य क्षेत्रका हस्ती हुन तर दम्भ गर्दैनन् ।”
त्यसपछि क्याप टोपी माथि उचालेर फिस्स हाँस्दै जयन्ती मञ्चमा पुगे । कविको व्यक्तिगत विषयमा प्रवेश गर्नुपुर्व उनले कवि र कविताको बारेमा आफ्नो धारणा राखे । उदाहरण नै दिएर केही कविताहरू मात्र किन अमर हुन्छन् भन्ने बारे उल्लेख गरे ।
त्यससँगै किरातीको बाल्यकालीन भोगाई लाई ठट्यौली पाराले प्रस्तुत गरीदिए । जसले कार्यक्रमलाई थप रोचक बनायो । भारी बोकेर उचाइ नबढेको देखी चुनावको ब्यालेट पेपरमा “फेयर लभ्ली”को बास्ना आएको सुनाउँदा हल हाँसोले गुञ्जायमान भयो । कहीँ छिनमै किराँतीले भोगेको दुख र उनको स्वभाव सुनाउँदा दर्शक दीर्घामा सन्नाटा छायो ।
किराँतीले राजनीतिको र कविताको यात्रा सँगै सुरु गरेको र राजनीतिको बाटो झ्याउ लागेपछि उनले कविताको राजमार्ग चयन गरेको उनले सुनाए ।
उत्कृष्ट कविता लेखे पनि आफूलाई कहिल्यै कवि भएको दाबी नगर्ने एक मात्र कवि हुन किराँती । शनिवार साँझको कार्यक्रममा पनि धेरै पटकको आग्रह पछि मात्र उनले सहमति जनाएका थिए । यतीसम्मकी उनको कृती पनि अरुकै जोड बलमा प्रकाशित भएको हो । २०६९ सालमा “हुरीमा नाची रहेको ईश्वर” नामक कृती प्रकाशित छ । साहित्यकार तथा प्राध्यापक अभि सुवेदीद्वारा इटहरीमा आयोजित कार्यक्रमका कृती विमोचन गरिएको थियो ।
जयन्ती पछि कविता भन्न मञ्चमा पुगेका किराँती दर्शकको तालीले हौसिए । निक्कै हसीलो मुहारमा प्रस्तुत भएका किराँतीले फेरी पनि आफू कवि भई नसकेको दाबी प्रस्तुत गरे । आफ्ना बाबु सँगै कविता लेख्ने देखि किराँती परीकार ९रक्सी०मा समेत साथ मिल्ने कुराले दर्शकलाई थप उद्वेलित पार्यो ।
त्यही बिचमा उनले सुरु गरे “गाँठी कुरा”
कोक्पाले रामायण पढ्यो र रामआशिष दियो
आप्पाले माक्र्सबाद पढ्यो र माक्र्सआशिष दियो
आमाले दन्त्य कथा भन्यो र राजकुमारझैँ बन्नु भन्यो
यस बेला म नत कोक्पाको, नत आप्पाको नत आमाकै हुन सकिरहेको छु
तै म आफू हुनुको अर्थ खोजिरहेको छु सोधिरहेको छु
जुन कोक्पाले आप्पाले आमाले बिर्सिएको थियो इतिहासमा ।
त्यसपछि षड्यन्त्र, चिसो, प्रेमको लास, सत्य जस्ता १० वटा कविता सुनाए । कविता सकेर धन्यवाद भन्न नपाउँदै “वान्स मोर” आउन थाल्यो । करिब २ मिनेट हल गुञ्जायमान भयो । उद्घोषक अनुपम आफै सिट्ठी बजाउँदै मञ्चमा पुगे ।
शब्द प्रवाहले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि थिए कवि मनु मन्जील । पछिल्लो पुस्ताका सेलीब्रेटी कवि नवराज पराजुलीको उपस्थितिले कार्यक्रमको सौन्दर्य झनै निखारेको थियो । देवान किरातीका बुबा जसराज किराँती दर्शक दीर्घामा मक्ख परेर छोराको कविता सुनिरहे ।
कविहरू खेम नेपाली, सुमन पोखरेल, सीमा आभास, इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको बसाइँले कार्यक्रम आकर्षण बढायो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कवि मनु मन्जील बोल्न थालेपछि माहौल शान्त भयो । कवि मनु मन्जीलले उपस्थित कवि तथा अतिथिको बारेमा परिचय गराए । कार्यक्रमको अन्त्यमा बोलेका कवि बद्री भिखारीले कार्यक्रम भव्य रूपमा सफल भएको धारणा राखे ।
सम्पूर्ण टिमको मेहनतले कार्यक्रम सफल भएको उनको भनाई थियो । कार्यक्रममा उद्घोषक विराट अनुपमको साहस र उमेश भण्डारीको मेहनतले कार्यक्रम सोचे भन्दा पनि राम्रो भएको भन्दै उनले खसी व्यक्त गरे ।
लामो समयको दौरानपछि इटहरीमा पुनः काव्यिक तरङ्ग पैदा भयो । शब्द प्रवाहको तेस्रो कार्यक्रमको रूपमा इटहरी काव्य सन्ध्या सुरुवात भएको छ ।