धरान : धरान स्थित पिण्डेश्वर विद्यापीठमा वास्तु इन्जिनियरिङ विषय पठनपाठनको अनुमति माग गर्ने प्रस्ताव कोशी प्रदेश वृत्त संस्कृत शिक्षा सम्मेलनले पारित गरेको छ ।
विद्यापीठमा गत जेठ १६ गते मङ्गलवार सम्पन्न ३ दिने सम्मेलनले संस्कृत शिक्षा प्रणालीलाई व्यवस्थित गर्न १५ बुँदे सङ्कल्प प्रस्ताव सहित पिण्डेश्वर विद्यापीठमा वास्तु इन्जिनियरिङ पठनपाठन माग गर्ने प्रस्ताव पारित गरेको हो ।
सम्मेलनले उक्त विषय पठन पाठनका लागि भौतिक व्यवस्था मिलाउन नेपाल संस्कृत विश्वविद्यालय समक्ष अनुरोध गर्ने प्रस्ताव पारित गरेको हो । विद्यापीठ संस्कृत विश्वविद्यालयको आङ्गिक क्याम्पस हो ।
पूर्वको संस्कृतको उच्च शैक्षिक केन्द्र पिण्डेश्वर विद्यापीठमा जेठ १४, १५, १६ गते कोशी प्रादेशिक संस्कृत सम्मेलन चलेको थियो । प्रदेशमा ५० भन्दा बढी गुरुकुल, १२ संस्कृत मावि र २ संस्कृत विद्यापीठ (क्याम्पस) छन् ।
सम्मेलनमा उक्त शैक्षिक संस्थाहरूबाट २/२ जना प्रतिनिधि, पूर्वका संस्कृत विद्वान, विद्यार्थी प्रतिनिधि सहित २५० भन्दा बढी सहभागी थिए ।
सम्मेलनमा विशेषतः गुरुकुल, संस्कृत मावि र विद्यापीठका समस्यामा छलफल भएको थियो । छलफलबाट समाधानका निष्कर्ष निकाल्दै १५ बुँदे सङ्कल्प प्रस्ताव पारित गरिएको विद्यापीठ प्राचार्य काशीनाथ पौडेलले बताए ।
सङ्कल्प प्रस्तावमा संस्कृत पठन पाठनलाई गुणस्तरीय बनाउन शैक्षिक निकायको सिप, ज्ञान र प्रविधि अर्कोमा हस्तान्तरण गर्ने, मुठीदान, दान दातव्यबाट सञ्चालित गुरुकुलहरूमा सामुदायिक आधारभूत विद्यालय सरह सेवा सुविधाको माग गर्ने कुरा छन् ।
आवासीय शिक्षा, सरकारी बेवास्ता र न्यून विद्यार्थी सङ्ख्याका संस्कृत माविहरूलाई विशिष्ट मानेर तिनीहरूमा पर्याप्त दरबन्दी, शैक्षणिक तालिम, पाठ्य पुस्तक व्यवस्था गर्न माग गर्ने, द्वन्द्वको चपेटामा परेर साधारणमा परिवर्तित संस्कृत माविहरूलाई पुनः ब्युँताउन माग गर्ने प्रस्ताव पारित गरिएको छ ।
सम्मेलनको उद्घाटन नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले गरेका थिए । कुल सचिव माधव अधिकारी, विद्यापीठ व्यवस्थापन समितिका अध्यक्ष गोविन्द तिम्सिना, पितरुमल अग्रवाल, पवन अग्रवाल, ताराकुमार राईले शुभकामना मन्तव्य दिएका थिए ।
सम्मेलनमा पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले जनजातीय भाषा र संस्कृतको सम्बन्ध, प्रा.डा. टङ्क न्यौपानेले-आधुनिक भाषा विज्ञानमा संस्कृत भाषा चिन्तनको प्रभाव, डा.रघुनाथ नेपालले-गुरुकुलीय संस्कृत शिक्षा र शिक्षण पद्धतिहरू, कविराज रामबाबु यादवले योग, आयुर्वेद र प्राकृतिक चिकित्साको सामाजिक उपयोगिता विषयक कार्यपत्र प्रस्तुत गरे ।
यस्तै महेश्वर कोइराला र गोविन्द निरौलाले संस्कृत माध्यमिक विद्यालयका समस्या र समाधान, आइटिका प्राध्यापक सञ्जय निरौलाले संस्कृत शिक्षणमा प्रविधिको प्रयोग, प्रा.डा.सागरमणि सुवेदी र डा.गुरुप्रसाद कोइरालाले गुरुकुल शिक्षाको विगत र वर्तमान विषयक कार्यपत्र प्रस्तुत गरे ।
साथै प्रा.डा. गुरुप्रसाद सुवेदीले गुरुकुलीय विद्यालयहरूमा तह र कक्षा निर्धारण, डा.गोपीकृष्ण खतिवडाले गुरुकुल सञ्चालनका समस्या र समाधान, प्रा.डा.खेमराज खनाल र प्रा.डा. रमेश घिमिरेले गुरुकुल, सं मावि र विद्यापीठको अन्तरसम्बन्ध विषयक कार्यपत्र प्रस्तुत गरे ।
सम्मेलनले सङ्कल्प प्रस्ताव कार्यान्वयन, सहजीकरण गर्न पिण्डेश्वर विद्यापीठका प्राचार्य काशीनाथ पौडेल संयोजक रहेको ११ सदस्यीय समन्वय समिति गठन गरेको छ । सम्मेलन पिण्डेश्वर विद्यापीठ, विजयपुर आध्यात्मिक मञ्च, चन्द्र संस्कृत मावि, पिण्डेश्वर संस्कृत माविले संयुक्त रूपमा आयोजना गरेको हो ।
सम्मेलनको समापन प्रा.पुरुषोत्तम भट्टराई गुरुको प्रमुख आतिथ्यमा भएको थियो । उनले भने ‘हामीले बोलेर मात्र हुँदैन, मन, वचन र कर्मले संस्कृत माताको सेवा गर्नुपर्दछ ।’