लोकराज निरौला
विश्व मानव समुदायमा चारवटा पक्षहरूको धेरै समर्थन, विरोध, आलोचना खिसिटियुरी, व्यङ्ग्य र मानमर्दन हुने गर्दछन् । ती हुन राजनीति मदिरा, महिला कथित तल्लो जात वर्ग भनिएका श्रमिक वर्ग । गुणस्तरीय वा कमसल मदिरालाई विश्व बजारबाट हटाई दिने हो भने विश्वको आधा व्यापार बन्द हुन्छ । उच्च घराना  वा निम्न वर्ग वा जात भनिएका श्रमजीवी वर्गले निर्माण र उत्पादनमा श्रम नगरिदिने हो भने विश्वको अर्थतन्त्रमा उत्पादन नै बन्द हुन्छ ।
यी सबै पक्षको नियमन, नियन्त्रण, व्यवस्थापन तथा सञ्चालन गर्ने माउ नीति राजनीति नै हो र राजनीति कुनै मुलुकहरूमा धार्मिक दर्शन र मूल्य मान्यताबाट निर्देशित होला कतै लोक कल्याणकारी राज्य व्यवस्थाको सिद्धान्त र विचारधारा निर्देशित होला कतै राजनीतिक दर्शन र सिद्धान्तबाट निर्देशित भएका हुन सक्छन् । जुन दर्शन र विचारबाट राजनीतिक निर्देशित हुन्छ, त्यसको चरित्र वर्ग पक्षधरता कुनै पनि घटना, परिघटना र वर्ग लिङ्ग वा वस्तुलाई हेर्ने बुझ्ने दृष्टिकोण पनि फरक फरक हुन्छन् । अध्यात्मवादी दर्शनबाट निर्देशित राजनीतिले चलन परम्परालाई मानव समुदायलाई दमन शोषण उत्पीडन नै भए पनि यसलाई बदल्न फेर्न हुँदैन भन्ने मान्यता राख्दछन् । उनीहरूको पक्षधरता पनि कथित उच्च जाती पुँजीपति वर्गको पक्षमा नै हुने गर्दछ । 
पुँजीवादी लोककल्याणकारी राजनीतिक विचारधाराबाट निर्देशित राजनीतिले वर्गीय रूपमा पुँजीपति वर्ग र मध्यम वर्गकै पक्षधर लिएता पनि लोकतन्त्र, मानव अधिकार, वर्गीय उत्थान कथित तल्लो भनिएका जाती समुदाय र महिला अधिकारका बारेमा आदर्शवादी कुरा गर्न उनीहरू माहिर हुन्छन् तर उनीहरू व्यवहारमा लागू गर्दैनन् । उनीहरूको उत्पीडित जाती, समुदाय, वर्ग, लिङ्ग, शिक्षा कला, साहित्य, संस्कृति, श्रमलाई हेर्ने बुझ्ने दृष्टिकोण पनि स्पष्ट हुँदैन ।
मार्क्सवादी राजनीतिक दर्शनको धरातलमा टेकेर समाजवादी विचारधाराद्वारा निर्देशित राजनीतिकले मात्र वर्ग र वर्ग शत्रुको किटान गर्दछ । यो राजनीतिक विचार धाराले मात्र श्रमजीवी वर्ग उत्पीडित जाती समुदायको पक्ष लिन्छ । मानवले मानव माथि गरिने सबै खाले विभेद अन्याय आत्मोद्धार शोषण दमन, धर्म परम्परा संस्कार संस्कृतिबाट हुने विभेद र शोषणको प्राकृतिक नियम र विज्ञान सम्मत रूपमा यसको मुक्ति र समाधान गर्ने समर्थन, समाजवादी राजनीतिक विचारधाराले नै गर्दछ । मानवको आचरण व्यवहार र चरित्र निर्माणका लागि शिक्षा भाषा साहित्य कला संस्कृति कस्तो हुनु पर्दछ भन्ने वैज्ञानिक र स्पष्ट दृष्टिकोण पनि यही विचारधाराले राख्दछ । जसलाई हामी कम्युनिस्ट राजनीतिक विचारधारा र संस्कृति भन्दछौँ । 
आजभोलि हाम्रो समाजमा धेरै आदर्शवादी बौद्धिक विलास गर्ने स्वतन्त्र हौ भन्ने भुईँफुट्टा राजनीति गर्नेहरूले पुराना परम्परागत राजनीतिक दलहरूले केही गरेनन् राजनीतिक दलहरूको विकल्पमा कथित स्वतन्त्र व्यक्ति र शक्तिमा राज्य सञ्चालन गर्न दिएमा जादुको छडी नै चलाए झैँ राष्ट्रको अवस्था परिवर्तन गर्दछौ भनेर स्यालको हुइयाँ नै चलाई रहेका छन् र मान्छेलाई भ्रम पनि पार्न सफल भईरहेका छन् । यो कुनै राजनीतिक दर्शन र विचारमा आधारित वा कुनै अध्ययन अनुसन्धानबाट निकालिएको निष्कर्ष पनि होइन यो एउटा लहडवाजी कुरा हो । यस्ता लहडवाजी कुराले केही समयसम्म मानिसलाई भ्रममा राख्न सक्छ र पछि विलोप हुँदै जान्छ यस्तो बेधारे भुईँफुट्टा राजनीतिक गर्ने भँडुवा आदर्शवादीहरूले यस्तो पनि भ्रम पारेका छन् कि समाज, शिक्षा, स्वास्थ्य धर्म परम्परा संस्कार संस्कृति कला साहित्य केहीमा राजनीतिक विचार र सिद्धान्त मिसाउनु हुँदैन अर्थात् राजनीतिकरण गरिनै हुँदैन । यो एउटा वर्ग समन्वयवादी आदर्शवादीहरूले छरेको भ्रम मात्र हो ।
सबै नीतिको माउ नीति राजनीति नै भएको हुँदा राज्य व्यवस्थाको विचारधारा र चरित्र जस्तो हुन्छ त्यो राष्ट्रको शिक्षा, स्वास्थ्य समाजको चरित्र पनि त्यस्तै मात्र निर्देशन गर्दछ । राज्य व्यवस्थाको मूल विचारधारा अनुसार त्यसका सहायक अङ्गहरूलाई निर्देश र परिचालन गर्न सकिएन भने राजनीतिक व्यवस्था परिवर्तन गरेर मात्र समाज परिवर्तन हुँदैन। पुरानो परम्परागत रूढिवाद विश्वास र चिन्तनमा लामो समयसम्म हुर्किएर आएका मानिसको चिन्तनमा परिवर्तन आउँदैन । उनीहरूमा त्यही पुरानै व्यवहार चिन्तन अहङ्कार हाबी भइरहन्छ । मानवको चरित्र चिन्तन र व्यवहार र परिवर्तन गराउने कुरा भने त्यति सजिलो छैन । यसलाई दुई वटा क्रान्ति आन्दोलनको बल प्रयोगबाट दोस्रो शिक्षा सचेतनाबाट २००७ साल देखि २०६२।०६३ सालसम्म भएका क्रान्ति दश वर्षे जनयुद्ध हुँदै २०६२/०६३ को जनआन्दोलन सम्म आइपुग्दा राजनीतिक रूपमा मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा स्थापित हुँदा युद्ध क्रान्ति र आन्दोलनको रापतापको बेला श्रमजीवी वर्ग जातीय छुवाछुत क्षेत्रीय वर्गीय लिङ्गीय विभेद र उत्पीडनको बारेमा हेर्ने बुझ्ने र गर्ने व्यवहारमा बलजफती परिवर्तन पनि आयो । युद्ध क्रान्ति र आन्दोलनले ल्याएको परिवर्तनलाई वैधानिक र संस्थागत गर्न नै कुनै पनि धर्म जात वर्ग लिङ्ग, क्षेत्र र  उत्पत्तिका आधारमा विभेद गर्न पाइने छैन यदि यसो भयो भने कानुनी रूपमा दण्डनीय हुनेछ भनेर हामीले संविधानमा व्यवस्था गरेर ऐन नियम कानुन निर्माण गर्‍यौ । अल्पसङ्ख्यक र जातीय क्षेत्रीय वर्गीय रूपमा पछाडि परेका समुदायलाई समावेशी समानुपातिक सिद्धान्तको अवधारणा अनुसार राज्य निकायमा सहभागी गराइने व्यवस्था गर्‍यौ । गणतन्त्रको स्थापना पछि नै छुवाछुत मुक्त राष्ट्रको घोषणा भयो तर पनि हाम्रो चिन्तन र व्यवहारमा जातीय छुवाछुत महिलाहरू माथि हुने लिङ्गिय विभेद मधेसमा बस्ने मधेसीलाई कालो छाला देख्दैमा फरक भेषभूषा र भाषा हुँदैमा उनीहरूलाई मधेषमूलको नेपाली नबुझ्ने क्षेत्रीय विभेदकारी दृष्टिकोणमा किन परिवर्तन आएन ? 
अहिले विभिन्न घटना परिघटनाका विषयहरूलाई लिएर विद्युतीय सामाजिक सञ्जालहरूमा किन भई रहेका छन् जातीय अवहेलनाका गाली गलौजहरु किन विवादमा पर्ने गर्दछन् लेखक कलाकार सर्जकका सिर्जनाहरू, किन बढ्दैनन् धार्मिक विवाद र अतिवादहरु यी विषयहरूमा हामीले गहन अध्ययन विश्लेषण हुन जरुरी छ । यी सब हुनुमा यी विषयवस्तुलाई सही र अग्रगामी राजनीतिक विचारधाराले निर्देशन नगर्नु नै हो । अर्थात् हाम्रो क्रान्ति युद्ध र जनआन्दोलनले स्थापित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको मर्म भावना र चरित्र अनुसार लोकतान्त्रिक संस्कार र निर्माण नहुनु नै हो ।
सही राजनीतिक विचारधाराद्वारा निर्देशित नभएको राजनीतिक व्यवस्था र चरित्र अनुसार निर्माण र  सृजना नभएको कला साहित्य संस्कृति पुँजीवादी उपभोक्तावादी छाडा संस्कृतिहरू यसले बजारमा राम्रो व्यापार गर्न सक्छ । विचार चिन्तनको धरातल कमजोर भएका जमातलाई रोमाञ्चित मनोरञ्जन पनि दिन सक्छ । यस्तो सिर्जना र संस्कृतिले भावी पीडितलाई कता डोर्‍याउँछ । समाजमा कस्तो प्रभाव पार्छ ? जाती वर्ग समुदायमा कस्तो असर पार्छ भन्ने तर्फ ध्यान दिँदैनन् र उनीहरूको चिन्तन अनुसार यो ध्यान दिई रहनु पर्ने विषय पनि होइन । हिजो यो परिवर्तनको विरुद्धमा रहेका र यो परिवर्तन ल्याउन दुःख नगरेकाहरूलाई यस कुरासँग सरोकार पनि छैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएपछि के कस्ता ऐन कानुन बने, त्यतातिर उनीहरूलाई हेक्का पनि छैन । हेक्का भएता पनि उनीहरू महिलालाई किन यत्रो अधिकार, दलितलाई किन यत्रो सुविधा, मधेसीलाई किन आरक्षण, बालबालिकाहरूलाई किन बजेट जस्ता पश्चगामी कुरा गरिरहेका छन् । यस्तै चिन्तन राख्नेहरूबाट जातीय सद्भाव सामाजिक सद्भाव खलबल्याउने खालका जातीय र अवहेलनाका गाली गलौजहरु सामाजिक सञ्जालमा आएका हुन् । हुन त मान्छेले लगाउने भेषभुषा र बोल्ने भाषा शैलीले उसको गुण र चेतनास्तरको पनि निर्धारण गर्दछ ।  अहिले यिनीहरूलाई बल प्रयोग गरे नियन्त्रण गर्न सक्ने पनि अहिले सम्भावना छैन । 
अव लोकतान्त्रिक संस्कृति निर्माणको लागि लोकतान्त्रिक गणतन्त्रको मर्म भावना र राजनीतिक विचारधारा अनुसार शिक्षाको चरित्र निर्माण गर्न हाम्रो विद्यालय तहमै राजनीतिक दर्शन बारेमा आधारभूत अध्ययन हुन जरुरी छ । हाम्रा कला साहित्य सिर्जनाहरूमा श्रमजीवी मजदुर वर्ग महिलालाई विभेद र अवहेलना गर्ने, कथित दलित समुदायलाई हिजोका जाली फटाहा शोषक सामन्त उच्च जातीय अहंकारवादीहरुले प्रयोग गर्ने उखान टुक्का विभेद र अवहेलना गर्ने खालका शब्द भाषा शैली प्रयोग गरेर साहित्य कला सिर्जना गर्ने उनीहरूको जीवन शैलीलाई अपमान गर्ने साहित्य संस्कृतिले लोकतान्त्रिक संस्कृतिको निर्माण हुँदैन लोकतान्त्रिक संस्कृतिको निर्माण बिना सभ्य सुसंस्कृत समाजको निर्माण हुँदैन ।