धरान : असमकी नेपाली साहित्य सभाका सभापति दुर्गा खतिवडा, स्रष्टा डा.सुकराज दियाली सहित धरानका साहित्यकारद्वय राजकुमार कार्की, भवानी खतिवडा तथा विमल पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङ आज शुक्रवार सम्मानित भएका छन् ।

उनीहरूलाई साहित्यकला संस्कृति प्रतिष्ठान धरानद्वारा आयोजित दोस्रो अन्तर्राष्ट्रिय साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सवमा सम्मानित गरिएको हो । प्रतिष्ठानले पहिलो महोत्सव २०७७ सालमा आयोजना गरेको थियो ।

महोत्सवको उद्घाटन समारोहमा समाजसेवी रम्भादेवी कर्माचार्य, संस्थागत रूपमा अमर सेवा समाजलाई कदर प्रदान गरिएको छ । भारत सिलिगुडीका स्रष्टा कृष्ण प्रधानलाई यसअघि टङ्क प्रसाद न्यौपाने अध्ययन केन्द्रले प्रदान गरेको सम्मान-पत्र सोही अवसरमा हस्तान्तरण गरियो ।

सम्मानितहरूलाई प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले दोसल्ला ओढाएर सम्मान-पत्र प्रदान गरेका हुन् ।

महोत्सवको उद्घाटन समारोहमा मन्त्री राईले भने ‘प्रकृतिलाई सिगारे संस्कृति, बिगारे विकृति हुने भएकाले भाषा साहित्य रुपरंगहरु अलग हुने गरेको भएता पनि पहिचान भावनासँग जोडिएको हुन्छ ।’

नेपाली भाषा संस्कृतिको दायरा संसार भरी फैलिएको बताउँदै उनले भावनाको व्यापकतालाई सीमा रेखाले नछेक्ने बताउँदै भने ‘अनेकतालाई एकतामा ल्याउने भावना नै साहित्य हो ।’

समारोह बिच मन्त्री राई, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, प्राडा टङ्क न्यौपाने, कवि बम देवानलाई आसाम साहित्यिक समाजद्वारा भारत आसमको जातीय पहिरन ‘जापी र सेलेङ’ लगाई दिएर सम्मान गरियो ।

साथै कवि इन्दु योञ्जनको ‘अन्तिम सेलो’ र दार्जिलिङका कवि राजेन्द्रकुमार प्रधान पासाको ‘तरङगीत छालहरू’ कविता संंग्रह, निरौला परिवार आसामको गीत विमोचन गरियो ।

महोत्सवमा नेपाल-भारतका कला संस्कृति र पहिचानका गीत, सङ्गीत, कविता र साहित्य प्रस्तुत प्रस्तुति सँगै मौलिक प्रकृतिका उपहार आदान प्रदान गरियो ।

आयोजक संस्थाका संरक्षक धरान-१३ का वडाध्यक्ष नेत्र काफलेले महोत्सवले धरानको पर्यटन प्रवर्द्धन सँगै बजारीकरण गरेको बताए । भौतिक पूर्वाधारको विकास सँगै बौद्धिक विकासका लागि २०७४ मा  साहित्य कला प्रतिष्ठान गठन गरिएको जानकारी दिए ।

प्रतिष्ठानले पहिलो पटक २०७७ सालमा महोत्सव आयोजना गरेको थियो । कोरोना महामारीका कारण महोत्सवलाई निरन्तरता दिन नसकिएको उनले बताए ।

महोत्सवको दोस्रो सत्र शनिवार दिनभर सञ्चालन भई समापन हुनेछ । उद्घाटन समारोहमा नेपाल संस्कृत विश्वविद्यालय शिक्षाध्यक्ष प्रा.डा.भीम प्रसाद खतिवडा, कवि अनिल पौडेल, प्राडा गोपाल भण्डारी, प्राज्ञ प्राडा खेमराज खनाल, प्राज्ञ पञ्चमाया ताम्ली, प्राडा सागरमणि सुवेदी, प्राडा रमेश घिमिरे उपस्थित थिए ।

यसअघि छाता चोक देखि कार्यक्रम स्थल धरान बेङ्क्वेट सम्म सांस्कृतिक झाकी सहित प्रभात फेरी गरिएको थियो । समारोहको सभापतित्व संयोजक वरिष्ठ कवि बम देवानले गरेका थिए । सञ्चालन सञ्जु राईले गरेकी थिइन् ।

महोत्सवमा भारतको गुवाहाटी, बगईगाउ, सिलगुडी, दार्जिलिङ, खर्साङ, कालिम्पोङ, मणिपुर, बाक्सा, तेजपुर, सोननादा, कार्बी आङलाङ, जागुन, सुक्ना, विश्वनाथबाट सय जनाको सङ्ख्यामा स्रष्टाहरू आएका छन् ।

sahitya-mahostsab2