धरान : संस्कृत शिक्षालाई समयानुकूल व्यवस्थित गर्दै अध्ययन अध्यापनको विषय विस्तारका सम्भावना माथि प्राज्ञिक छलफल गर्न धरानमा तिन दिने कोशी प्रदेश स्तरीय वृहत् संस्कृत सम्मेलन आइतबार देखी हुँदैछ । सम्मेलन पिण्डेश्वर विद्यापीठ, विजयपुर आध्यात्मिक मञ्च, चन्द्र संस्कृत मावि र पिण्डेश्वर संस्कृत माविद्वारा संयुक्त रूपमा आयोजना गरिएको हो ।

कोशी प्रदेशमा ५० गुरुकुल, १२ संस्कृत मावि र २ संस्कृत विद्यापीठ क्याम्पस समेत ६४ संस्कृत शैक्षिक संस्था सञ्चालनमा छन् । २ हजार बढी विद्यार्थीहरू संस्कृत अध्ययन गरिरहेका छन् । तर वर्तमान शैक्षिक प्रणालीमा शैक्षिक संस्थाहरू बिच तादात्म्य पाइन्न ।

गुरुकुल शिक्षा पुरानो परम्परामा चलिरहेकोले अनौपचारिक जस्तै छ । माध्यमिक तह साधारण विद्यालयमा रूपान्तरण गरिएकाले संस्कृत केन्द्रित हुन सकेको छैन । विद्यापीठका प्राचार्य काशीनाथ पौडेलले भने ‘संस्कृतका विद्यार्थीहरू उच्च शिक्षाका विद्यापीठ सम्म आउन व्यवस्थित प्रणाली बनाउन आवश्यक छ ।’

सम्मेलनमा यसै विषयमा ३ वटा संयुक्त समेत कार्यपत्र ५ जना प्राध्यापकहरूले प्रस्तुत गर्नेछन् । गूरुकल सञ्चालनमा समस्या र समाधान विषयमा झापाका प्राध्यापक छन्दुराम भण्डारी र गोपीकृष्ण खनालले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

गुरुकुल, संस्कृत मावि र विद्यापीठको अन्तरसम्बन्ध विषयमा डा.खेमराज खनाल र डा.रमेश घिमिरेले कार्यपत्र प्रस्तुत गर्नेछन् । गुरुकुलिय पठन पाठनमा तह र कक्षा निर्धारण विषयमा डा.गुरुप्रसाद सुवेदीले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यस्तै डा. रघुनाथ नेपाल, प्रा.डा.गोविन्द तुम्बाहाङ, गोविन्द निरौला, महेश्वर कोइराला, प्रा.डा. सागरमणि सुवेदी, डा.गुरु प्रसाद कोइराला, प्राडा. टङ्कप्रसाद न्यौपाने, आइटिका प्राध्यापक सञ्जय निरौलाले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलन जेठ १४, १५ र १६ सम्म सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा प्राचार्य पौडेलले बताए । उनका अनुसार २०६८ को जनगणना अनुसार नेपाली संस्कृत भाषीहरू मध्ये ९० प्रतिशत तत्कालीन पूर्वाञ्चल विकासक्षेत्रमा बसोबास गरेको उल्लेख छ ।

गुरुकुल शिक्षा जनस्तर,धेरै दान दातव्य र थोरै सरकारी अनुदानबाट सञ्चालन भइरहेको प्राडा.चन्द्रमणि नेपालले बताए । गुरुकुलको पाठ्यक्रम हालै मात्र गुरुकुल शिक्षा परिषदबाट तयार भएको हो । आधारभूत शिक्षाको रूपमा गुरुकुलका विद्यार्थीलाई कक्षा ७ अध्ययन गरेको सरकारले मान्यता दिई कक्षा ८ मा भर्ना दिइने गरिएको छ ।

विद्यापीठका उपप्राध्यापक डा.भवानी शङ्कर भट्टराईका अनुसार सम्मेलनले प्रदेशमा आयुर्वेद र प्राकृतिक चिकित्सा सम्बद्ध एक अध्ययन केन्द्र आवश्यक भएको विषयमा स्थापनार्थ सरकारलाई ध्यानाकर्षण गराउने छ । योग, आयुर्वेद र प्राकृतिक चिकित्सा, वास्तु इन्जिनियरिङ आगामी शैक्षिक सत्रमा सञ्चालनमा ल्याउन सामाजिक उपयोगिता प्रस्तुत गरिने छ।

सम्मेलनले संस्कृत शिक्षणमा आयुर्वेद, प्राकृतिक चिकित्सा, योग, कम्प्युटरजस्ता प्राविधिक तथा व्यवहारोपयोगी विषयको पठनपाठनका लागि योजना तर्जुमा गर्नेछ । अव्यवस्थित किसिमले चलिरहेका संस्कृत शिक्षालयहरू बिच आपसी समन्वय कायम गराई पठनपाठन तथा व्यवस्थापनमा एकरूपता कायम गराउने सामूहिक प्रतिबद्धता जाहेर गरिने छ।

गुरुकुल तथा संस्कृत माविका शिक्षक दरबन्दी समस्या समाधान गर्न, शिक्षक, विद्यार्थीलाई समय समयमा प्रशिक्षण दिन, पाठ्यक्रम र पाठ्यपुस्तकबारे अभिमुखीकरण गराउने विषयमा छलफल गरी निष्कर्ष निकालिने प्रा.डा.रमेश घिमिरेले बताए । सम्मेलनको उद्घाटन नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रसाद लामिछानेले गर्नेछन् ।