धरान : धरान एक्स्पोमा धरान आसपास टाढाबाट आउने सर्वसाधारणका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ । वराहक्षेत्र नगरपालिकाको चतराबाट समेत एक्स्पोमा आउन निःशुल्क बसको व्यवस्था गरिएको हो । धरानमा ४ ठाउँबाट एक्स्पो स्थल धरान रङ्गशाला सम्म निःशुल्क बस चलाइएको छ ।
एक्स्पो आयोजक सुनसरी उद्योग वाणिज्य वाणिज्य सङ्घद्वारा बुधवार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी सार्वजनिक गरिएको हो । सङ्घका कोषाध्यक्ष प्रभाव खतिवडाका अनुसार एक्स्पो आउने निःशुल्क बस पानवारी, बगरकोट, बरगाछी रेल्वे चौकमा लाग्ने छ ।   
निःशुल्क बस आफ्नो सावरी साधन नहुने ज्येष्ठ नागरिक, महिला, बालबालिका सर्वसाधारणको सुविधाका लागि व्यवस्था गरिएको हो । बसले एक्स्पोमा किनमेल, अवलोकनका लागि आउने उपभोक्ताहरूलाई एक्स्पो स्थल धरान रङ्गशाला सम्म ल्याउने छ ।
धरान एक्स्पो आज १० बजे देखी सुरु हुँदैछ । बालबालिकाहरूका लागि खेल तामासा, सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको एक्स्पोका सबै तयारी पूरा भैसकेको पत्रकार सम्मेलनमा सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताए । मेलाको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री हिकमत कार्कीले गर्ने छन् ।
सङ्घका प्रथम उपाध्यक्ष एक्स्पो संयोजक गोपाल श्रेष्ठले धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन एक्स्पो  आयोजना गरिएको बताए । उनका अनुसार एक्सपो विदेशी तथा स्वदेशी दैनिक उपभोग्य वस्तु, सामाग्रीको बृहत् बजारको रूपमा आयोजना गरिएको हो । 
एक्स्पोमा स्वास्थ्य परीक्षण शिविर पनि दैनिक रूपमा चल्नेछ । सङ्घका अर्थ वाणिज्य सचिव किशन मास्केका अनुसार रोटरी क्लब अफ घोपाको आयोजनामा सञ्चालन हुने स्वास्थ्य शिविरमा एक्सोमा आएका सर्वसाधारणका लागि निःशुल्क स्वास्थ्य परीक्षणका साथै परामर्श सेवा सञ्चालन गरिएको हो ।
एक्स्पोमा पाकिस्तान, बङ्गलादेश र भारतका उत्पादनहरूका स्टलहरू ह्याङ्गर प्रविधिमा बनाइएको डोममा रहने बताइएको छ । स्टल संयोजक विष्णु बरालका अनुसार विदेशी सामाग्रीका कुल १५ वटा स्टलहरू एक्सपोमा हुनेछन् ।
पाकिस्तान जनावरको छालाबाट बनेको लेदरका सामानहरू उत्पादन गर्ने मुलुकको रूपमा विश्व प्रसिद्ध छ । नेपालबाट समेत छाला पाकिस्तान निर्यात हुन्छ । एक्स्पोमा महिला पुरुष दुवैका लागि पाकिस्तानी लेदरको ज्याकेट, बेल्ट, क्याप आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ ।
बङ्गलादेशको गार्मेन्टका उत्पादनहरू महिलाहरूका कुर्ता, सुरुवाल, साडी, बालबालिकाका पोसाक आकर्षणको स्टल बन्ने अनुमान गरिएको छ । बङ्गलादेशको गरमेन्टका महिला, पुरुषका पोसाकहरू युरोप, अमेरिकी मुलुकहरूमा निर्यात हुँदै आएको छ । 
भारतीय उत्पादन गार्मेन्टका साथै दैनिक भान्सा तथा घरायसी कामधन्धामा आवश्यक उपकरण, सामग्रीहरू एक्स्पोमा आउनेहरूका लागि किनमेलको आकर्षण बन्ने संयोजक बरालले बताए । भारतीय साडी, कुर्ता सुरुवाल किन्न जोगबनी पुग्नेहरूका लागि एक्स्पोले रङ्गशालामै बजार लगाएको हुनेछ ।
पछिल्लो समय घरायसी कामका ससाना उपकरणहरूले भान्सामा गृहिणीहरूको कामलाई सहज बनाएको छ । तरकारीको बोक्रा ताछ्ने देखि भाँडा बर्तन सफा गर्ने उपकरणहरू पनि बजारमा पाइन्छन् । एक्स्पोमा त्यस्ता सामान ब्राण्डेड कम्पनीको पाइने सुविधा उपलब्ध हुने बताइएको छ ।
विदेशी उत्पादनहरू भन्दा बढी स्टलहरू स्वदेशी उपभोग्य वस्तुहरूको स्टल एक्स्पोमा हुनेछन् । विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न थालेको अल्लोका कपडा सङ्खुवासभाबाट एक्स्पोमा रहने छ । जुम्लाको भीर मौरीको मह, माछाको अचार देखी अर्ग्यानिक र ब्राण्डेड बस्तु एक्स्पोमा किनमेल गर्ने अवसर जुटाइएको छ ।
Dharan-expo-dharan-studiam