• अनुसा थापा

नेपालमा राजतन्त्र समाप्त गरेकोमा राजनीतिक दलका नेताहरू ठुलो गर्व गर्छन् । राजा ज्ञानेन्द्रलाई श्रीपेच खोल्न लगाएर नागार्जुनको जङ्गलमा राखेको भन्दै उनीहरूले भाषण गर्दै आएका छन् । राजाले दरबार त छाडे, श्रीपेच पनि खोले । तर, राजाको हरेक खर्च सरकारले व्यहोर्दै आएको छ । उनले खाएको, लाएको, सुरक्षा व्यवस्था लगायत हरेक सेवा सुविधा सरकारले दिने गरेको छ । उपचार खर्च, तलब भत्ता, चाडबाड पेस्की सबै लिइरहेका छन्, राजाले ।

जनताले तिरेको करबाट सरकारले राजालाई तलब भत्ता र सेवा सुविधा दिइरहेको छ । राजाले पनि खुरुखुरु लिइरहेका छन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सरकारी कर्मचारीको तलब भत्ता बढ्ने बित्तिकै राजाको पनि तलब भत्ता बढ्छ । जनताको बीचमा बसेर राजनीतिक दलहरूले राजालाई सर्वसाधारण बनाएको भन्दै भाषण ठोक्छन् । उनीहरू भन्छन्,‘राजालाई गद्दीबाट हटाएर हामीले सर्वसाधारणसरह बनाएको छौँ ।’

कतिपयलाई राजाले अहिले पनि सरकारी सेवा सुविधा लिइरहेका छन् भन्ने थाहा छैन । नेताहरू यतिसम्म ‘फट्याहा’ छन् कि के भन्ने ? राजा हटाएको नौटङ्की देखाएर आफू पनि खाइरहेका छन्, उनलाई पनि खुवाइरहेका छन् । जनताले अहिले पनि राजालाई पालिरहेका छन् । जनताले खुट्टामा एक जोर चप्पल नलगाई तिरेको करमा राजाले मोज मस्ती गरिरहेका छन् ।

काम नगर्ने, बसिबसी खाने, कति आनन्द ? राजाको खर्च अझै पनि व्यहोर्नुपरेको छ, अनि देशबाट के राजा हटे, भन्नु ? राजा सर्वसाधारणको लिष्टमा पर्छन् भने उनलाई किन सुरक्षाकर्मी दिनुपर्‍यो ? सुरक्षाकर्मी जनताले तिरेको करबाट पालिएका छन् । राजाले सरकारबाट बर्सेनि अर्बौँ रुपैयाँ लिँदै आएका छन् । खान, बस्न, उपचार खर्च, सरकारी गाडी, भान्से, सुरक्षाकर्मी गरेर अर्बौँ रुपैयाँ खर्च गरिँदै आएको छ ।

राजा साँच्नै नै आम नागरिक हुन् भने सरकारले दिँदै आएको सबै सेवा सुविधा कटौती गर्नुपर्‍यो । सर्वसाधारणलाई नेपाल सरकार र राजनीतिक दलले भुङ्ग्रोमा राखेका छन् । जनतालाई ढाँट्ने र आँखामा छारो हाल्ने कार्य मात्र भइरहेको छ । २०६५ जेठ १५ गतेभन्दा अगाडि उनले राज्यबाट जुन जुन सेवा सुविधा लिन्थेँ, त्यो सबै अहिले पनि लिइरहेका छन् । दरबार छोडिदिए, गद्दी त्यागे, श्रीपेच निकाले तर अझै पनि राजा बनेरै बसेका छन् ।

विसं २०४७ सालको संविधान खारेज भइसकेको छ । विसं २०७२ सालमा नयाँ संविधान बनेको छ । तर, नयाँ संविधानले पनि राजाको सेवा सुविधा खोस्न सकेन । देशमा गणतन्त्र आयो तर त्यसले राजालाई कुनै फरक परेको छैन । अहिलेसम्म उनले खर्बौं रुपैयाँ बढी सेवा सुविधाको नाममा लिइसकेका छन् । राजाले खायो, देश सकायो भनेर राजनीतिक दलहरूले आन्दोलन गरे ।

नेपाली जनताको दुर्भाग्य अहिले राजालाई पनि पाल्नुपरेको छ, राजनीतिक दलका नेतालाई पनि । सबैले आ-आफ्नो धोक्रो भर्नका लागि आन्दोलन गरेको त पुष्टि भइसकेको छ । व्यवस्था परिवर्तन भए पनि त्यसले सोचेअनुरूप नतिजा दिन नसक्दा सर्वसाधारणले आलोचना गर्न थालिसकेका छन् । व्यवस्थामाथि प्रश्न उठाउन थालिएको छ । जसको फाइदा राप्रपालाई हुँदै आएको छ ।

कमल थापा, राजेन्द्र लिङ्देन लगायतले फेरि पनि राजतन्त्रको भक्ति गान गाउन थालिसकेका छन् । २०५२ फागुन १ गते माओवादीले हतियार उठायो । १० वर्षे जनयुद्ध सुरु भयो । सो क्रममा हजारौँ नेपाली सहिद भए । जनयुद्धका घाइतेहरू आज पनि उपचार नपाएर छटपटाइरहेका छन् । विसं २०६२-६३ सालमा १९ दिन आन्दोलन भयो । आन्दोलन राजतन्त्र हटाउन र व्यवस्था परिवर्तनका लागि भएको थियो ।

जनयुद्धको नेतृत्व गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन पटक देशको प्रधानमन्त्री भए । वर्तमान प्रधानमन्त्री पनि प्रचण्ड नै हुन् । तर, उनले राजाको सेवा सुविधा कटौती गर्न सकेका छैनन् । अनि कहाँ हट्यो राजतन्त्र ? कहाँ हटे राजा ? वास्तविक कुरा के हो भने यिनीहरू सबैले मिलीजुली खाने षड्यन्त्र रचेका हुन् । राजा हटेको हो भने उनलाई किन सुरक्षाकर्मी दिएको ?

किन तलब दिएको ? किन सरकारी गाडी दिएको ? राजा नागरिक हो भने सर्वसाधारण झैँ काम गर्नुपर्‍यो । जागिर खान जानुपर्‍यो । सर्वसाधारणझैँ व्यवहार उनलाई पनि गरिनुपर्‍यो । सर्वसाधारणलाई झुक्याउने कार्य राजनीतिक दलहरूले गर्दै आएका छन् । राजा राजै भएर बसेका छन् अनि नेताहरूले हामीले राजा हटायौँ भन्न सुहाउँछ ? राजाको निवासमा दर्जनौँ सरकारी गाडी छ ।

सयौँ सुरक्षाकर्मी खटाइएको छ । मासिक तलब भत्ता दिइएको छ । राजाले खर्बौं रुपैयाँ तलब भत्ताको नाममा बुझिसकेका छन् । सरकारले राजाको सम्पूर्ण सम्पत्ति ट्रष्टमा ल्याउनुपर्ने हो, त्यो पनि गर्न सकेको छैन । जब सरकारले राजाको सबै सेवा सुविधा कटौती गर्छ, उनको सबै सम्पत्ति ट्रष्टको नाममा लैजान्छ तब मात्रै जनताले देशबाट राजा हटेछन् भनेर पत्याउँछन् ।

राजा ६८ वर्ष कटिसकेका छन् । सरकारले ६८ वर्ष कटेका ज्येष्ठ नागरिकलाई भत्ता दिने गरेको छ । राजा पनि आफ्नो नागरिकता र ज्येष्ठ नागरिक कार्ड बोकेर भत्ता बुझ्न जानुपर्‍यो । अनि मात्रै जनताले राजा हटेको प्रत्याभूति गर्न पाउँछन् । अहिले त घरघरमा सेवा सुविधा पुगेको छ । राजा कतै हिँडे भने सयौँ सुरक्षाकर्मी अगाडिपछाडि दौडाएको हुन्छ । मुलुकको सीमा छिमेकीले मिचेको मिच्यै छन्, सुरक्षाकर्मी जति यसरी यस्ताकै पछाडि खटाउँदै ठिक्क भएको छ ।

आजसम्म कसैले राजा ज्येष्ठ नागरिक भत्ता लिन पुगेको देखेका छन् ? हरेक नागरिक तीन–तीन महिनामा भत्ता लिन पुग्छन् । राजा त जाँदैनन् । बरु, सुरक्षाकर्मीको फौज लिएर मन्दिर दर्शन गर्न पुग्छन् । २०६५ सालपछि धेरै प्रधानमन्त्री भए । प्रचण्ड, माधवकुमार नेपाल, शेरबहादुर देउवा, झलनाथ खनाल, बाबुराम भट्टराई, केपी शर्मा ओली, खिलराज रेग्मी प्रधानमन्त्री भए ।

तर, कुनै पनि प्रधानमन्त्रीसँग राजाको सेवा सुविधा खोस्न सक्ने आँट भएन । न तिनले सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता बोलाउन सके । बाबुराम भट्टराईले आफू प्रधानमन्त्री हुँदा भनेका थिए,‘दर्शन गर्ने नाममा मन्दिर गएर जनता भड्काउने हो भने राजाले पाएको सेवा सुविधा सबै कटौती गरिदिन्छु ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३२ दिन गृहमन्त्री भए ।

गृहमन्त्री हुँदा आफूले हाकिमका घरमा भएको सुरक्षाकर्मी हटाए भनेर उनले ठूल्ठूला भाषण गरे । त्यसो त राजाको निवासमा भएको सुरक्षाकर्मी किन नहटाएको ? फाइफूर्ती लगाउने पनि हद हुन्छ । देशको सुरक्षामा खटिनुपर्ने सयौँ सुरक्षाकर्मीलाई फोगट्टे एउटै व्यक्तिको अघिपछि लगाइएको छ । अब राजनीतिक दलहरूले राजा हटायौँ भनेर घमण्ड नगर्दा पनि हुन्छ ।

राजा हटाएकै हो भने किन सेवा सुविधा दिइरहेको ? किन तलब भत्ता र सुरक्षाकर्मी दिएको ? यसको जवाफ राजनीतिक दलहरूसँग छ ? जनतालाई ढाँटेर आफ्नो स्वार्थ पूरा गर्न यिनीहरूलाई लाज लाग्नुपर्ने हो । राजाको गुणगान गाउँदै हिँड्ने कमल थापा र राजेन्द्र लिङ्देन आफैँ मन्त्री भए । गणतन्त्र र नयाँ संविधान अनुरूप उनीहरू चुनाव लड्छन् । २०७२ सालको संविधानमा राजतन्त्र राख्ने, राजालाई ठाउँ दिने भनेर कहीँ-कतै उल्लेख गरिएको छैन ।

राप्रपा २०७४ र २०७९ सालको चुनावमा सहभागी भएको थियो । यी चुनाव नयाँ संविधानको आधारमा गरिएको थियो । सदनमा उभिएर राजतन्त्र चाहिन्छ, हिन्दूराज्य फर्काउनुपर्छ भनेर राजेन्द्र लिङ्देनले बोल्दै आएका छन् । उनले आफू कहाँ उभिएको छु ? भन्ने कुरा नै बिर्सिएका छन् । उनले नयाँ संविधान मान्छौँ भनेर जनतासँग भोट मागेका थिए ।

अनि राजाको पक्षमा गुणगान गाउन लाज लाग्दैन ? राप्रपाले जनताको मतको अपमान गरेको छ । राजा चाहियो भन्ने अनि सरकारमा पनि जाने । जनताले तिरेको करबाट तलब भत्ता खाने, सेवा सुविधा लिने, सरकारी गाडी चढ्ने कार्य भइरहेको छ । यिनीहरू सबैको नौटङ्की बुझ्नुपर्ने बेला भएको छ । देशको अर्थतन्त्र डामाडोल हुनुमा राजनीतिक दलहरूको हात छ भनेर राजावादीहरू चिच्याउँदै आएका छन् ।

राजाले लिएको खर्बौं रुपैयाँ चाहिँ कसले हिसाब गर्ने ? राजाले त अहिले पनि राज्यको ढुकुटी दोहन गरिरहेका छन् । राज्यसँग साँच्नै नै नैतिकता छ भने २०६५ सालपछि लिएको सबै रकम, सेवा सुविधा फिर्ता गर्नुपर्छ । नेता र राजामा केही फरक छैन । सबै खान मात्रै आएका हुन् भन्ने जनताले बुझ्नुपर्छ । देश सकाउनमा यिनीहरू सबैको बराबरको हिस्सेदारी छ । 

भक्तपुर