धरान : हरेक वर्ष बोलबम मेलामा आउनेको भिडसँगै साउन महिनाको अन्तिममा लाखे नाचको रौनक देखिन्थ्यो । यसपाली भने साउन महिनामा मलमास परेकाले सबैजसो चाड दुई हप्ता पछाडि सरेसँगै लाखे नाच पनि साउन अन्तिममा नदेखिने भएको छ ।

मलमास अर्थात् अधिक मास । यसलाई पुरुषोत्तम मास पनि भनिन्छ । प्रत्येक तीन वर्षमा एक पटक आउने मलमासमा मन्दिर निर्माण गर्न तथा कुनै देवीदेवताको प्राण प्रतिष्ठा गर्न शास्त्रीय निषेध रहेको पिण्डेश्वर क्याम्पसका प्राध्यापक दीपक पराजुलीले बताए।

मलमासको निर्णय सूर्य सङ्क्रान्तिको आधारमा गरिन्छ । उनले भने, ‘जुन महिनामा सूर्य सङ्क्रान्ति हुँदैन त्यसलाई अधिक मास भनिन्छ ।’ उनका अनुसार वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ ।

सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि ‘अधिक मास’को व्यवस्था गरिएको पाइन्छ ।

प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मलमासको स्वामी छैनन् । यस कारण अधिक मासमा सम्पूर्ण शुभ कार्य, देव कार्य एवं पितृ कार्य वर्जित मानिएको उनले बताए ।

उनले भने,‘मलमासमा विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटिहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्म गर्नु हुँदैन ।’

धरानमा नेवार समुदायले साधरणतया क्वाँटी पूर्णिमाको दिनबाट लाखे नाच सुरु गर्ने गर्दथे । २०७९ सालमा साउन २७ गते परेको क्वाँटी पूर्णिमा यो वर्ष मलमासका कारण भदौ १४ गते परेको छ ।  कृष्णाष्टमी भदौ २० गते परेको छ ।

यही कारण यो वर्ष धरानमा भदौ ४ अर्थात् नागपञ्चमीबाट लाखे नाच सुरु गर्ने तयारी भइरहेको नेवा: सांस्कृतिक कला मञ्चका संस्थापक नवीन टमोटले बताए । उनले भने ‘अरुबेला क्वाँटी पूर्णिमादेखि लाखे नाच हुने भए पनि योपाली नागपञ्चमीबाट सुरु गर्ने तयारी गरेका छौ ।’

धरानमा सिंहदेवी मन्दिरमा पूजा गरेपछि लाखे नाच सुरु गरिन्छ । कृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात् रथयात्राको दिन गीता मन्दिर वा कृष्ण मन्दिरमा लाखेको वध गरी लाखे नाचको विसर्जन हुन्छ ।

कृष्णलाई वध गर्न कंशले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ । नेवार समुदायमा लाखेको मुखुण्डो बनाउने र लाखे निकाल्ने बेलामा पूजापाठ गर्नुपर्ने प्रचलन छ ।

तर पछिल्लो पुस्तामा लाखे नाच हराउँदै गएकाले परम्परागत पूजापाठको विधि पुर्याउने प्रक्रिया मात्र अपनाइन थालिएको नवीन टमोटले बताए । उनले भने ‘यसको संरक्षण गर्न हरेक वर्ष लाखे नाच गर्दै आएका छौँ, अरूले सहयोग गर्लान् भनेर नभई हामी रहेसम्म लाखे नाच हराउन दिन्नौँ ।’

धरानमा प्रत्येक वर्ष नेवा: सांस्कृतिक कला मञ्चले सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्दै आएको छ । कार्यक्रममा लाखे नाचसँगै विभिन्न देवीदेवताका नाच र सोह्रौँ शताब्दीदेखि प्रचलनमा आएको नौ बाजा समेत बजाउने गरिन्छ ।

अहिले परम्परादेखि नेवारी समुदायमा बजाइँदै आएको नौ बाजाको आकर्षण घट्दै गएको छ । कला मञ्चले आयोजना गरेको सांस्कृतिक कार्यक्रमले यसको महत्त्व र इतिहासबारे जनचेतना फैलाउने गरेको टमोटले बताए ।

तर यो वर्ष धरानमा महामारीको रूप लिइरहेको डेंगुका कारण बहुसांस्कृतिक कार्यक्रम अन्योलमा परेको उनले बताए । भने ‘हामीले संस्कृति जोगाउन वर्षै पिच्छे कार्यक्रम आयोजना गर्दै आएका छौ तर यो पाली डेंगुका करण कार्यक्रम हुने वा नहुने भन्ने तय भएको छैन ।’

सबै कुरा ठिक भएमा भदौ ११ गते कार्यक्रम हुने सम्भावना रहेको टमोटको भनाई छ ।