इटहरी : बेतना सिमसारमा टिकटक बनाउन आउने पर्यटकहरू जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको बालीमा आकर्षित भएका छन् । बेतनाको ठिक अगाडी पर्ने जडीबुटीको बालीमा कुनै तारबार नभएपछि टिकटक बनाउनेको भिड लागेको हो। 
बेलबारी र इटहरीको तरहरामा रहेको क्यामोमाईल खेतीमा टिकटक बनाउनेको भिड लाग्न थालेको छ। ढकमक्क फुलेको क्यामोमाईल टिकटकको कारण नष्ट हुँदै गएको छ। बेलबारी र इटहरीका स्थानीयले भिडियो बनाउनेको विरोध गरे पनि कुनै कमी आएको छैन । दैनिक हजारौँको सङ्ख्यामा आउने टिकटकरको कारण बाली नष्ट हुँदै गएको छ। 
भिडले कुल्चिएर ३० लाख बढीको जडीबुटी क्षति भएको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र लिमिटेड बेलबारीका प्रमुख कमल राईले बताउँछन् । प्रहरी परिचालन गरेर रोक्न खोजेपछि बिहान र साँझको समय पारेर भिडियो बनाउनेको भिड लागेको उनले सुनाए । बालीको नष्ट हुने खतरा भएपछि समय अगावै काट्नुपर्ने बाध्यता आइलागेको राईको भनाई छ। 
सरकारी कम्पनी भए पनि खर्च अभावमा तारबार गर्न नसकिएको कारण यो समस्या आएको राईको तर्क छ । क्यामोमाईल उत्पादन गर्न धेरै मेहनत जरुरी पर्ने तर नागरिकले त्यसको महत्त्व नबुझेको उनको गुनासो छ।  
“टिकटक र युट्युबमा लाईक र भ्युज बढाउन जडीबुटी नास गर्नु त भएन नि ! केही गरी साह्रो करायो भने भोलि टिकटकमा हाल्देलान् भन्ने तनाव पछि छ । भन्दा नभएपछि कसको केनै लाग्ने रैछ र ! कसलाई भन्ने के गर्ने ? सबैले आफै बुझे हुने थियो ।, ” उनले भने, “अगामी वर्ष बिउको व्यवस्थापन देखी बाँकी कुरामा ध्यान दिनुपर्ने भएको छ । यो अवस्था आउला भनेर सोचिएन । अब क्षतिपूर्ति कसरी गर्ने भनेर समस्या भएको छ ।”
क्यामोमाईल अन्तर्राष्ट्रिय बजारमा खपत हुने जडीबुटी हो । जसको तेल विभिन्न औषधीय प्रयोजनमा प्रयोग हुने गरेको छ । राईका अनुसार क्यान्सरको औषधी, निन्द्रा लाग्ने औषधी देखी सुगन्धको लागी क्यामोमाईलको प्रयोग हुने गरेको छ । 
२०५० सालमा स्थापना भएको उत्पादन तथा प्रशोधन कम्पनी पछिल्लो समय अभावको चपेटामा परेको छ। विगतमा आर्थिक अभाव मात्र झेलेको कम्पनीमा पछिल्लो समय जडीबुटीकै अभाव हुने भएको हो।  
तरहरामा २५ र बेलबारीमा ७० हेक्टर भूभागमा जडीबुटी खेती हुँदै आएको छ। पछिल्लो समय क्यामोमाईल सँगै सिटोनेला, लेमनग्रास, पामारोजा, फ्रेन्च वेलिस, मेन्था, मसला लगायत जातका जडीबुटी उत्पादन हुँदै आएका छन् ।