• डम्बर चेम्जोङ

दशैंजस्तो चाडपर्वलाई राजनीतिक, धार्मिक, सांस्कृतिक, सामाजिक अनेक कोणहरूबाट हेर्न अर्थ्याउन सकिन्छ । दशैंलाई चाडपर्व मान्नुअघि चाडपर्व भनेको के हो ? यसमा मूलतः के गरिन्छ भन्ने जान्नु उपयुक्त हुन्छ । कुनै नेपाली सामाजिक सांस्कृतिक समूहले दसैँ सामाजिक रूपमा मात्र मनाउँछन् कि धार्मिक सांस्कृतिक तहमा समेत मनाउँछन् भनी बुझ्न सकियो भने दसैँको अर्थ सम्पूर्णतामा खोज्न सकिन्छ जस्तो लाग्छ ।

अझ मानव शास्त्रीहरू त चाडपर्वमा वा समाजहरूमा सम्पन्न गरिने विभिन्न पूजा-आजाहरूको राजनीतिक अर्थ र प्रयोजन हुन्छ भन्दछन् र सोही अनुरूप अध्ययन गर्दछन् । कस्तो खाले मानवीय सम्बन्धहरूलाई सामाजिक भन्ने ? कस्तो खाले मानवीय क्रियाकलापहरूलाई धार्मिक भन्ने ? अनि कस्तोलाई सांस्कृतिक ? र कस्तोलाई राजनीतिक भन्ने सवाल पनि हामीसँग छँदै छ ।

अझ भन्ने हो भने नेपाली भाषामा वा समाजमा ‘राजनीतिक’ शब्दको अर्थ सङ्कुचनले होला ‘राजनीतिक दल’हरूको चलखेल र उछलकुदलाई मात्र ‘राजनीति’ भनी बुझ्ने चलन आम मानिसहरूमा छ । तर शक्ति र सत्तालाई हेर्ने, बुझ्ने, महसुस गर्ने तरिका र तिनका अर्थबोध विभिन्न समाजहरूमा आ-आफनै विशिष्टतापूर्ण हुन्छ ।

उदाहरणतः लिम्बू समाजमा शक्ति र सत्ताको पूजा आराधना व्यक्ति, परिवार, समाज सबै तहमा हिन्दु जातीय चलनभन्दा नितान्त फरक ढङ्गले हुन्छ । यसरी दशैंको मानव शास्त्र भनेको उल्लेखित पाटाहरूबाट हेर्दा दसैँ कस्तो देखिन्छ र दशैं मान्ने मनाउने प्रक्रियाले समेत विभिन्न समाजमा कस्तो सामाजिक राजनीतिक सम्बन्ध निर्माण गर्दै लान्छ भनी बुझ्नु हो ।

आफू काम गर्ने थलोमा लामो बिदा पर्नाले घरपरिवार र नातागोता कुटुम्बसँग भेटघाट गरिने पक्ष, आरामले बस्ने, मीठो मसिनो खाने नयाँ र राम्रो लाउने, छरछिमेक घुम्दै भेट्दै सँगै खाने, तास खेल्ने, पीङ बनाउने-खेल्ने, मनोरञ्जन गर्ने, शुभकामना औ आशीर्वाद थाप्ने, विवाहित छोरी चेली कोसेली-पात बोकी माइत आउने वा नयाँ ज्वाइँ ससुराली जाने आदि पक्षहरू चाडपर्वका सन्दर्भमा सम्पन्न हुने सामाजिक पक्ष हुन् तर यसले मात्र चाडपर्वको सारभूत परिभाषा समेट्दैन ।

पूजा-अर्चना जस्ता कुरा चाडपर्वको धार्मिक सांस्कृतिक महत्त्वपूर्ण पाटो हो । चाडपर्वमा इष्ट द्यौ-द्यौताहरूको पूजा-अर्चना वैयक्तिक, पारिवारिक र सामूहिक एवं समुदायगत तहमा समेत सम्पन्न गरिन्छ । दसैँको पनि धार्मिक र सांस्कृतिक सारभूतता नौ दिनसम्म सम्पन्न गरिने विभिन्न शक्तिदेवीहरूको पूजा अर्चनाले प्रस्ट्याउँछ ।

धार्मिक सांस्कृतिक हिसाबले दशैं हिन्दु मात्रको महान् पर्व भन्नु ठिक हो । नेपालमा आम आदिवासी जनजाति समाजहरूमा आ-आफ्नो सामूहिक धार्मिक सांस्कृतिक आस्था सम्बद्ध शक्ति देवी देउताहरूको पूजा-आराधना सहित दसैँ मनाउने चलन देखिँदैन ।

माथि नै लेखियो-चाडपर्वमा राजनीतिक सत्ता र शक्तिको पूजा पनि गरिन्छ । नेपालमा दसैँमा देख्न पाइने सत्ता र शक्ति सम्बद्ध पूजा-आजा र मूलतः सत्तासीनहरूले राँगा लगायत पशुको बलि दिने कुरा चाडपर्वको राजनीतिक पक्षको ज्वलन्त उदाहरण हो । दसैँको यो पक्षले भने शासक तथा शासित दुवै वर्गलाई समेट्छ ।

राजनीतिक रूपमा दशैं भनेको विगतको गोरखाली हिन्दु राजनीतिक सत्ताको औचित्यको पुष्टि, त्यस सम्बद्ध शक्ति देवी देउताहरूको पूजा अर्चना हो । गोरखाली राजनीतिक सत्ता र शक्ति विस्तार प्रक्रियाको इतिहासलाई दसैँको धार्मिक पूजा-आजा र राँगाको बलि दिने व्यवस्थाले प्रतीकात्मक ढङ्गले व्यक्त गर्दछ ।

दसैँका लागि गोरखाबाट काठमाडौँ फूलपाती भित्र्याउनु, सत्तासीनहरू र अझ सेनाका खास तहको अधिकृतभन्दा माथिकोले अनिवार्य रूपमा राँगाको बलि चढाउनु आदिले गोरखा राज्यको विस्तार र हैकमलाई धार्मिक र सांस्कृतिक रूपमा औचित्य प्रदान गर्ने मात्र होइन कि गोरखाली अधीनस्थता अस्वीकार गर्नेहरूलाई राजनीतिक रूपमा बलि चढाइने प्रतीकात्मक तर पूर्णतः राजनीतिक सन्देश फैलाउँछन्, बलिमा चढाइएका पशुहरूले ।

मानव शास्त्री डेभिड होमवर्गले दसैँमा राँगाहरूको बलि दिने कुरा रूप पक्षमा धार्मिक देखिए पनि सारमा सत्ताधारी राज्य पक्षले अधीनस्थ क्षेत्रमा पठाएको राजनीतिक सन्देशको रूपमा अर्थ्याएका छन् । जुनसुकै तहका सत्ताधारीहरूको हातको टीका थाप्नुलाई सांस्कृतिक रूपमा आशीर्वाद लिनुको अर्थमा बुझिए पनि राजनीतिक रूपमा भने अधीनस्थता स्वीकार गर्नु हो । हरेक साल टीका थाप्नु भनेको त्यही अधीनस्थताको नवीकरण गर्नु हो ।

अधीनस्थतालाई नरम शैलीमा अभिभावकत्वको अर्थमा पनि बुझाइने गरिन्थ्यो स्कुले विद्यार्थीलाई विगतमा स्कुलमा दिनभर घोक्नुपर्ने पाठले भन्थ्यो ‘आमाभन्दा ठुला, बाबाभन्दा ठुला, सबैभन्दा ठुला, राजा नै हुन ठुला ।’ हामी कतिपय यही चिन्तन धरातलमा उभिएका छौँ । हिन्दु राजाहरूका अधीनस्थता, अभिभावकत्व मानिरहेको भए र उनीहरूले दसैँमा दिने गरेका आशीर्वाद लागिरहेको भए नेपालमा यो राजनीतिक अवस्था स्थापित हुन सक्थ्यो ? तर आज पनि कति स्कुले पाठ्यपुस्तकमा यस्तै सन्देश छैनन् भन्न सकिन्न ।

मान्छेहरू दसैँ मानिरहेका हुन्छन् एकातिर भने अर्कातिर दसैँले पनि मान्छेहरूलाई मनाइरहेको हुन्छ । तात्पर्य, मान्छेहरूले एक वा अर्को रूपमा दसैँ मान्ने वा नमान्ने क्रममा दसैँको प्रभाव विभिन्न समाजहरूमा भिन्ना भिन्नै सांस्कृतिक, राजनीतिक, सामाजिक, धार्मिक हिसाबले पर्दै जान्छ । तसर्थ दसैँले समेत नयाँखाले सामाजिक, सांस्कृतिक, राजनीतिक सम्बन्ध र अभ्यासहरूको पुन उत्पादन गर्दै लान्छ समाजहरूमा । यो कुरा व्यक्तिहरूले समाज निर्माण गर्दछन् साथै समाजले पनि व्यक्ति निर्माण गर्दछ भने जत्तिकै सजिलै बुझिने कुरा हो ।

दसैँ मनाउनेहरू मात्र होइन ‘दसैँ हाम्रो होइन, यो हामीमाथि थोपरिएको हो, हामी यसको बहिष्कार गर्छौ’ भनी दसैँ नमनाउनेहरूले समेत राजनीतिक अर्थमा दसैँ मानेझैँ बुझ्न सकिन्छ । उदाहरण तः कुनै माग राखी अनसन बस्नेहरूले समेत राजनीतिक अर्थको पोषण वा खुराक प्राप्त गरिरहेका हुन्छन् । त्यसैले जसरी दसैँ मनाएर विशिष्ट तहको विशिष्ट आध्यात्मिक भौतिक अर्थबोध महसुस गरिन्छ, त्यसै गरी बहिष्कार गरेर वा नमनाएर पनि त्यही खाले राजनीतिक मूल्यको महसुस र प्राप्ति हुन्छ ।

यसर्थ दसैँले सबै नेपालीलाई एकै ढङ्गले समेट्दैन । कसैले हिन्दुहरू मात्रको महान् चाड भन्छन् त कसैले नेपालीहरूको महान् चाड भन्छन् । यति मात्र होइन आदिवासी जनजातिहरूमा कतै हिन्दु राज्यकालीन राजा तथा राणाहरूका हैकम र हुकुमका कारणले र कतै छिमेकीहरूका सिको गर्नाले समेत दसैँ मनाउने परम्पराको थालनी भएको देखिन्छ । उदाहरण तः लिम्बुवानमा स्थानीय तहका सत्ताधारी लिम्बू सुब्बाले बलि चढाएर दसैँ मान्नै पर्ने हुकुम राजा रणबहादुर शाहको पालामा भएको थियो ।

दसैँमा बलि दिएको पशुको रगतको पञ्जाछाप घरको भित्तामा हानिराख्नुपर्ने हुकुम थियो लिम्बू सुब्बाहरूलाई । बलि पशुको रगतको पञ्जाछाप भएर नभएको निरीक्षण गर्न गोश्वारा, गौँडा अड्डाबाट डोर खटिएर आउँथे तत्कालीन लिम्बुवानमा । दसैँ नमानिएको, पशु बलि नदिइएको भेटिए सजायको भागी हुन्थे लिम्बू सुब्बाहरू । यसरी लिम्बू सुब्बाहरूमा दसैँमा पशु बलि दिने क्रम विगतमा देखिएको हो । लिम्बूहरूको सामूहिक भू-स्वामित्व प्रणालीको व्यवस्थापन र निरन्तरता खातिर किपटिया सुब्बाहरूले हिन्दु राज्यको संयन्त्रको स्थानीय इकाईको रूपमा समेत जिम्मेदारी लिनुपरेको सन्दर्भमा गोरखाली राज्यको अधीनस्थताको प्रतीकात्मक स्वीकारोक्ति दसैँमा चढाइने पशु बलि मार्फत नै भइरहेको बुझिन्छ ।

अझ लिम्बू सुब्बाहरूबाट पनि उनीहरूका किपट अन्तर्गतका घरधुरीहरूले आशीर्वाद र अभिभावकत्व ग्रहण गर्ने र स्थानीय शासकीय अधीनताको नवीकरण गर्ने अवसर दसैँ नै थियो । भूमिसुधार ऐनले लिम्बूहरूको किपट भूमि व्यवस्थाको अन्त्य गरेपछि स्थानीय तहमा सत्तासीन लिम्बू सुब्बाहरूको पनि अधिकार समाप्त भयो र लिम्बू सुब्बाहरूले दसैँमा पशु बलि दिने काम बन्द गरे अर्थात् राजनीतिक रूपमा दसैँ मान्ने काम एक प्रकारले बन्द गरे ।

यसरी विगतमा लिम्बूहरूले दसैँमा पशु बलि दिने कुरा सोझो रूपमा नै गोरखा हिन्दु राज्य निर्माण र त्यसको अधीनस्थतासँग सम्बन्धित बुझिन्छ । लिम्बूहरू हिन्दु धर्मावलम्बी होइनन् त्यसैले लिम्बूहरूका निमित्त दसैँले धार्मिक र सांस्कृतिक अर्थ राख्दैन । उनीहरूको मुन्धुम, फेदाङबा, येवा, साम्बा आदिले दसैँको प्रसङ्ग ल्याउँदैनन् ।

उनीहरूको इष्ट द्यौ-द्यौताको पूजा-अभ्यर्थना गर्ने पनि होइन दसैँमा । त्यसैले अन्य समाजहरू र राज्यको प्रभावका कारण लिम्बूहरूमाझ पनि सामाजिक रूपमा दसैँ मान्ने चलन सुरु भएको हुनसक्छ विगतमा । विवाह गरेर गएका छोरी चेली कोसेली पातको भारी भरियाहरूका साथ दसैँमा नै माइत आउने चलनको सुरु भएको जस्तो लाग्छ ।

लिम्बूको कोसेली भन्नु के छ र ? ढाकरमा फूलहरूले सिङारिएको सिङ्गो सुँगुर, गाग्रोभरि रक्सी र थरथरीका मासु र तरकारीका चेप तथा टपरीहरू आमा-बा अथवा मूल घरका लागि । अनि सुँगुरका फिला र करङहरू छुट्टै पेरुंगोरचेपहरूमा च्यापेर र साना-साना कठुवाहरूमा समेत रक्सी र फिलिङ्गे, गुन्द्रुक, सिमी, भटमास आदि अचारका टपरीहरू आफ्नो नजिकका नाताहरूका लागि नभई नहुने ।

नाताभित्रको तह अनुसारको कोसेली भएन भने, सुँगुर गतिलो भएन भने, रक्सीको गुणस्तर राम्रो भएन भने खासखुसे कुरा काट्ने त छँदै छ । युवावयमा मैले देखे भोगेको दसैँ लिम्बूवानको मेरो गाउँमा यस्तै थियो । सबै लिम्बूहरूमा होइन तर स्थानीय सत्ता-सुख-भोग गरिरहेका वा मूलतः किपटिया लिम्बूमा सेतो टीका थाप्ने र टीका लगाइमाग्न आउनेलाई पनि सेतै लगाइदिने चलन थियो ।

वास्तवमा हिन्दुहरूले जुठो जातको र अभक्ष्य मानेको अझ बाहुनले छुनै नहुने पशु सुँगुर सिँगारेर, त्यसैलाई सबैभन्दा अभीष्ट भोजन मानेर, उति बेला हो भने बाहुनले चलाउनै नहुने रक्सी चलाएर, हिन्दु जातीय चलनमा अभिभावकको मृत्युको आशौच र अशुद्धिको प्रतीक सेतो रङको टीका थापेर लिम्बूहरूले दसैँ मान्नुको ध्वन्यात्मक अर्थ के हुन सक्ला ? लिम्बूले रूप पक्षमा दसैँ मानेकै देखाएर यसैको माध्यमबाट सारभूत अर्थमा हिन्दु राज्य र धर्मको विरोध वा खिल्ली उडाएको देखिँदैन र ?

आज दसैँको सन्दर्भलाई लिम्बूहरूले तीन ढङ्गले लिन्छन् जस्तो लाग्छ, पहिलो दसैँ बहिष्कार, दोस्रो बहिष्कार पनि नगर्ने र नमनाउने पनि, तेस्रो दसैँ सामाजिक रूपमा मनाउने । यी तीनै पक्ष एक वा अर्को रूपमा दसैँ प्रभावित नै हुन् किनभने दसैँको मानव शास्त्रीय अध्ययनले लिम्बूहरू र गोरखा हिन्दु राज्य बिचको राजनैतिक-ऐतिहासिक सम्बन्धको एउटा पक्ष बुझ्न सकिन्छ ।

dashain article 2(लेखका डम्बर चेम्जोङ त्रिभुवन विश्वविद्यालय मानव शास्त्र विषयमा प्राध्यापन गर्दछन्)