सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबार देखी धरान रङ्गशाला परिसरमा धरान एक्स्पो २०७९ सुरु भएको छ । उद्घाटन समारोहमा मुख्यमन्त्री, उद्योग वाणिज्य महासङ्घका अगुवाहरूले एक्स्पो आयोजनले मुलुकको अर्थतन्त्र बलियो बनाउन निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे । आयोजक सुनसरी उद्योग वाणिज्य सङ्घले धरान एक्स्पोले धरानको सुस्ताएको उद्योग व्यापारलाई नयाँ गति दिने बताउँदै आएको छ।
कोरोना कालपछि विश्वव्यापी रूपमा आएको आर्थिक मन्दीले नेपाल पनि मुक्त छैन । खुला बजार अर्थतन्त्रले मुलुकको आर्थिक विकासको जिम्मा निजी क्षेत्रलाई लगाएको छ । निजी क्षेत्र इमानदार नभए सम्म आर्थिक विकास सम्भव छैन । मन्दीको बेला नेपाली निजी क्षेत्रको रोइलो अहिले बैङ्कको ब्याजदरमा केन्द्रित छ । राज्य ठोस आर्थिक नीति ल्याउने कुरामा उदासीन देखिन्छ । स्वाभाविक रूपमा सबैको मार अन्ततः आम जनताले व्यहोर्नु परेको छ ।   
यस्तो अवस्थामा आर्थिक गतिविधि चलायमान बनाउन एक्स्पो आयोजना गरिएको दाबी गरिनु अस्वभावीक हुन्न । आर्थिक गतिविधिको कुरा गर्दा इतिहासको कालखण्डमा मेलापात, हाटबजारबाट विनिमय प्रारम्भ भएको हो । अहिलेको विकसित उद्योग, व्यापार व्यवसायको जननी त्यही चलनबाट उठेर भव्य डिपार्टमेन्ट स्टोर, मल सम्म आइपुगेको हो । त्यसलाई धान्न पछिल्लो कालखण्डमा खुला बजार अर्थतन्त्रले उपभोक्तामुखी संस्कृति निर्माण गरेको छ।
सहरमा व्यापारिक मल, डिपार्टमेन्ट स्टोरहरू गाउँमा ग्रोसरीको चलन बढेको छ । रेमिटेन्सको रकम खाद्य वस्तु सम्म आयातित ब्राण्डमा खर्च भइरहेको छ । मुलुकमा स्थानीय स्तरमा घरेलु उद्योगहरूले दैनिक आवश्यकताका उपभोग्य वस्तुहरू उत्पादन नभएका भने होइन । विदेशी ब्राण्डको डिपार्टमेन्ट बजारमा स्वदेशी उत्पादनले उपभोक्ता सँग परिचित हुने अवसर समेत पाउने स्थिति देखिन्न । धरान एक्स्पोमा अवलोकन गर्ने अधिकांश उपभोक्ताले कतिपय स्वदेशी उत्पादन पहिलो पटक देख्न, किन्न पाउँछन् । 
यसलाई धरान एक्सपोको सकारात्मक पक्ष मान्न सकिन्छ । दैनिक उपभोग्य वस्तु, सामाग्रीको उत्पादन नेपालमै हुन थालेको कतिपय उपभोक्तालाई थाहा नभएको हुनसक्छ । ब्रान्डहरूको प्रतिस्पर्धा, गुणस्तर, वास्तविक मूल्य थाहा पाउने अवसर पनि एक्सपोले दिन्छ । बजार भनेको रुचिको वस्तु छान्ने अवसर हो र विज्ञापनमा गरिएको प्रचार भन्दा उपभोक्ताको दुनियाँ ठुलो छ भन्ने सन्देश नयाँ पुस्तालाई एक्स्पोले दिन्छ । समग्रमा यस्ता एक्स्पोहरुले उपभोक्तालाई चेतशील बनाउन सहयोगी सहयोग गर्दछ । 
कुनै बेला पूर्वी पहाडी जिल्ला अहिलेको प्रदेश १ कै व्यापारिक केन्द्र रहेको धरान पहाडी क्षेत्रमा यातायातको सुविधा बढेपछि झण्डै ‘मृत सहर’ पनि बनेको थियो । पछिल्लो समय धरानको अर्थतन्त्र आन्तरिक आर्थिक गतिविधिमा निर्भर छ । धरानबाट ब्रिटिस क्याम्प उठेपछि ठप्प भएको आर्थिक गतिविधि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाले पुनर्जीवित गरेको हो ।
Dharan-Expo-udghatanधरानबाट सरकारी कार्यालयहरू अन्यत्र सर्ने क्रम सँगै उद्योगी, व्यवसायीहरूको पलायनले पनि धरानको आर्थिक क्षेत्रलाई ओरालो लगाउने काम गर्‍यो । पानीको समस्याका कारण धरानमा उद्योग र ठुला पर्यटकीय होटलहरुमा लगानी हुन सकेको छैन । पछिल्लो समय इटहरीको व्यापारिक विकास धरानको लागि थप चुनौती बन्दै गएको छ । धरानलाई उपभोक्ता बजारको रूपमा पनि विकास गर्न नसके धरान आन्तरिक उपभोक्ताको किनमेलको थलो समेत नरहने अवस्था आउने देखिन्छ । 
धरान एक्स्पोको आयोजनाले व्यापारिक गतिविधिलाई पूर्वजीवित गर्ने प्रयास मात्र नभएर धरानको व्यापारिक भविष्यको विकल्प पनि हो भन्ने सन्देश दिएको छ । उद्योग वाणिज्य सङ्घले भने जस्तै बदलिदों परिस्थिति र भूमिकामा धरानको आर्थिक गतिविधिलाई समृद्ध बनाउन व्यापारिक ट्रञ्जिट बनाउने लक्ष्य निर्धारण गर्न जरुरी छ । स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रमा धरानको भएका पूर्वाधारहरू धरानलाई व्यापारिक केन्द्र बनाउन पर्याप्त छन् । केवल यसलाई अधिकतम उपयोगी बनाउने रणनीतिको खाँचो छ ।