अरुण तरेर नाना ... तमोर तरेर ....
आयौ हामी वीरताको गाथा कोरेर ....

खोकूँ छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा...
मन सबको रुन्छ की दुख विसाउँदा ....

रमेश गन्धर्वको दैनिकी सारङ्गी बजाउँदै यस्तै यस्तै गीत गाएर बित्ने गर्छ । यही क्रममा उनी झापाको दमकमा काँधमा सारङ्गी भिरेर घर घर डुल्दै गर्दा भेटिए ।

भोजपुरमा जन्मिएर हाल झापाको कचनकवलमा बसोबास छ उनको । सारङ्गी नै उनको धान्ने सारथि हो । गाउँ गाउँ डुल्दै सारङ्गीको धुनमा गीत गाएर पाएको पैसाले आफू र परिवारको गर्जो टार्छन् उनी ।

बाबु बाजेको पाला देखी बजाउँदै आएको सारङ्गी अहिले पनि उनले छाड्न सकेका छैनन् । उनी भन्छन्, “बाउ बाजेले यही काम गरे, दुख सुख हामीलाई यत्तिको बनाए, अहिले आएर यो सारङ्गी म कहाँ छाड्न सक्छु र ? ”

सानै उमेर देखी उनी बुवाले बजाएको सारङ्गीको धुनमा गीत गाउँथे र बिस्तारै आफैले पनि सारङ्गी बजाउन सिके उनले ।

चिन्ता मिश्रित स्वरमा रमेशले भने, ‘गाउँमा सारङ्गी बजाउने हराउँदै गए, सारङ्गीको धुन जति मिठो छ हाम्रो पीडा त्यतीनै तितो छ । सबै पढेका छौँ भन्छन् । खै के पढेका हुन्, आफ्नो पहिचान नै बिर्सिन थालिसक्यो हाम्रो समाजले । ”गफागफमै रमेशले सारङ्गी झिकेर बजाउँदै भाका हाल्न थाले ।
“अरुण तरेर नाना, तमोर तरेर
आयौँ हामी वीरताको गाथा कोरेर ।”

रमेशले गाउँदै गर्दा बिचैमा रोकिएर भने, “ हिजो पञ्चायत बिरुद्धको आन्दोलनमा नेताहरूलाई हामी नै चाहियो, ४६ सालमा होस या त ६२–६३ को जन आन्दोलन मानै किन नहोस्, हाम्रो सारङ्गीको धुनमा हाम्रा गीतले नेताहरूले मान्छे भेला जम्मा गराउँथे ।

तर आज तिनै नेताहरू पटक पटक सत्तामा पुगे । धेरै वटा चुनाव जिते । तर, हामीलाई कहिल्यै उनीहरूले फर्केर हेरेनन् ।” निक्कै भावुक मुद्रामा उनले सुनाए ।

एउटा सारङ्गीको तार चुट्टीदा बनाउने खर्च नहुँदा साह्रै मन दुखेको स्मरण गर्दै उनले भने, “अर्काका लागि धेरै सारङ्गी बजाएर गीत गाइयो तर केही भएन त्यसैले अहिले आफू र परिवारको पेट पाल्न सारङ्गीको साथ लिएको छु ।