• रश्मि प्रधान
धरान : भाषा, संस्कृति तथा पहिचानको चर्को कुरा गरे पनि पछिल्लो समय गाउँ घरका युवाहरूमा बढेको पश्चिमी संस्कृतिको प्रभावले मौलिक पहिचान सङ्कटमा परेको कथामा आधारित नेपाली चलचित्र ‘युक्पुङ’ बस्तीको छायाङ्कन सकिएको छ । 
पूर्वी नेपालको लिम्बु समाजमा प्रचलित भाषा, संस्कार र संस्कृतिमा आधारित नेपाली कथानक  चलचित्रको निर्माण टोलीले आज धरानमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । चलचित्रको नाम लिम्बु भाषामा राखिएको छ । लिम्बुमा ‘युक्पुङ’ भनेको नेपालीमा ‘बस्ती’ हो ।
चलचित्रको पटकथा प्राज्ञ विष्णु मोक्तान र मदन वानेमले तयार गरेका हुन् । निर्देशन दिनेश माङमुले गरेका छन् । केएमडि अर्ग्यानिक ईन्टरटेन्मेन्ट (प्रा)लीको लागि निर्माता नर कुमारी वानेमले सेन्दाङ रहेकी छन् ।
चलचित्रका मुख्य कलाकार, गायक कुशल थलङले पत्रकार सम्मेलनमा भने ‘यो फिल्म अहिलेको हाम्रो गाउँघरको कथामा आधारित छ ।’ लिम्बु समुदायकी एउटी सङ्घर्षरत अविवाहित नारी पात्रको कथामा चलचित्र केन्द्रित रहेको उनले बताए ।
पछिल्लो समय पश्चिमा संस्कृतिको प्रभावले समाजमा जाति, धर्म र पहिचान तीव्र रूपमा अतिक्रमित हुँदै गएको छ । थलङले भने ‘हाम्रै गाउँघरको यस्तो अवस्थाको कथा र दिनचर्यालाई टिपेर ‘युक्पुङ’ चलचित्रको पर्दामा उतारेका छौँ ।’
चलचित्र निर्माणमा कुल ४५ लाख रुपया लागत लाग्ने बताइएको छ । चलचित्रको छायाङ्कन पूर्वका रमणीय स्थलहरू तेह्रथुमको साभ्ला, चोत्लुङ पार्क, धनकुटा र वसन्तपुरमा गरिएको जानकारी दिइएको छ । पोस्ट प्रोडक्सनको काम भइरहेको युक्पुङ १ घन्टा ४० मिनेटको हुने बताइएको छ । 
चलचित्रमा कमला सेन्दाङ, कुशल थलङ, डिबी लिम्बु, याशेली योङ्हाङ, कविता आले, तेज आङ्बुहाङ, पुष्पा वनेम लगायतले अभिनय गरेका छन् ।  
पत्रकार सम्मेलनमा वरिष्ठ कलाकार, निर्देशक प्रेम सुब्बाले नेपाली चलचित्र भारतीय चलचित्रबाट प्रभावित हुने गरेकोमा चिन्ता प्रकट गर्दै मनोरञ्जनका लागि मात्र नभएर संस्कार, संस्कृति बचाउन मौलिक चलचित्र निर्माण गरे मात्र नेपाली समाजको हित हुने बताए ।
याक्थुङ चलचित्र सिनेकर्मी नवीन मेन्याङ्बोले नेपाली फिल्म उद्योगमा ‘युक्पुङ’ अर्को एउटा इँटा थप्ने विश्वास व्यक्त गरे । उनले अरूको नक्कल नगरी आफ्नै जनजीवनको कथा व्यथाले नेपाली सिमेमाको मौलिकपन जोगाउने बताए ।
पत्रकार महासङ्घका सुनसरी अध्यक्ष जनकऋषि राईले हिन्दी चलचित्रबाट प्रभावित भएको फिल्म बनाएर मात्र नेपाली सिनेमा नहुने बताए । उनले भने ‘हाम्रा कथाहरू खोजेर मौलिक कथामा चलचित्र निर्माण गरे सफल भइन्छ ।’