हो, सन् २०२० मा विश्व पर्यटन क्षेत्रले ठुलो सङ्ख्यामा पर्यटकको सङ्ख्या मात्रै गुमाएन, पर्यटनबाट हुने आय स्रोत पनि ठुलो मात्रामा गुमाएको थियो । सँगै १० खर्ब ३ अर्ब अमेरिकी डलर खुद आम्दानी पनि गुमाएको थियो । सो सम्बन्धमा संयुक्त राष्ट्र सङ्घको मातहतमा रहेको विश्व पर्यटन सङ्गठनले एक प्रतिवेदन प्रकाशित गरेको थियो । 
सो प्रतिवेदन अनुसार सन् २०२० मा पर्यटन उद्योगबाट गुमेको आमदानी रकम सन् २००९ मा विश्वव्यापी रूपमा छाएको आर्थिक मन्दीको समयमा विश्व पर्यटन उद्योगले गुमाएको आमदानी भन्दा ११ पटकले बढी रहेको छ ।  
जब कि, सन् २०२० मा सन् २०१९ को तुलनामा विश्वमा घुम्न निक्लने पर्यटकको सङ्ख्या तीनदेखि चार प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको थियो । तर, के भई दियो भने, सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिणपूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट सुरु भएको नोबेल कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा विश्व भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा ७४ देखि ९१ प्रतिशतसम्म गिरावट आयो । सोही कारण विश्व पर्यटन उद्योगले १० खर्ब ३ अर्ब अमेरिकी डलर बराबरको आम्दानी पनि गुमाएको थियो । 
तापनि सन् २०२१ र सन् २०२२ मा चाहिँ विश्व पर्यटनले बिस्तारै लय समातेको छ । हाल सन् २०२२ को नौ महिना चल्दै गर्दा विश्व पर्यटनले राम्रैसँग लय समातेको छ । त्यसो हुँदा नेपाल लगायत विश्वभरि नै पर्यटन क्षेत्रमा असाध्यै राम्रो उन्नति, प्रगति नभए तापनि नेपालको पर्यटन क्षेत्रले केही न केही उन्नति, प्रगति गरेको छ । अझ नेपालको पर्वतारोहण क्षेत्रमा त नेपाल सरकार र नेपाली पर्यटन व्यवसायीहरूले धेरै राम्रो आम्दानी गर्न सफल भएको छ । किनभने, यो वर्षको शरद ऋतुमा पनि विभिन्न देशका पर्वतारोहीले सगरमाथा लगायत नेपालका अन्य हिमाल आरोहण गर्नका लागि अनुमति लिइरहेका छन् । ८८४८.८६ मिटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा चढ्नका लागि पनि यो वर्षको शरद ऋतुमा पनि केही विदेशी पर्वतारोही आएका छन्, जुन हाम्रा लागि राम्रो र सुखद समाचार हो । 
हाम्रो जस्तो कूल ग्राहस्त उत्पादन (जिडिपी) मा पर्यटन उद्योगको योगदान केवल १.५, २, २.३, २.७, २.९, ३.४, ३.६ देखि बढी मा ४.७ प्रतिशतसम्म रहेको देशमा पनि लगभग दुई वर्षमा कोभिड-१९ को महामारी यता मात्रै ८३ अर्बभन्दा बढी नेपाली रुपैयाँ बराबरको पर्यटन र पर्यटनसँग सम्बन्धित क्षेत्रबाट हुने प्रत्यक्ष आम्दानीमा क्षति भएको थियो । 
त्यस्तै नेपाली पर्यटन क्षेत्रमा लागेका पर्वतारोहण, पदयात्रा, र्याफ्टीङ, होटेल, रेस्टुरेन्ट, होम स्टे आदि क्षत्रेमा लागेका कतिपय मजदुरहरूको त अहिलेसम्म पनि बिचल्ली अवस्था छ भन्दा फरक पर्दैन भने कतिपय दक्ष कामदार र मजदुरहरूले पलायन नै हुनुपर्‍यो । कतिपयले पेसा परिवर्तन गरे । पर्यटन व्यवसायीका लागि भने नेपाल सरकारले सानोतिनो सहुलियत प्याकेज ल्याएको थियो । 
जबकि नेपाली पर्यटन क्षेत्रका मेरुदण्डका रूपमा रहेका मजदुरहरूका लागि पनि सरकारले केही न केही राहत र सहुलियत दरका ऋण प्याकेजहरू ल्याउनुपर्ने थियो । किनभने, मजदुरहरू भनेको केवल पर्यटन क्षेत्रमा मात्रै नभएर जुनसुकै क्षेत्रमा पनि मेरुदण्ड नै हुन् । उनीहरू बिना काम चल्न सक्छ ? तर, पनि नेपाल सरकारले पर्यटन मजदुरहरूका लागि कुनै कार्यक्रम ल्याएन । बरु पर्यटन मजदुरका लागि पनि सरकारले केही न केही राहत प्याकेज र सहुलियत उपलब्ध गराउनु पर्‍यो भनी माग राख्न जाने क्रममा  नेपाल पर्यटन बोर्डमा भेला भएका पर्यटन मजदुरहरूको टोलीलाई प्रहरी प्रशासनले लाठी–मुङ्ग्री ! गरेको थियो । जुन काम पर्यटन मजदुरहरू माथि भएको थियो, त्यो सर्वथा अन्याय भएको थियो । 
विश्व पर्यटन सङ्गठनले प्रकाशित गरेको प्रतिवेदन अनुसार सन् २०१९ भन्दा अघिको अवस्थामा पुग्न विश्व पर्यटन उद्योगलाई नै धेरै समय लाग्ने देखिन्छ । सो अध्ययन अनुसार सन् २०२३ मा ४२ देखि ४३ प्रतिशतसम्म विश्व पर्यटनमा ‘रिकभर’ हुने अपेक्षा गरिएको छ भने सन् २०२५, सन् २०२६ मा बल्ल सन् २०१९ को तहमा विश्व पर्यटनको गतिविधिले सीमा पार गर्नेछ अर्थात् सङ्ख्या र कमाई दुवैमा बढोत्तरी हुनेछ ।  अझ नेपालको पर्यटन उद्योगले त सन् २०२८, सन् २०२९ मा पुग्दा मात्रै सन् २०१९ को स्थितिमा पुग्न सक्ने देखिन्छ । 
त्यसैले नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न कसले के गर्नुपर्ने हो ? भन्ने सम्बन्धमा अहिलेदेखि नै प्राथमिकता क्षेत्र तोकेर अगाडि बढ्नुपर्ने देखिन्छ । तर, नेपाल सरकार र नेपालका पर्यटन व्यवसायीहरूले हालसम्म आधिकारिक रूपमा अध्ययन गरेका छैनन्, प्राथमिकता क्षेत्र तोकेका छैनन्  । 
माथि नै भनिएको छ कि, सन् २०१९ मा भन्दा सन् २०२० मा ३ देखि ४ प्रतिशतले विश्व भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्ने प्रक्षेपण गरिएको थियो । तर, घटेर ७४ प्रतिशतभन्दा पनि कम भयो । स्मरणीय छ, सन् २०१९ मा १ अर्ब ५० करोड मानिसहरू पर्यटक भई (ओभर नाइट स्टे) विश्व भ्रमण गर्न निक्लेका थिए । यसरी हेर्दा विश्व पर्यटन उद्योगले सन् २०२० मा ठुलो सङ्ख्यामा पर्यटक मात्रै गुमाएन कि, पर्यटक गुमाए सँगसँगै पर्यटनबाट हुने आम्दानी पनि ठुलो मात्रामा गुमाएको थियो । विश्व पर्यटन सङ्गठनले प्रकाशित गरेको प्रतिवेदन अनुसार सन् २०२० मा मात्रै पर्यटन क्षेत्र र पर्यटकबाट हुने आम्दानीमध्ये १० खर्ब ३ अर्ब अमेरिकी डलर खुद आमदानी गुमाएको थियो । माथिको तथ्याङ्क भनेको सन् २००९ मा विश्वव्यापी रूपमा छाएको आर्थिक मन्दीको समयमा विश्व पर्यटन उद्योगले गुमाएको आम्दानी भन्दा ११ पटकले बढी हो भन्ने तथ्याङ्कमा उल्लेख गरिएको छ ।  
हुन त सन् २०२० मा समय, परिस्थिति र कोरोना पूर्ण रूपमा हटेर अवस्था सब ठिकठाक ! भएको भए महामारीले विश्वव्यापी असर नपुर्‍याएको भए नेपालमा सन् २०२० मा कम्तीमा पनि २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने नेपाल सरकारको लक्ष्य रहेको थियो । त्यसका लागि तत्कालीन सरकारले सन्–२०२० लाई 'नेपाल भ्रमण वर्ष २०२०' मनाउने घोषणा पनि गरेको थियो । घोषणा गरेको मात्रै होइन फेब्रुअरीको अन्तिम हप्तासम्म त औपचारिक रूपमा कार्यक्रमहरू गर्दै गरेको अवस्था पनि थियो । तर, (कोभिड-१९) को व्यापक असरका कारण विश्वका प्रायः सबै देशले आफ्नो देशमा विदेशीलाई भ्रमण गर्नमा प्रतिबन्ध लगाएसँगै नेपाल सरकारले पनि ढिला गरी ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई स्थगन गरेको थियो, त्यो वेला । त्यसो त कोभिड-१९ को महामारीकै कारणले गर्दा विश्व भ्रमण गर्ने पर्यटकको सङ्ख्या सन् २०२० मा ७४ प्रतिशतले कमी आएको तथ्याङ्क माथि नै उल्लेख गरिसकिएको छ । फलतः नेपालमा सन् २०२० मा केवल २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । यसरी सन् २०१९ को अन्त्यतिर चीनबाट सुरु भएको महामारीले विश्वव्यापी असर नपुर्‍याएको भए निश्चय नै विश्व पर्यटनमा सकारात्मक असरको प्रभाव पर्ने थियो भनी ठोकुवा गर्न सकिन्छ । यसरी हेर्दा आगामी दिनमा पनि हामीले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको सङ्ख्या कसरी बढाउने ? त्यसका लागि फेरि पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ । 
माथि विभिन्न प्रसङ्गमा भनिएझैँ समग्रमा विश्व पर्यटन उद्योगले सन् २०२० मा १०.३ खर्ब अमेरिकी डलर खुद आमदानी गुमाएको भए तापनि नेपालको पर्यटन (खास गरी पर्वतारोहण पर्यटनका लागि) सन् २०२१ र सन् २०२२ को वसन्त ऋतुचाहिँ फलिफाप सिद्ध भएको मान्न सकिन्छ । किनभने, सहयोगी गोरखापत्र दैनिकमा गत वर्ष र केही समयअघि आएको पछिल्लो समाचार अनुसार नेपालमा रहेको विश्वकै अग्लो हिमाल सगरमाथा अर्थात् चोमोलुङमा लगायत १६ वटा हिमाल आरोहणका लागि लगभग सात सय जना विदेशी पर्वतारोहीले आरोहणका लागि अनुमति लिएका थिए । उनीहरूबाट नेपाल सरकारले सलामी दस्तुरबाट मात्रै लगभग ४९ करोड नेपाली रुपैयाँ बराबरको आम्दानी गरेको थियो ।