हो हाम्रो देश नेपालमा पर्यटकीय सिजन सकियो भन्दा पनि हुन्छ । किनभने नेपालमा मुख्य दुई सिजन रहने गरेको मध्य चैतदेखि मध्य जेठसम्म र असोज अन्तिमदेखि मङ्सिर अन्तिमसम्म । हुन त नेपाललाई वर्षैभरि, बाह्रै महिना, सातै दिन, २४ सै घण्टा पर्यटकीय सिजन वा भनौँ पर्यटकमय बनाउन नसकिने होइन । 
तर, यो लेखमा नेपाल आउने पर्यटक कसरी धेरै भन्दा धेरै गुणस्तरीय बनाउन सकिएला ? भन्ने सम्बन्धमा फेरि बहस र छलफल गर्न सुरु गर्ने कि ? भन्ने हो । किनभने, अब हाम्रो देश नेपालमा सङ्ख्यासँगै गुणस्तरीय पर्यटक पनि बढी भन्दा बढी कसरी भित्र्याउने वा भनौँ प्रवद्र्घन गर्ने ? भन्ने सम्बन्धमा पनि नेपालको योजना बनाउने र नीति निर्माण गर्ने तहमा बसेका योजनाविद् र रणनीतिकारलाई सम्झाउने कि ? भन्ने हो । हुन त उनीहरूले यस विषयमा प्रशस्तै छलफल र बहस गरेका होलान् ! यसरी नेपाली पर्यटन उद्योगमा गुणस्तरीय पर्यटन प्रवद्र्घन गर्ने सम्बन्धमा भुटानसँग धेरै सिक्न सकिने देखिन्छ । त्यसैले यो लेखमा भुटान सरकारको पर्यटन नीतिका बारेमा पनि थोरै चर्चा गरिने छ ।  
भुटानबाट हामीले गुणस्तरीय विदेशी पर्यटन प्रवर्द्धनका सन्दर्भमा धेरै ठुलो र महत्त्वपूर्ण कुरो सिक्न सक्छौँ । किनभने, विगत लामो समयदेखि भुटानले जति पनि विदेशी पर्यटक भित्र्याउने नीति लिएको छ, ती सबै पर्यटक गुणस्तरीय र खर्चिला हुने गरेका छन् । हुन पनि भुटान सरकारको पर्यटन नीति नै खर्चिला विदेशी पर्यटकलाई मात्रै आफ्नो देशमा भित्र्याउने नीति छ । त्यसैले हामीले पनि गुणस्तरीय र बढी खर्च गर्ने पर्यटक भित्र्याउने सम्बन्धमा के–कस्ता खालका नीति, नियम, ऐन, कानुन, कार्यविधिहरू बनाउन उपयुक्त हुन्छ ? सो सम्बन्धमा भुटानबाट धेरै सिक्न सकिन्छ । के भनिन्छ भने भुटान सरकारले आफ्नो देशमा विदेशी पर्यटकको सङ्ख्या बढाउनकै लागि भनेर जसलाई पायो, त्यसलाई (विदेशी पर्यटक नै भए पनि) पर्यटक मानेर आफ्नो देशमा ह्वारह्वारती प्रवेशाज्ञा दिँदैन । यसले देखाउँछ, भुटान सरकारको ध्यान आफ्नो देशमा आउने विदेशी पर्यटकको सङ्ख्या थोरै नै भए तापनि ती पर्यटकहरू गुणस्तरीय होउन् भन्नेतर्फ विशेष ध्यान दिएको देखिन्छ ।
भुटान सरकारको मातहतमा रहेको पर्यटन सम्बन्धी सरकारी निकाय 'टुरिजम काउन्सिल अफ भुटान' (टीसीबी) ले प्रकाशित गरेको भुटान सरकारको पर्यटन सम्बन्धी नीति तथा कार्यक्रम हेर्ने हो भने के प्रस्ट हुन्छ भने कुनै पनि विदेशी पर्यटकले भुटान छिर्ने बित्तिकै कम्तीमा प्रति व्यक्ति दैनिक दुई सय अमेरिकी डलर खर्च गर्नै पर्छ । अझ भुटानको विभिन्न क्षेत्रको भ्रमण गर्न ट्रेकिङ, साइट सिन, जङ्गल सफारी, कल्चरल टुर, साइक्लिङ, बर्ड वाचिङ आदिका लागि अफ सिजन र पिक सिजन गरेर दुई सिजनमा विभाजन गरिएको छ । सो अनुसार विदेशी पर्यटकलाई भुटान सरकारको आधिकारिक निकाय टीसीबीले प्रति व्यक्ति, प्रति दिन खर्चको सीमा तोकिदिएको छ । 
भुटान सरकारले तोकेको खर्चको सीमाअनुसार अफ सिजनमा भुटान घुम्न चाहने विदेशी पर्यटकले (जनवरी, फेब्रुअरी, जुन, जुलाई, अगस्ट र डिसेम्बर) मा प्रति व्यक्ति प्रति दिन दुई सय अमेरिकी डलरमा प्याकेज बुक गर्नु पर्छ भने पिक सिजनमा भुटान भ्रमण गर्न चाहने विदेशी पर्यटकले (मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोबर र नोभेम्बर) प्रति व्यक्ति प्रति दिन दुई सय पचास अमेरिकी डलरमा बुक गर्नु पर्छ । कुनै पनि विदेशी पर्यटक भुटानमा रहँदा तीन तारे होटेलमा बस्नु पर्छ । अन्यथा चार तारे वा पाँचतारे होटेलमा बस्ने हो भने त्यस्ता विदेशी पर्यटकले अतिरिक्त प्रिमियम तिर्नुपर्ने भनी टीसीबीले आफ्नो ‘कोड अफ कन्डक्ट’मै उल्लेख गरेको छ । साथै भुटान भ्रमणमा आउने विदेशी पर्यटक कम्तीमा तीन जनाको समूह हुनै पर्ने नियम छ । 
भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी  पर्यकटबाट लिने दैनिक दुई सय र दुई सय पचास अमेरिकी डलर (सिजन अनुसार) मध्ये ६५ अमेरिकी डलर ‘दिगो विकासका लागि पर्यटन’ कार्यक्रमका लागि ट्रेकिङ/ट्राभल अपरेटरहरूबाट सीधै कटौती गर्छ । त्यसरी छुट्ट्याइएको रकम भुटानी जनताका लागि निःशुल्क शिक्षा, स्वास्थ्य, गरिबी निवारण, ग्रामीण विकास आदिका लागि भवन निर्माण आदिमा खर्च हुन्छ । 
त्यस्तै भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि विभिन्न सहुलियत र छुटहरू पनि दिएको देखिन्छ । केही उदाहरणहरू हेरौँ । जस्तो, पाँच वर्षभन्दा कम उमेरको लालाबाला पर्यटक भए भिसा चार्ज ४० अमेरिकी डलर मात्रै लिन्छ । बाँकी सम्पूर्ण खर्च निःशुल्क दिन्छ, त्यस्ता लालाबाला पर्यटकलाई । त्यस्तै पाँचदेखि १२ वर्ष उमेर समूहको केटाकेटी पर्यटक भए डेली प्याकेजमा ५० प्रतिशत छुट दिन्छ एवम् प्रकारले विद्यालय वा विश्वविद्यालयको आधिकारिक र प्रमाणित विद्यार्थी परिचयपत्र भएको र उमेर २५ वर्षसम्म भएको पर्यटक भए डेली प्याकेजमा २५ प्रतिशत छुट दिन्छ । ११ जनाको समूह पर्यटक भए डेली प्याकेजमा एक जना पर्यटकलाई ५० प्रतिशत छुट दिन्छ भने, १६ जनाभन्दा माथिको पर्यटक समूह भए डेली प्याकेजमा एक जनालाई शत प्रतिशत छुट दिन्छ । साथै कुनै पनि पर्यटकले भुटानमा आठ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई रोयल्टी दस्तुरमा ५० प्रतिशत छुट दिन्छ भने, १४ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई शत प्रतिशत रोयल्टी दस्तुरमा छुट दिन्छ । 
यसरी हेर्दा विदेशी पर्यटकबाट पैसा लिनका लागि मात्रै पैसा नलिएर भुटान सरकारले आफ्नो देशको भ्रमण गर्न आउने विदेशी पर्यटकहरूलाई विभिन्न सेवा र सुविधाहरू पनि दिएको देखिन्छ ।
थप केही जानकारी चाहिए: ९८४९९८५९९७, ९८६२४३६०४९