धरान : धरानमा सोमबार नेवारी समुदायको सांस्कृतिक लोक नृत्य लाखे नाच धरानको भानुचौकमा बृहत् प्रदर्शनी हुने भएको छ । 

नेवा: देय् दबूँ धरान उपमहानगर समितिको आयोजनामा हुन लागेको लाखे नाच प्रर्दशनीमा धरानका नेवारी समुदायका १९ वटा संस्थागत समूहहरूको सहभागिता रहने आइतबार दबूँले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । 

पछिल्लो समय आदिवासी जनजातिहरूको संस्कृतिलाई विभिन्न उत्सव र समारोहमा प्रदर्शन गरिनुले यसले विकृति ल्याएको बताउँदै लाखे नाच नाच्ने समय नाग पञ्चमी देखि कृष्ण अष्टमीको भोलिपल्ट सम्म नाचिने परम्परा नेवारी समुदायमा रहेकोले यो सांस्कृतिक लोक नृत्य लाखेको संरक्षण, प्रवर्द्धन गर्नका लागि सामूहिक लाखे नाच प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको नेवा: देय् दबूँ धरान उपमहानगर समितिका अध्यक्ष मनोहर शाक्यले बताए । 

धरानमा नेवार समुदायको मौलिक सांस्कृतिक लोक नृत्य लाखे नाच नेवार समुदायले मात्रै नभएर गैर नेवार समुदायले पनि नाच्ने र आर्थिक सङ्कलन गर्ने गरेको पाइएकोले यस पटक अनिवार्य नेवा: देय् दबूँ धरान उपमहानगर समितिमा नेवार समुदायका विभिन्न समूहका लाखे नाचहरूले दर्ता गर्नुपर्ने भन्दै नौ बुँदे जनहितमा जारी सुचनानै प्रकाशित गरेको छ । सोही अनुसार अहिले धरानमा विभिन्न समूहले लाखे नाच नाचिरहेको अध्यक्ष शाक्यले पत्रकार सम्मेलनमा जानकारी दिए । 

सोमबार धरानको भानुचौकमा साँझ ५ बजे देखि ९ बजे सम्म हुने बृहत् लाखे नाच प्रदर्शनीमा धरानका १९ समूह र दाफा भजन सहितको नाँच पनि प्रस्तुत हुने बताइएको छ । सो कार्यक्रममा धरान उपमहानगरपालिकामा स्थानिय तह निर्वाचनमा निर्वाचित मेयर उपमेयर सहित नेवार समुदायका जनप्रतिनिधिहरूलाई सम्मान गर्ने पनि कार्यक्रम रहेको छ । त्यो सँगै यस पटक धरानको पुरानो लाखे समूहलाई पनि सम्मान गर्ने बताइएको छ ।